अनलाइनमा खेल, मोबाइलबाट भुक्तानी : पुरानै खेलाडी, नयाँ धन्दा

गएको १९ जेठको राति काठमाडौंको कमलादीस्थित रिजेन्सी बुटिक होटलमा जुवा खेलिरहेको अवस्थामा आठ जना व्यापारी पक्राउ परे। बन्दाबन्दीको समयमा पनि होटलमा रातिसम्म गाडी चढेर आउनेहरूको चहलपहल थियो। प्रहरीले मौका हेरेर होटलमा छापा मार्‍यो। जुवाको खालबाट व्यापारीहरु नन्दकिशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अहुजा र विमलकुमार खेतान पक्राउ परे। प्रहरीले भारतको कोलकाताका होटल संचालक निक्की जोगाईलाई समेत पक्राउ गरेको थियो।

प्रविधिको दुरुपयोग गर्दै जुवाको कारोबार विद्युतीय माध्यमबाट भइरहेको आशंकामा प्रहरीले भुक्तानी सेवा प्रदायक इसेवा, खल्तीका साथै आधा दर्जन ब्याङ्कहरूमा भएका कारोबारलाई निगरानी गरिरहेको छ।

प्रहरीलाई बुटिक होटलमा लामो समयदेखि व्यावसायिक जुवा खेलिने गरेको सूचना थियो। त्यहाँ करोडौं रुपैयाँका जुवा हुने गरेको प्रहरी अधिकारीहरूको अनुमान थियो। तर, प्रहरीले एक हजार, ५००, १०० र ५० दरका १७९ थान क्वाइन र रु.२ लाख ७७ हजार मात्रै बरामद गर्‍यो।

पक्राउ परेकाहरू ‘क’ वर्गका ब्याङ्कदेखि चिया बगानका संचालकसम्म थिए, तर यो प्रोफाइल र बरामद रकम मेल खाँदैनथ्यो। उनीहरूले खेलेको जुवाको रकम विद्युतीय भुक्तानीको माध्यमबाट सम्बन्धित व्यक्तिको खातामा पुगेको अनुमान गरिएको छ।
प्रहरी अधिकारीहरूका अनुसार, पछिल्लो समय जुवाको खालबाट ठूलो रकम बरामद हुने क्रम घटिरहेको छ। महाराजगञ्ज घटनापछि जुवामा वैकल्पिक माध्यमबाट कारोबार फस्टाएको अनुमान गरिएको छ।

१० कात्तिक २०७६ मा महाराजगञ्जस्थित साम्बाला होटल पछाडि रहेको विक्रम गौतमको घरबाट प्रहरीले २५ जुवाडे पक्राउ गरेको थियो। ठेकेदार पृष्ठभूमिका गौतमको घर व्यावसायिक जुवा अखडा थियो।

प्रहरीले पक्राउ गरेका जुवाडेहरूमा ‘क्यासिनो किङ’ का रुपमा चिनिएका बले भनिने बलराम सापकोटा, हवाई उद्यमी पवित्रकुमार कार्की, व्यापारीहरू इन्द्र श्रेष्ठ र सुमन अग्रवालसहितका दुई दर्जन व्यक्तिहरू थिए। जुवा खालबाट रु. २ करोड ६७ लाख नगद बरामद भएको थियो।

यसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई समेत प्रहरीले लिखित जानकारी दिएको थियो। यसपछि नै व्यावसायिक जुवा खालमा नगद कारोबार सुक्दै गएको र विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्ने शैली फस्टाएको अनुसन्धान अधिकारीहरूको अनुमान छ। यसका साथै प्रविधिको दुरुपयोग गर्दै अनलाइन जुवाकै स्वरूप पनि देखिएको छ।

अनुसन्धानको सकस

जुवामा कारोबारको शैली फेरिन थालेसँगै प्रहरीले यसबारे अनुसन्धान शुरू गरेको छ। प्रहरीले अहिले केही मोबाइल नम्बर र तीबाट विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीका एपहरूमा खुलिरहेका र बन्द भइसकेका खाता नम्बर लिएर अनुसन्धान गरिरहेको छ।

ती खाताहरूमा कम्पनीले दैनिक कारोबारका लागि दिने सीमा (रु. १ लाख) अनुसारको रकम ट्रान्सफर हुने र साँझतिर ब्याङ्कहरूको खातामा जम्मा हुने गरेको छ। जुवामा इसेवा र खल्ती जस्ता विद्युतीय भुक्तानी सेवा प्रदायकबाट भुक्तानी हुन थालेको प्रहरी अधिकारीहरूको आशंका छ। बन्दाबन्दीको वेला पनि यसरी दैनिक लाखौं रकम पठाउने र ब्याङ्कमा जम्मा हुने क्रम चलिरहेको उनीहरू बताउँछन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी सहकुलबहादुर थापा भन्छन्, “विद्युतीय माध्यमबाट खेलिने जुवामा एउटा संगठित गिरोह सक्रिय रहेको आशंकामा हामीले अनुसन्धान गरिरहेका छौं।”

ब्यूरोको अनुसन्धानले इसेवा र खल्ती एपमा दैनिक विभिन्न नाममा खाताहरू खुल्ने, केही दिनपछि निस्क्रिय हुने र फेरि नयाँ खुल्ने क्रम चलिरहेको देखाएको छ। यही अवधिमा विभिन्न ब्याङ्कका खातामा धमाधम रकम जम्मा भइरहेको छ। ब्यूरो स्रोतका अनुसार, ग्लोबल आईएमई, एनआईसी एशिया, प्रभु, हिमालयन, ब्याङ्क अफ काठमाण्डू, सानिमा र लक्ष्मी ब्याङ्कमा विभिन्न व्यक्तिका खातामा रकम जम्मा भइरहेको छ।

“एउटा संगठित गिरोह नै सक्रिय छ, काम बाँडेर दैनिक खाता खोल्ने, सीम व्यवस्थापन गर्ने र रकम ब्याङ्कसम्म पुर्‍याउने व्यक्तिहरू फरक–फरक समूहमा छन्”, स्रोतले भन्यो।

सयौं खाता मार्फत यसरी कारोबार भइरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि प्रहरी टोली यसको थप खोजीमा जुटेको हो।

सीआईबी बाहेक महानगरीय अपराध महाशाखाले पनि एक प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा यस्तै प्रकृतिको घटनाको अनुसन्धान गरिरहेको छ। एसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले विगतमा सट्टेबाजी खेलाउने गिरोहका नाइके र सदस्यहरुलाई निगरानी गरिरहेको छ।

महाशाखा प्रमुख एसएसपी दीपक थापा भन्छन्, “अनलाइन जुवामा ठूलो गिरोह सक्रिय रहेको सूचना आएको छ, हामी अनुसन्धान गरिरहेका छौं।”

गैरकानूनी रूपमा अनलाइन गेम, बाजी, बेटिङ जस्ता कार्यमा विद्युतीय भुक्तानी माध्यमको प्रयोग भएको विषय आएपछि इसेवा फोनपे प्रालिले २३ जेठमा सार्वजनिक सूचना निकालेको थियो। जसमा इसेवाले कानून विपरीत कुनै पनि गेमिङ, बाजी, बेटिङ वा अन्य गैरकानूनी कार्यमा कसैलाई भुक्तानीको माध्यम प्रयोग छूट नदिएको बताएको थियो।

सूचनामा लेखिएको थियो, “यदि कसैले इसेवा खाता भुक्तानीको माध्यमको रुपमा प्रयोग गरी यस्तो क्रियाकलाप गरेको पाइए हामीले सरोकारवाला निकायमा कारबाहीको सिफारिशसहित जानकारी गराउनुका साथै यस्ता एकाउन्ट ब्लक गरी भविष्यमा प्रयोग गर्न अयोग्य हुने हाम्रो आन्तरिक नीति रहेको स्पष्ट पार्न चाहन्छौं।”

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले केही खाताबाट जुवाको रकम भुक्तानी गरिएको भेटिएपछि सार्वजनिक सूचना निकालेको बताए। इसेवामा खाता खोलेर कारोबार गर्न तीनपुस्ते विवरण भर्नुपर्ने भएकाले दुरुपयोगको सम्भावना कम हुने उनको दाबी छ। अनुसन्धानमा सघाउन प्रहरीले मागेको सूचना उपलब्ध गराउने उनी बताउँछन्।

सीआईबीका अनुसार, पछिल्लो समय अनलाइन माध्यमबाट भुक्तानी गर्ने गरी जुवा खेलाउने समूहले खालहरूमा रकम व्यवस्थापनको जिम्मेवारी लिइरहेका छन्। अनलाइनमै पनि जुवा खेलाउने समूह सक्रिय छ। स्रोत बताउँछ, “अहिले बेटिङ हुने गरी कुनै अन्तर्राष्ट्रिय खेल नभए पनि जुवाडेहरू सक्रिय छन्। यसको अर्थ मोबाइल नै जुवाको खाल बनिरहेको छ ।”

पुरानै खेलाडी, नयाँ धन्दाको आशंका

२०६० को दशकमा सट्टाबजारमा नागराजको नामबाट चर्चित थिए, नथमल अग्रवाल। क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय खेल शुरू हुने मौसममा उनको दौडधुप र चर्चा बढ्थ्यो। यसरी चर्चामा रहेको १० वर्षपछि उनलाई ९ असार २०७५ मा महानगरीय अपराध महाशाखाले काठमाडौं पानीपोखरीबाट पक्राउ गर्‍यो।

त्यसअघि १५ जेठ २०७५ मा सट्टाबजारका अर्का खेलाडी गौरव तिवारीसहित ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। बेलायतमा खाता खोलेर नेपालमा धन्दा चलाउने तिवारी पक्राउ परेर रिहा भएको तीन सातापछि नथमल पक्राउ परेका थिए। यी दुईबीचको बेमेल नै एक–अर्का पक्राउ पर्नुको कारण थियो।

सट्टा खेलाएको अभियोगमा काठमाडौं प्रहरीले पूर्व राष्ट्रिय खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियोे। केसीसहित गौरव तिवारी, दिनेश बोगटी, नगेन्द्र सुवाल र विजय श्रेष्ठ काठमाडौं जिल्ला अदालतको आदेशले अति न्यून धरौटीमा रिहा भएका थिए। नागराज १० असोज २०७५ मा रु. ४० लाख धरौटी बुझाएर छुटेका थिए।

सट्टाबजारका तिनै खेलाडीहरूले अहिले विद्युतीय भुक्तानी माध्यमको उपयोग गरी जुवाको नयाँ धन्दा चलाएको हुन सक्ने प्रहरी अधिकारीहरूको आशंका छ।

सिफलका राकेश सिंहबाट रु.२ करोड ४० लाख ठगी गरेको आरोपमा पक्राउ परेका नागराजको कुनै पेशा र व्यवसाय प्रत्यक्ष देखिंदैन। तर, उनको सम्पत्ति अस्वाभाविक थियो। तिवारीको पनि त्यस्तै अवस्था थियो।

यी दुई बाहेक काठमाडौं, चितवन, विराटनगर, वीरगञ्ज र नेपालगञ्जबाट समेत वेलावेला अनलाइन जुवा खेलाउने समूहका सदस्यहरू पक्राउ पर्ने गरेका छन्।

प्रहरीको मिलेमतो

विभिन्न समयमा पक्राउ परेका अग्रवाल र तिवारीको कुनै समय प्रहरीका उच्च अधिकारीहरूसँग हिमचिम थियो। यसको एउटा उदाहरण, तिवारी संचालक रहेको सिनेमा हल प्रहरीका उच्च अधिकारीले उद्घाटन गरेका थिए। कमलपोखरीस्थित सिटीसेन्टरमा रहेको ट्वेल्भ–डी हल तिवारीको हो।

यस्तै, अग्रवाल समेत प्रहरीका उच्च अधिकारीहरूसँग निकट सम्बन्ध राख्नेमध्ये एक हुन्। यी दुवै पक्राउ परेको घटनामा प्रहरीले उनीहरूको अवैध सम्पत्तिको स्रोत खोतल्ने निकायमा लेखापढी समेत गरेन। यी दुबै धरौटीमा रिहा भएका थिए।

प्रहरीको अभिलेख अनुसार, २०६४ सालमा सट्टेबाजीका मुख्य कारोबारी र दोस्रो तहका माफिया सोल्टी होटलबाटबाट समातिएका थिए। काठमाडौं प्रहरीका तत्कालीन प्रमुख, एसपी ढकबहादुर कार्कीले पक्राउ परेका दुबै जनालाई जुवा ऐनमा समेत कारबाही नगरी छाडेका थिए। कार्कीले कारबाहीका लागि कानून नै नभएको भन्दै छाडेका थिए।

१८ जेठ २०६३ देखि ८ साउन २०६४ सम्म काठमाडौं प्रहरी प्रमुख रहेका एसपी कार्कीले सट्टेबाजीका कारोबारीसँग मोटो रकम लिएर छाडेको आरोप उनी सरुवा हुने समयमा लागेको थियो।

यस्तै, २०६९ वैशाखमा प्रहरीले विराटनगरबाट सट्टाको कारोबार गरिरहेको अवस्थामा अंशु जैन, कविता जैन र जेपी नारायणलाई पक्राउ गरेर राजस्व अनुसन्धान विभागमा बुझाएको थियो। त्यसै वर्ष फागुनमा विराटनगरबाटै एक समूहलाई पक्राउ गरिए पनि त्यो गुपचुपमै राखियो। त्यतिवेला सट्टा कारोबारीका रूपमा चिनिएका विराटनगरकै कमलेश अग्रवाल, चुन्नु राठी, लोकमान लोहिया, अनिल वाहेती, अशोक दाँते र मुन्ना नाम गरेका व्यक्तिलाई प्रहरीले पर्याप्त सूचना हुँदाहुँदै पनि कारबाही नगरेको आरोप लागेको थियो।

प्रहरीका पूर्व एआईजी पुष्कर कार्की सट्टेबाजी, जुवा आदिको अनुसन्धान र निगरानी निरन्तर हुनुपर्ने विषय भएकाले सीआईबीमा छुट्टै संरचना बनाउनुपर्ने बताउँछन्। उनी भन्छन्, “सट्टेबाजी र अनलाइन जुवा सीमित व्यक्ति र सानो समूहबीच हुने भए पनि यसको वार्षिक कारोबार अर्बभन्दा बढी छ, यसैले यसको अनुसन्धान र निगरानी निरन्तर हुनुपर्छ।” –  हिमाल खबरबाट

WRITE COMMENTS FOR THIS ARTICLE