अध्यादेश कसैप्रति लक्षित छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जारी अध्यादेश पार्टी वा कसैप्रति लक्षित नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक अभ्यास अन्तर्गत नै सरकारले आवश्यकता महसुस गरेर अध्यादेश ल्याएको चर्चा गर्नुहुँदै अनावश्यक विवाद, टिप्पणी र शङ्का–उपशङ्का नगर्नसमेत आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सरकारद्वारा जारी अध्यादेश, कोरोना भाइरसको अभियान र पार्टीका आगामी कार्यभारबारे सङ्घीय सांसदसँग बुधबार गरेको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संसद् चलेको ६० दिनभित्र प्रतिस्थापन विधिबाट अध्यादेश प्रतिस्थापन गर्ने कि खारेज गर्ने भन्ने विकल्प रहेकोसमेत चर्चा गरेका थिए ।

प्रधानमन्त्री ओलीले पार्टी स्थापना दिवसको सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको छलफलमा सरकारले कसैलाई टुटफुट गराउन नभई आफ्नो अधिकार क्षेत्रभित्रै रहेर नियमित सरकारको कामका रूपमा अध्यादेश ल्याएको स्पष्ट पारेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संवैधानिक निकायको नेतृत्व लामो समयदेखि रिक्त रहँदा सरकारको काममाथि नै प्रश्न उठेकाले संवैधानिक परिषद् ऐनमा संशोधन अत्यावश्यक भएको जानकारी दिएका थिए ।

उनले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारबाट भएका व्यवस्थापन र सरकारको भूमिकाबारे चर्चा गरेका थिए ।

छलफलमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत उपस्थिति थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सातै प्रदेशका नेकपाबाट निर्वाचित सांसदहरूसँग प्रदेशस्तरीय छलफल थालेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग बुधबार छलफल गरेका हुन् । उनले बिहीबार प्रदेश २, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका सांसदसँग छलफल गर्ने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

र यो पनि अस्थिरताको शिलान्यास : यसकारण ल्याइयो अध्यादेश

WRITE COMMENTS FOR THIS ARTICLE