आजदेखि सुरु हुँदै च्याम्पियन्स लिग: पहिलो दिन आठ खेल हुँदै…

युइएफए च्याम्पियन्स लिग २०२०-२१ को सिजनमा समूह चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदैछ। जसमा पहिलो दिन आठ खेल हुँदै छन्। सेन्ट पिटर्सबर्ग र क्लब बर्ग साथै डायनामो किभ र युभेन्टसबीचको खेल राति १०ः४० मा हुनेछ। अरु छ खेल राति पौने १ बजे छन्। जसमा लाइपजिग र इस्तानबुल बासाकेसिर, रेनेस र क्रास्नोडर, लाजियो र डोर्टमुन्ड, चेल्सी र सेभिया, पिएसजी र म्यानचेस्टर युनाइटेड साथै बार्सिलोना र फेरेन्सबारोसी खेल्दैछन्।

युभेन्टसमा अहिले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो हुने छैनन्। कोरोना संक्रमणका कारण उनी आइसोलेसनमा छन्। युभेन्टसमा प्रशिक्षकका रुपमा एन्डे« पिर्लोको डेब्यू हुँदैछ। १९९५ मा प्रशिक्षक मिरेका लुसेस्कुले मिडफिल्डर पिर्लोलाई सिरि ए मा डेब्यू गराएका थिए। २५ वर्षपछि अहिले प्रशिक्षकका रुपमा पिर्लो उनै लुसेस्कुको टिमविरुद्ध उत्रिँदै छन्।

पिर्लो जस्तै मंगलबार विशेष नजरमा हुनेछन् रेनेसका मिडफिल्डर एडवार्डो कामाभिन्गा। गएको सेप्टेम्बरमा नेसन्स लिगमा फ्रान्सका लागि डेब्यू गरेका उनी १९१४ पछि फान्सका लागि सबैभन्दा कान्छा खेलाडी बनेका थिए। च्याम्पियन्स लिगमा क्रास्नोडरसँग उनको खेल विशेष प्रतिक्षामा छ। रेनेस युथ टिम प्रशिक्षक ल्यान्ड्रि चोभिनले भनेजस्तो एडवार्डो यति सरल खेल्छन् कि उनको खुट्टामा हुँदा बलले जीवन पाएजस्तो लाग्छ।

सधैँ जस्तै बार्सिलोना कप्तान लियोनल मेस्सीमाथि पनि विशेष ध्यान हुने नै छ। गएको सिजन सकिने वित्तिकै बार्सिलोना छाड्ने असफल प्रयास गरेका मेस्सी यो सिजन सोचेजस्तो गोलमा बढ्न सकिरहेका छैनन्। क्रिष्टियानो रोनाल्डो रहेको टिम युभेन्टससँग एउटै समूहमा रहेकाले पनि यो सिजन च्याम्पियन्स लिगको समूह चरण विशेष बनेको छ। हंगेरीको लिग विजेता फेनेन्सबारोसी सहज टिम होइन।

 

WRITE COMMENTS FOR THIS ARTICLE