अधिकारसँगै कामदारको स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षा निकै महत्वपूर्ण

पछिल्लो एक दशकको अवधिमा वैदेशिक रोजगारीमा रहेकामध्ये झण्डै साढे सात हजारभन्दा बढी आप्रवासी नेपाली कामदारले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार आव २०६५/६६ देखि २०७५/७६ सम्म आइपुग्दा सात हजार ४५५ नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । सो अवधिमा १७१ महिला र सात हजार २८४ पुरुषले ज्यान गुमाएका छन् ।

बोर्डका अनुसार आव २०६५/६६ मा ७७, आव २०६६६७ मा ४१९, आव २०६७/६८ मा ५६५, आव २०६८/६९ मा ६४६ र आव २०६९/७० मा ७२३ ले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । आव २०७०/७१ मा ८७६, आव २०७१/७२ मा एक हजार सात, आव २०७२/७३ मा ८१३, आव २०७३/७४ मा ७५५, आव २०७४/७५ मा ८२२ र २०७५/७६ मा ७५३ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन् ।

यस्तै चालु आवको पहिलो चार महिनामा २५१ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भइसकेको छ । सामान्य जानकारी नहुँदा नेपाली आप्रवासी कामदारले अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् । मुख्यरुपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ । सो अवधिमा स्वास्थ्यसम्बन्धी समस्याका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् ।

दश वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, हृदयाघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४, आत्महत्याबाट ८९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ । केही मृत्युका कारण अझैसम्म खुल्न सकेका छैनन् । विसं २०६५ देखि २०७२ सम्मको अवधिमा मृत्यु भएका ७५९ कामदारको मृत्युको कारण खुल्न नसकेको ‘वैदेशिक रोजगारका लागि श्रम आप्रवासन, नेपालको स्थिति’ प्रतिवेदनमा उल्लेख छ ।

आप्रवासी कामदारको अधिकारलाई प्रमुखताका साथ उठाइरहँदा कामदारको स्वास्थ्यसम्बन्धी विषय पछिल्लो समय ओझेलमा परेको छ । आप्रवासी कामदारको स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षाका क्षेत्रमा स्रोत तथा गन्तव्य मुलुकले उचित ध्यान दिन सकेका छैनन् ।

व्यवसायजन्य सुरक्षा नअपनाउँदा ठूलो सङ्ख्यामा नेपाली कामदारले कार्यस्थलमै ज्यान गुमाउनु परेको छ । सामान्य सुरक्षात्मक उपाय नअपनाउँदा सामान्यदेखि दीर्घकालीन स्वास्थ्य समस्या देखिन थालेको छ । मानसिक तथा अर्बुद रोग, मिर्गौलामा खराबी, प्रजनन क्षमतामा ह्रासलगायत गम्भीर प्रकारका स्वास्थ्य समस्या नेपाली कामदारले भोग्दै आएका छन् ।

आप्रवास क्षेत्रका जानकार डा जीवन बानियाँ विदेशमा रहेको कामदारको स्वास्थ्यलाई जोखिमबाट माथि उठाउन पर्याप्त मात्रामा सचेतना फैलाउनुपर्ने बताउहुनुन्छ । “वैदेशिक रोजगारी अगाडि दिने पूर्वप्रस्थान अभिमुखीकरण तालीम (पिडिओटी) पर्याप्त छैन”, उहाँले भन्नुभयो, “विद्यालय तथा क्याम्पस तहमा पनि वैदेशिक रोजगारीमा आउनसक्ने स्वास्थ्य समस्याबारे जानकारी दिनुपर्छ ।” व्यवसायजन्य सुरक्षा प्रत्याभूति गराउन नेपालले गन्तव्य मुलुकसँग नियमित ‘फलोअप’ गर्न नसक्नेतर्फ इङ्गित गर्दै उहाँले गन्तव्य मुलुकमा रहेको नेपाली नियोगको दह्रोसँग भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय मलेसिया, जापान, मसिस र संयुक्त अरब इमिरेटस् (युएई)सँगको श्रम समझदारीमा कामदारको स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षाका विषयलाई सम्बोधन गरिएको छ । तर त्यसको कार्यान्वनको अवस्था भने जटिल देखिएको छ ।

आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भ पारेर विश्वभर प्रवासी कामदाको हकहितका विषयमा विविध कार्यक्रम गरिँदैछ । नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा सरोकारवालाका सहभागितामा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर २ का दिन आप्रवासी कामदार दिवस मनाउने गरिन्छ ।

आप्रवासी कामदार सप्ताहको अवसर पारेर आज नेपाल स्वास्थ्य व्यवसायी सङ्घले काठमाडौँको माछापोखरीमा स्वेदश तथा विदेशमा रहँदा स्वस्थ्य जीवनयापन गर्न अवलम्बन गर्नुपर्ने तरिकाबारे जानकारी दिँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा रगत परीक्षण तथा रक्तचाप परीक्षणका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श प्रदान गरिएको सङ्घका उपाध्यक्ष विश्व शेरचनले जानकारी दिनुभयो ।

विदेशमा रहेका नेपालीले स्वस्थ्य रहन के गर्ने ?

सामान्य हावापानीमा हुर्केका नेपालीले विशेषगरी खाडीका मुलुकका रोजगारीका क्रममा रहँदा स्वास्थ्यका बारेमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कामको अत्यधिक चाप, घरपरिवारबाट टाढा रहनुपर्दाको मानसिक तनाव तथा उच्च तापक्रममा काम गर्नुपर्ने हुँदा स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ । दिनभर चर्को गर्मीमा काम गर्ने र साँझ ‘एयर कन्डिशन’ चलाएर सुत्दा झन् जोखिम बढ्ने सङ्घका महासचिव जय गुरुङ बताउनुहुन्छ ।

विदेशमा काम गर्ने नेपालीले खानपानमा विशेष ध्यान दिन उहाँ सुझाव दिनुहुन्छ । अत्यधिक गर्मीमा काम गर्दा शरीरमा पानीको मात्रा कम हुन गई अस्वस्थ बनाउन सक्ने सम्भावना उच्च रहन्छ । उहाँले कम्तीमा पनि दैनिक छ लिटरभन्दा बढी पानी पिउनुपर्ने बताउनुभयो । काम गर्दा प्रत्येक दुई÷दुई घण्टामा केही समय विश्राम लिनु आवश्यक हुन्छ ।

“विदेशमा काम गर्ने श्रमिकले पोषणयुक्त सन्तुलित खाना खानु अति आवश्यक छ”, महासचिव गुरुङले भन्नुभयो, “वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न आउने व्यक्तिलाई विदेशमा रहँदा आइपर्ने स्वास्थ्य समस्याका बारेमा जानकारी दिनाका साथै स्वास्थ्यसम्बन्धी विभिन्न परामर्श दिने गरेको छौँ ।” मादक पदार्थ सेवन गरेर पनि ज्यानै गुमाउनाका साथै विभिन्न स्वास्थ्य समस्या निम्तने गरेको छ । गत वर्षमात्र मलेशियामा विषाक्त मदिरा सेवनबाट एक दर्जनभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए ।

‘आप्रवासी कामदारको अधिकार प्रत्याभूतिमा विश्व समुदायको ध्यान जानु आवश्यक’

आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यको अधिकार संरक्षणमा विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले बुधबार विश्वभर आप्रवासी कामदार दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर १८ का दिनलाई अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका रूपमा मनाउने गरिएको हो ।

आप्रवासी कामदारका क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले उनीहरुको अधिकारका लागि विश्व समुदायलाई दवाब दिन विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले आप्रवासी कामदारको अधिकार पैरवी गर्न मङ्गलबार र बुधबार थाइल्याण्डको बैङ्ककमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले पनि प्रवासी कामदारको अधिकार प्रत्याभूतिका लागि विश्वभर विविध कार्यक्रम गर्दैछ ।

नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यको अधिकार, आप्रवासन चक्र, सुरक्षित आप्रवासनलगायत विषयमा सचेतना फैलाउने उद्देश्यले सरोकारवालाको सहभागितामा सप्ताहव्यापी रुपमा कार्यक्रमको आयोजना गरिएको थियो ।

पछिल्लो समय आप्रवासी कामदारको मानव अधिकार प्रत्याभूतिको विषय प्रमुख चुनौतीका रूपमा देखिएको छ । न्यायमा पहुँच नहुनु, तोकिएको ज्याला नपाउनु, समयमै ज्याला नपाउनु, श्रम शोषण, यौनशोषण, कामबाट बिनाकारण निकालिनु, घरेलु हिंसाजस्ता समस्या आप्रवासी श्रमिकले भोग्दै आएका छन् । मुख्यतः गन्तव्य मुलुक र स्रोत मुलुकबीच आप्रवासी कामदारका सम्बन्धमा सम्झौता नहुनु तथा भएका सम्झौताको पनि इमान्दारीपूर्वक पालना नहुनु मुख्य समस्या रहेको छ ।

श्रम मन्त्रालयका सचिव विनोद केसी आप्रवासी नेपाली कामदारको हक अधिकारका लागि सरकारले गन्तव्य मुलुकसँग श्रम समझदारी÷सम्झौता गर्दै आएको बताउनुहुन्छ । यस्तै नेपालले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा पनि प्रवासी कामदारका अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उहाँको भनाइ थियो ।

आप्रवासी कामदारको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र आप्रवासी कामदारको सेवा सुविधाका बारेमा अन्तर्राष्ट्रिय मापदण्ड बनाइएको भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विभिन्न मुलुकले आप्रवासी कामदारलाई आफ्ना मुलुकका नागरिक सरह समान हैसियत र अधिकार प्रदान गर्ने प्रतिबद्धता गरे पनि अहिले पनि उनीहरु गन्तव्य मुलुकमा दोस्रो दर्जाका नागरिकका रुपमा पसिना बगाउन बाध्य छन् ।

नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराई आप्रवासी कामदारको अधिकार अन्तर्राष्ट्रिय मानवअधिकारको पाटो भएको उल्लेख गर्दै विश्व समुदायले आप्रवासी कामदारलाई घरेलु नागरिकसरह व्यवहार गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आप्रवासी कामदारको अधिकारलाई साझा दृष्टिकोण बनाएर घरेलु व्यवहार गर्नेतर्फ विश्व समुदायले ध्यान दिनुपर्छ ।” आप्रवासी कामदारका अधिकार क्षेत्रमा नेपाल सरकार तथा सरोकारवालाले गरेको पहल अझै पनि पर्याप्त छ्रैन । उनीहरुको पहलबाट आप्रवासी कामदार तथा तिनका परिवार लाभान्वित हुन सकेका छैनन् ।

आइओएमको पछिल्लो अध्ययन अनुसार विश्वको कुल जनसङ्ख्याको ३.५ प्रतिशत अर्थात् २७ करोड २० लाख आप्रवासी कामदार छन् । त्यसमध्ये ५२ प्रतिशत पुरुष र ४८ प्रतिशत महिला छन् । चौहत्तर प्रतिशत आप्रवासी कामदार २० देखि ६४ वर्ष उमेर समूहका रहेको आइओएमद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२० मा उल्लेख छ ।

विश्वमा सबैभन्दा बढी आप्रवासी कामदार भारतीय नागरिक छन् । एक करोड ७५ लाख भारतीय नागरिक आप्रवासी कामदारका रूपमा विश्वका विभिन्न मुलुकमा छन् । भारतपछि आप्रवासी कामदार बढी भएका मुलुकमा मेक्सिको र चीन छन् । प्रतिवेदनअनुसार एक करोड १८ लाख मेक्सिकाली र एक करोड सात लाख चिनियाँ नागरिक आप्रवासी कामदारका रूपमा छन् ।

अहिले पनि ठूलो स¬ङ्ख्यामा नेपाली आप्रवासी कामदार विभिन्न मुलुकमा श्रम गर्दै आएका छन् । झन्डै ५० को दशकदेखि नेपालबाट वैदेशिक रोजगारीमा जानेक्रम सुरु भएको मानिन्छ । नेपालबाट २०५०/५१ मा तीन हजार ६०५ जना वैदेशिक रोजगारीमा गएका सरकारी आँकडाले देखाउँछ । अहिले पनि ४० लाख बढी युवा आप्रवासी कामदारका रूपमा विभिन्न मुलुकमा छन् ।

सरकारले यस वर्षको आप्रवासी कामदार दिवसको नारा ‘सीप र रोजगारः आर्थिक समृद्धिको आधार’ तय गरेको छ । अहिले पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने दक्ष कामदारको सङ्ख्या अत्यन्त न्यून छ । वैदेशिक रोजगारीमा गएका झण्डै ५७ प्रतिशत युवा अदक्ष रहेको सरकारी तथ्याङ्कले देखाउँछ । आव २०७५/०७६ मा श्रम स्वीकृति लिएर गएका पाँच लाख आठ हजार ८२७ कामदारमध्ये २१० जना उच्च दक्ष, ७८७ व्यावसायिक सीपयुक्त, ४२ हजार ७८४ दक्ष, एक लाख ७९ हजार ६०१ अर्धदक्ष र दुई लाख ८५ हजार ४४५ अदक्ष कामदार थिए ।

अदक्ष कामदार आर्थिक तथा भौतिक रुपमा उच्च जोखिममा पर्ने अवस्थासँगै सरकारले पछिल्लो समय सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरेको छ । यसवर्षमात्रै करिब १५ हजार युवालाई सीप तालिम दिने तयारीमा रहेको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठ बताउनुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE