आनीको जिन्दगी गुफामै

लामा समुदायको जीवनशैली र रहनसहन फरक छ । सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन् । नाम्खा गाउँपालिका वडा ४ याङ्गगारस्थित नाम्ख्वुँङ्ग पेमा होत्साल छ्योलिङ गुम्बामा १४० आनी अध्ययन गर्दै बसिरहेका छन् । सिमकोट र नाम्खा गाउँपालिकाका ७० भन्दा बढी आनी गुम्बाभन्दा बाहिर रहेर गुफामा बस्दै आइरहेका छन् । जिल्लाभरि जम्मा २१० आनीले लामा पुस्तक (छ्यो) अध्ययन गरिरहेका छन् ।
सिमकोट गाउँपालिका –३ की ७० वर्षीया आनी छिरिङ्ग डोमा लामाले ‘बौद्धधर्ममा पाप गर्नु हुँदैन, पाप गरे अर्को जुनीमा नराम्रो हुने भएका’ले आफ्नो जीवनकाल नै आनी बनेर बिताउने गरेको बताउनुभयो । “मैले १३ वर्षको उमेरदेखि आफ्नो परम्पराअनुसार ठूलो लामाकहाँ पुगी कपाल काटेँ, उसैलाई चढाएर त्यस दिनदेखि जीवनभरि बिहा नगर्ने र ज्ञान लिएर गुफाभित्रै बस्ने निर्णय गरेँ ”, आनी लामाले भन्नुभयो । उहाँ १५ वर्षसम्म ठूलो लामासँग ज्ञानका पुस्तक अध्ययन गरेर गाउँ नजीकको गुफामा बस्नुभयो ।
लामा समुदायका छोरीहरु टोपेनी बनेपछि जीवनभर बिहा नगर्ने परम्परा छ । उहाँ जस्तै धर्म र कर्ममा विश्वास गर्ने हुम्ला जिल्लाका कैयौंँ युवती आनी बनेका छन् । छोरा मान्छे टावा अर्थात् टोप्या बनेमा इच्छानुसार विवाह गर्न पाउने र आनी बनेका टोपेनीले विवाह गर्न नपाउने र पवित्र भएर बस्नुपर्ने संस्कार छ । “आनी बन्नुको मुख्य उद्देश्य आफ्नो जीवनकालमा कुनै पनि पाप नहोस्, यदि भुलचुकमा पाप भएमा यस जुनीमा नै काटियोस् भन्ने हो”, उहाँले भन्नुभयो ।

जीवनशैली
लामा समुदायका युवती आनी बनेपछि अन्य युवती जसरी खुलेर समाजमा हिँड्डुल गर्न नपाइने ७० वर्षीया आनी लामाले बताउनुभयो । आनी बनेपछि पुस्तकमा रहेको ज्ञानार्जन गर्दै सीमा रेखाभन्दा बाहिर जान पाइँदैन ।
आनीले तल्लो भागमा रातो रङको स्यादाब र माथिल्लो भागमा पहेँलो रङको तेतोङ अथवा दुपटा लगाउँछन् । उहाँले भन्नुभयो, “हाम्रो समयमा आनीले ऊनले मात्रै बनाएका कपडा, जुत्ता, अन्य लुगा लगाउने चलन थियो । अहिलेको समयमा आनी बन्ने युवतीले पछिल्लो समय बजारमा आएका आधुनिक कपडा र अन्य सामग्री प्रयोग गर्न पाउने भएका छन् ।”
गाउँभन्दा एक घण्टा टाढा आफ्नो एकतलाको गुफा बनाएर ज्ञान साधनामा लिप्त उहाँ मूलको पानी खानुहुन्छ । राति पुस्तक अध्ययन गर्दा बत्ती नहुँदा सल्लाको दियालोको उज्यालोको भरमा अध्ययन गर्नुपर्ने बाध्यता छ । आनीको समस्यालाई समाधानका लागि नेपाल सरकारले आफूजस्तै विकट ठाउँमा साधनामा बसेका आनीलाई पानीको धारा र सौर्यबत्ती सहयोग गरेमा पुण्य हुने आनीले बताउनुभयो । “माटाले छाएको आफ्नो गुफा पानी र हिउँ पर्दा चुहिने डर हुँदाहुँदै पनि ज्ञान साधनामा बस्दा मनलाई आनन्द मिल्छ”, उहाँले भन्नुभयो ।
तीन वर्ष गुफामै
लामा समुदायका युवती गुरु रिम्पोछेसँग तीनदेखि छ वर्षसम्म अध्ययन गर्छन् । त्यसपछि आनीमा प्रवेश गरेपछि करीब १२ वर्षसम्म पैतोक पुस्तक अध्ययन गरेर ज्ञानमा परिपक्व बनेपछि गुफा पस्ने चलन छ । छ महिनादेखि तीन वर्षसम्म ज्ञान साधनामा लाग्दा गुफाभित्र कोहीसँग पनि बोलचाल गर्न पाइँदैन । एक जना मात्रै खाना बनाउने, स्याहारसुसार गर्ने र पूजा गर्र्दा आफूभन्दा कान्छी वा सानी उमेरका आनीलाई सहयोगीका रुपमा राख्न पाइन्छ । “हाम्रो काम पूजा गर्ने, पुस्तक पढ्ने, मन्त्र जप्ने मात्र हो, अन्य कुनै पनि काम गर्न मिल्दैन”, उहाँले बताउनुभयो ।

आनीले सर्वसाधारणभन्दा फरक खानेकुरा खाने चलन छ । बिहान उठ्नेबित्तिकै प्रत्येक दिन बिहान चिसो पानीमा नुहाएर सकिएपछि पूजाकोठामा प्रवेश गर्ने, बौद्धधर्मअनुसार करीब २० देखि ३० मिनेटसम्म आँखा चिम्लेर ध्यानमा बस्ने र त्यसपछि पूजापाठ गर्ने काम हुन्छ । पूजापाठ सकिएपछि भोटे चिया, उवाको सातु, थुक्पालगायत परिकार खाजाका रुपमा खाइन्छ । खाजा खाएर दुईतीन घण्टासम्म पुस्तक अध्ययन गरिसकिएपछि खाना खाइन्छ । राति दियो बाल्ने, पूजापाठ गर्ने, संसारमा जन्म लिएका सजीव प्राणीलाई कुनै दुःखकष्ट नहोस् भनेर भगवान्लाई पुकार गरिसकेपछि सुत्ने चलन छ ।

आर्थिक सहयोग
आनीलाई आफ्नो घरपरिवार, आफन्त र लामा समुदायका नागरिकले खानपिनमा सहयोग गर्छन् । आनीलाई लामा समुदायका घरमा गएर पूजापाठ गर्ने गर्दा खाद्यवस्तु, लत्ताकपडा र रुपियाँ दिइन्छ । आनीले यस्तो तपस्यामा बस्दा अर्थाेपार्जन गर्न मिल्दैन, आफन्त र गाउँलेको सहयोगमा जीविकोर्पाजन गर्नुपर्छ ।
सानै उमेरदेखि आनी बन्दा बिहेको झन्झटबाट मुक्त हुने भए तापनि बुढेसकालमा सहाराको आवश्यकता पर्ने उहाँले बताउनुभयो । “युवावस्थामा एक्लो भएर आफन्तबाट टाढा तथा बिहे, छोराछोरी पाउनेलगायत कुराबाट मुक्त भए तापनि पछि समस्या हुने रहेछ”, लामाले भन्नुभयो । आनीलाई आफ्नो सोच र संस्कारबाहेक अन्य संस्कारको कुनै मतलब हुँदैन ।
जिल्लामा लामा समुदायले पूजापाठ गर्ने तथा ज्ञान साधना गर्ने पाँच बौद्ध गुम्बा छन् । जिल्लामा अन्य सानातिना गुम्बा रहे पनि ठूला लामाले पूजापाठ गर्ने पाँच गुम्बा मात्र रहेको टोपे पदम लामाले बताउनुभयो । प्राचीन गुम्बालाई मर्मत गरेर नयाँ गुम्बा बनाइएकाले पछिल्लो समयमा टोपेटोपेनीलाई अध्ययनमा सहज भएको छ । हुम्लाको पूरै गाउँपालिका तथा सिमकोटका वडा १, ३ र ४मा मात्रै बौद्धधर्म मान्ने लामा समुदायको बसोबास छ ।

WRITE COMMENTS FOR THIS ARTICLE