अल्जेरियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा वार्ताको आह्वान

अल्जेरियाका नवनिर्वाचित राष्ट्रपति अब्देलमाजीद ताबूनले वार्तामा आउन सवैलाई आह्वान गर्नुभएको छ । असन्तुष्ट र आन्दोलनरत सबै पक्षलाई उहाँले वार्तामार्फत् नै निकास निकाल्न आह्वान गर्नुभएको समाचारमा जनाइएको छ । उहाँले वार्तामार्फत् आन्दोलनकारीको जायज माग सम्बोधन गर्न आफु सधैँ तयार रहेको पनि शुक्रबार स्पष्ट पार्नुभएको छ ।

नयाँ राष्ट्रपति चयनका लागि अल्जेरियामा बिहिबार भएको निर्वाचनबाट पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ताबून राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँलाई निर्वाचन आयोगले शुक्रबार देशको आठौँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

राष्ट्रपति निर्वाचित भएपछि पत्रकारसँगको कुराकानीका क्रममा उहाँले असन्तुष्ट र आन्दोलनरत सवै पक्षसँग वार्ता गर्ने आफ्नो पहिलो कार्यभार भएको उल्लेख गर्नुभएको छ ।

उहाँले देशको राजनीतिमा तात्विक परिवर्तन गराउने र पुरानो प्रणालीलाई नयाँरुपमा ल्याउने आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।

“आफ्नो अर्को प्राथमिकता भनेको नयाँ संविधान बनाउनु पनि हो,” उहाँले पत्रकारसँग भन्नुभयो, “त्यसका लागि मैले धेरै फराकिलो दायरामा छलफल गर्नेछु ।”

अल्जेरियालाई नयाँ तरिकाले अगाडि बढाउनका लागि सामाजिक, आर्थिक, बौद्धिक र राजनीतिक क्षेत्रका अगुवा र नागरिक अधिकारकर्मीसँग छलफल गरेर संविधानको मस्यौदा बनाउने उहाँको भनाइ छ ।

उहाँको निर्वाचनसम्वन्धी कानुनमा पनि केही संशोधन गर्ने आश्वासन दिनुभएको छ । निर्वाचन कानुन ठिक नभएको भन्दै आन्दोलनकारीले प्रदर्शन गरिहेका बेला उहाँले सो कानुन संशोधन हुने आश्वासन दिनुभएको हो ।

निर्वाचन कानुनमा सुधार नगरी चुनाव गरिएकाले अल्जेरियामा राजनीतिक स्थिरता नहुने प्रदर्शनकारीले दावी गर्दै आएका छन् । अनेक असन्तुष्टीका कारण अल्जेरियामा झण्डै दश महिनादेखि आन्दोलन हँुदै आएको छ ।

आन्दोलनकाबीच राष्ट्रपति चयनका लागि गत बिहीबार निर्वाचन भएको छ । निर्वाचनमा प्रतिश्पर्धा गरेकामध्ये अत्यधिक धेरै मतान्तरले विजयी हुनुभएका तेब्बौन झण्डै दुई दशकदेखि राष्ट्रपतिका रुपमा शासन गर्नुभएका अब्देलाजिज बोटेफ्लिकाको उत्तराधिकारी बन्नुभएको छ ।

अफ्रिकी मुलुक अल्जेरियाका तत्कालिन राष्ट्रपति बोटेफ्लीकाले गत अप्रिल मै आन्दोलनकारीको चर्को दबावपछि राजीनामाको घोषणा गर्नुभएको थियो ।

उहाँ आफै फेरि उम्मेदवार बन्ने बताएपछि आन्दोलनकारीले उहाँलाई राजीनामा दिन र उम्मेदवार नबन्न माग गर्दै आन्दोलन गरेका थिए ।

वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले ८२ वर्षीय वृद्ध र बिरामी राष्ट्रपति अब्देलाजिजलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरूले माग गरेका थिए । त्यही दबावअनुसार उहाँले केही समयपछि राजिनामा दिनुभएको थियो ।

त्यसपछि पनि आन्दोलन जारी रहेको थियो । आन्दोलनकै कारण गत जुलाई ४ का लागि तोकिएको निर्वाचन सारेर गत बिहीबार डिसेम्बर १२ का दिन गरिएको थियो । त्यतिबेला निर्वाचन अहिलेलाई सारेर अब्देलकादेर बेनसालाहलाई अन्तरिम राष्ट्रपति बनाइएको थियो ।

अन्तरिम राष्ट्रपतिले गराउन लागेको निर्वाचन पनि निष्पक्ष र स्वतन्त्र हुन नसक्ने भन्दै अन्दोलनकारीले प्रदर्शनलाई जारी राखेका थिए ।

निर्वाचनको दिन बिहीबार पनि उनीहरूले अल्जियर्समा प्रदर्शन गरेका थिए । दसौँँ हजार आन्दोलनकारीले विरोध प्रदर्शनका क्रममा कतिपय मतदान केन्द्रसमेतमा आक्रमण गरेको र अवरोधको प्रयास गरेका थिए ।

आन्दोलन र विरोधकाबीच भएको निर्वाचनबाट ७४ वर्षीय ताबूनले ५८.१५ प्रतिशत मत प्राप्त गरी राष्ट्रपति चयन हुनुभएको हो ।

उहाँसँगै प्रतिश्पर्धामा उत्रिएका मध्ये अब्डेलकाडेर बेन्ग्रीनाले १७.३८ प्रतिशत मत प्राप्त गरेर दोस्रो हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी तेस्रो हुनुभएका अली बेन्फ्लीसले १०.५५ प्रतिशत, चौथो हुनुभएका अज्जेड्डीन मिहौबीले ७.२६ प्रतिशत र पाँचौँ हुनुभएका अब्डेलाजिज बेलैडले ६.६६ प्रतिशत मात्रै मत प्राप्त गर्नुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE