अब मेसी र बार्सिलोनाको भिडन्त कानुनी युद्धमा…

जतिबेला ६ पटकका बालोन डे’अर विजेता लियोनल मेसीले बार्सिलोनालाई मंगलबार राति फ्याक्समार्फत भने, ‘अब म क्लब छोड्न चाहन्छु ।’ यो क्याटलन क्लबमाथि ‘बमसेल’ नै रह्यो । मेसीको इच्छा छोड्ने मात्र थिएन, उनी बिनामूल्य जानेक्रममा थिए । यस्तोमा अब मेसी र बार्सिलोनाको भिडन्त कानुनी युद्धमा परिवर्तन हुने भएको छ । अब कानुनी लडाइँ हुनेछ, दुई पक्षबीच रहेको अनुबन्धमा किनबेचको चर्को मूल्य अझै कायम छ कि समाप्त भइसक्यो रु

मेसीले बार्सिलोनाका लागि चारपल्ट च्याम्पियन्स लिग जिते । उनी क्लब इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । यी अर्जेन्टिनी खेलाडी चाहन्छन्, अनुबन्ध तत्काल खारेज होस् । अनुबन्धको एक बुँदामा भनिएको छ, खेलाडीले चाहेमा क्लब छोड्न सक्छन् । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएपछि खेलाडी र क्लबबीचको सम्बन्ध अझ कमजोर हुन थालेको थियो । त्यसयता प्रशिक्षक क्विक सेटिन बर्खास्तगीमा परे । रोनाल्ड कोम्यान उनको स्थानमा आइसके ।

कोम्यानले नै अबदेखि बार्सिलोनामा मेसीको स्थान विशेष नहुने बताएपछि स्थिति प्रतिकूल हुन सुरु भएको हो । बार्सिलोनाले सन् २००७ यता कुनै पनि उपाधि जित्न नसकेको सिजन यसपालि हो । यी ३३ वर्षीय खेलाडीले बार्सिलोना छाड्ने के निर्णय गरे, क्लबका वर्तमान अध्यक्ष जोसेप मारिया बार्टोमेउको विरोधमा क्याम्प नोउ बाहिर समर्थकले प्रदर्शन पनि गरिसकेका छन् । बार्सिलोनाका लागि पछिल्लो दशक सबैभन्दा सफल समय रहेको छ । यो समयका सबैभन्दा प्रमुख र निर्णायक खेलाडी मेसी नै रहेका छन् ।

ती समर्थकले भनिरहेका छन्, ‘मेसी कुनै पनि हालतमा बार्सिलोनामै रहनुपर्छ ।’ बार्सिलोनाले अहिलेसम्म औपचारिक रूपमा मेसीको नयाँ चाललाई लिएर प्रतिक्रिया दिएको छैन । तर क्लबले के बुझेको छ भने मेसीले आफू खुसी क्लब छाड्ने सक्ने बुँदाको औचित्य जुनमा नै सकिसकेको छ । त्यसैले सन् २०२१ सम्म कायम रहेको अनुबन्ध नसकिएसम्म मेसी बार्सिलोनामै रहनुपर्छ । स्पेनी खेल दैनिक मार्काले लेखेको छ, ‘सैद्धान्तिक रूपमा यो बुँदा जुन १० मै खारेज भइसकेको छ ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE