अब कसरी अघि बढ्ला नेकपाको विवाद?

kp woli and prachanda

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेसँगै मुलुक संवैधानिक संकटमा पर्नबाट जोगिएको छ। यससँगै नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।

तर, पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै विभाजित बनेको नेकपाको विवाद भने कसरी अघि बढ्ला, स्पष्ट छैन।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरिरहेका छन्।

कानुनी रुपमा पनि विभाजन प्रक्रिया अघि बढिसकेको छ।

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रचण्ड–नेपाल समूहले माघ २० गते निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेका थिए। तर यस विषयमा आयोगले कुनै प्रक्रिया अघि बढाएको थिएन।

दुवै समूहले जिल्ला तथा जनवर्गीय संगठनहरुमा अर्को समूहमा लागेका नेता तथा कार्यकर्तालाई पदबाट हटाएका छन्।

नेकपामा उपाध्यक्ष वामदेव गौतमले दुवै पार्टीलाई एकीकरण गर्ने भन्दै राष्ट्रव्यापी अभियान सञ्चालन गर्दै आएका थिए। सर्वोच्च अदालतको फैसला आएपछि उनले प्रतिक्रिया व्यक्त गर्दै दुवै पक्षलाई मिलाउन आफू लाग्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको आकार विस्तार गरेर १५ सय १ पुर्‍याएका थिए। अर्को पक्षले भने संख्या थपेको थिएन तर अध्यक्ष र महासचिवलाई भने कारबाही गरेको थियो।

यी दुई समूहको अबको रणनीति के हुन्छ त?

प्रचण्ड-नेपाल समूहका स्थायी कमिटीका सदस्य घनश्यास भुसालले एमाले र माओवादीबीच एकीकरणको भावनाअनुसार पार्टीलाई एक बनाएर अघि बढ्ने बताएका छन्।

‘ओलीजीले नेकपालाई घाइते बनाएर जानुभयो। अब हामीले पार्टी एकीकरणको भावनाअनुसार अघि लैजाने काम गर्छौँ। यसका लागि हामी सबै लाग्ने छौँ,’ भुसालले भने।

प्रधानमन्त्री ओलीले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना भएपनि आफ्नो र आफ्नो समूहको राजनीति नसकिने बताएका थिए।

ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी कसरी अघि बढ्छ भन्ने विषयमा छलफल हुन बाँकी रहेको बताए।

‘भर्खरै फैसला आएको छ। अब पार्टी कसरीअघि बढ्छ भन्ने विषयमा छलफल हुन बाँकी नै छ,’ ज्ञवालीले भने।

२०७४ सालमा पार्टी एकीकरण गर्ने भन्दै तत्कालीन एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका थिए। उनीहरुले झण्डै दुई तिहाइ स्थान जितेका थिए भने सातमध्ये ६ प्रदेशमा सरकार बनाएका थिए।

२०७५ जेठमा ती दुई पार्टीबीच एकीकरण भएको थियो। एकीकरणपछि कतिपय विश्लेषकहरुले नेकपालाई चीन र भियतनामपछि एसियाको तेस्रो शक्तिशाली कम्युनिस्ट पार्टी भनेका थिए।

तर, एकीकरण प्रक्रिया नटुंगिदै पार्टी विभाजन भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE