आइपीएल:आज दिल्ली क्यापिटल्स र किङ्स-११ पञ्जाब भिड्दै, प्लेइङ ११ मा पर्लान् त सन्दीप ?

इण्डियन प्रिमियर लिग (आइपीएल) शनिवारबाट युएईमा सुरु भइसकेको छ। १३ औं सिजनको आइपीएलको दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र किङ्स ११ पञ्जाब आमनेसामने हुँदैछन्। दुई भारतीय युवा स्किपरहरुले नेतृत्व गरेको टिमबीचको खेल आज बेलुकी पौने ८ बजे सुरु हुने छ। खेल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्दै आएको छ।

महामारीअघि दिल्लीका कप्तान श्रेयस ऐयर र पञ्जाबका कप्तान केएल राहुल राम्रो लयमा देखिएका थिए। ऐयर र राहुल दुबैलाई भविष्यको भारतीय टिमको कप्तानको रुपमा पनि हेरिने हुँदा यो प्रतियोगिता उनीहरुको लागि आफूलाई प्रमाणित गर्ने राम्रो अवसर हुनसक्छ। यी दुवै टिममा केही समानता पनि छन्। दुबै टिमको आइपीएलमा इतिहास खास राम्रो छैन। दुबै टिमले हालसम्म आइपीएलको उपाधि उठाउन सकेका छैनन्।

दिल्ली क्यापिटल्स् युवा खेलाडीहरुले भरिएको टिम हो। यस्तोमा टिममा पछिल्लो समयभन्दा कम नै परिवर्तन भएको देखिन्छ। दिल्लीको ब्याटिङ लाइन शिखर धवन, पृथ्वी श, ऋषभ पन्त, सिमरन हेटमायर, मार्कस् स्टोइनिसलगायतका खेलाडीले सम्हाल्ने छन्। त्यस्तै बलिङमा कागिसो रबाडा, ड्यानियल सेम्स, अमित मिश्रा, रविचन्द्रन अश्विन, हर्षल पटेल, सन्दीप लामिछानेलगायतका खेलाडीहरु मध्येबाट रहने छन्।

अन्तिम ११ मा पर्न लामिछानेको ठूलो प्रतिस्पर्धा हुने देखिन्छ। यद्यपि केही हप्ताअघि क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गरेको राम्रो प्रदर्शन र युएईको पिचमा उनको अनुभवले पनि राहत दिन सक्छन्। सायद त्यसैले पनि हुन सक्छ केही भारतीय सञ्चारमाध्यमहरुले उनलाई सम्भावित प्लेइङ ११ मा पनि राखेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE