‘आफ्टर सक्’ मा महाभूकम्प…..

भुकम्प वा महाभुकम्प जानु चीनको पूर्वीतटीय क्षेत्रका गाउँसहरका लागि नौलो विषय होइन। किनकि ती ठाउँहरुका जमिन फरफरक टेक्टानिक प्लेटहरु जोडिएका क्षेत्र वरपर छन्। विशाल जनसङ्ख्या भएका चीनका सहरहरु घना छन्। कहिलेकाही महाभूकम्पका कारणले त्यस क्षेत्रमा घना बस्ती भएका गाउँ सहरहरु ध्वस्त हुने गर्छन्। हजारौ र लाखौ मानिसहरु मर्छन्। लाखौलाख मानिसहरु घरवारविहीन हुन्छन। अरबौ र खरबौ डलरबराबरको सम्पत्ति नष्ट हुन्छ। जमिन फाट्ने र उथलपुथल हुनेखालका महाभुकम्को बेला मानिसहरु असहाय हुन्छन्। प्रकृतिको विनाशलीला अगाडि मान्छेको केही जोर चल्दैन। सरकार पनि निरीह नै बन्छ। मानव सिर्जनाका थुप्रै संरचनाहरु बेकम्मा बन्छन्। वास्तवमा त्यस्ता महाभूकम्पहरुले मानव सभ्यतालाई गिज्याइरहेका हुन्छन्। विज्ञानलाई चुनौति दिइरहेका हुन्छन्। यसका साथसाथै मानव जीवन समाज र संस्कृतिका थुप्रै पक्षहरु महाभूकम्प र त्यसले गर्ने विनाशपछि खल्बलिएका हुन्छन। सन् २०१० मा निर्माण गरिएको चिनीया फिल्म आफ्टर सक मा यही पक्षलाई देखाउन खोजिएको छ। कथाकार लिङ चाउको कथामा निर्देशक जयाओग्याङ फेङले बनाएको यस फिल्ममा मुख्य कलाकारहरु डाओमिङ चेन लि र यी लु रहेका छन्। यस फिल्मको पटकथा भने उ सिले कोरेका हुन्। एसिया प्यासिफिक स्क्रीन अवार्ड र एसियन फिल्म अवार्ड प्राप्त गर्न सफल भएको थियो यो फिल्म ।

१९७६ जुलाइ २८ मा ७६ म्याग्निच्युडो महाभूकम्प जाँदा चिनको उत्तर−पूर्वी प्रान्त हेवेइको सहर टाङ्सान पूर्ण रुपमा ध्वस्त भएको थियो। करिब १६ लाख जनसङ्ख्या भएको उक्त सहरमा ९१ प्रतिशत घरहरु पूर्ण रुपमा ध्वस्त भएको थियो। स्थानीय समयअनुसार रातको ३.४२ बजे भूकम्प गएकोले मस्त निद्रामा रहेको लाखौ मानिसहरु भत्किएका घरहरुबाट पूरिए। त्यस घटनामा सरकारी आँकडामा मर्नेहरुको सङ्ख्या २ लाख ४२ हजार ७ सय ६९ बताइए पनि वास्तविक मर्नेहरुको सङ्ख्या ६ लाख ५५ हजार ७ लाख ७९ हजारसम्म रहेको बताइन्छ। माओत्सेतुङको निधन हुनुभन्दा २ महिना अगाडि मात्र गएको विनाशकारी त्यस महाभूकम्पले चीनलाई निकै क्षति तुल्याएको थियो। तर भूकम्पले झण्डै शतप्रतिशत ध्वस्त भएको त्यस टाङ्सान सहरलाई चिनीँया जनमुक्ति सेनाका जवानहरुको पहलमा छोटो समयमा नै आधुनिक र विशाल सहरको रुपमा पुनः निर्माण गरिएको थियो।

टाङ्सानमा गएको यो भूकम्प क्षतिको दृष्टिले चिनमा अभिलेखित  भूकम्पहरुमध्ये इतिहासकै दोस्रो ठूलो भूकम्प भएको बताइन्छ। यसअघि सन् १५५३ मा साङ्सी प्रान्तमा गएको महाभूक्पमा परी ८ लाख ३० हजार मानिसहरु मरेको अभिलेख छ। त्यस्तै सन् १९२० मा ग्याङ्सु प्रान्तमा गएको भूकम्पमा परी २ लाख मानिसहरुको ज्यान गएको थियो।

फिल्म ‘आफ्टर सक’ मा सन् १९७६ मा गएको महाभूकम्पबाट ध्वस्त बनेको चीनको उत्तरीपूर्व सहर टाङ्सानको घटनालाई कथावस्तुको रुपमा समेटिएको छ। कथाअनुसार टाङ्सान सहरमा डा चियाङ भन्ने एक ड्राइभर हुन्छन। उनकी श्रीमती युआन नी हुन् भने छोरा फाङ डा र छोरी फाङ डेङ हुन्। चारजनाको सानो सुखी मजदुर परिवार हो तिनीहरुको। तर १९७६ जुलाइ २८ तारिखको महाभूकम्ले उनिहरुको परिवारलाई क्षतविक्षत बनाइदिन्छ। त्यस महाभूकम्पमा डा चियाङको मृत्यु हुन्छ भने घर भत्किँदा एउटै स्लायबले छोरा फाङ डा र छोरी फाङ डेङलाई थिचिरहेको हुन्छ। उद्धार टोलीले आमा युआननीलाई छोरा वा छोरी कसलाई बचाउने हो भनी सोध्छ किनकि स्लायबलाई जताबाट उठायो त्यतैको मात्र बाँच्न सक्ने अवस्था हुन्छ। आमा चाहिँ सुरुमा अकमकिन्छिन् र दुवैलाई बचाइदिन आग्रह गर्छिन्। उद्धार टोलीले त्यस्तो हुन नसक्ने  बताउछ। उनलाई निर्णय लिन धेरै गाह्रो हुन्छ। पछि उनले छोरालाई बचाउन आग्रह गर्छिन्। त्यो कुरो स्लायबबाट थिचिएको अवस्थाकी छोरी फाङ डेङले सुनिरहन्छिन। आमाको आग्रह अनुसार उद्धार टोलीले छोरी पट्टिको छेउबाट स्लायब उठाउँछ। छोरा फाङ डालाई बचाइन्छ। छोरी फाङ डेङपट्टि भग्नावशेषको थुप्रो खस्छ र उनी मरणासन्न हुन्छिन्। उनलाई मर्यो भनि लाशको थुप्रोमा राखिन्छ। तर चमत्कार हुन्छ। उनी पछि बांच्छिन्। उनलाई जनमुक्ति सेनाहरुले उद्धार गर्छन। पछि छोरी फाङ डेङलाई जनमुक्ति सेनाका जवान वाङ भन्ने व्यक्ति र उनकी पत्नीले धर्मपुत्रीको रुपमा पाल्छन्। वाङकी पत्नी पनि जनमुक्ति सेनाका जवान हुन्। फाङ डेङ ठूलो भएपछि अध्यनका लागि क्यानडाको  भानकुभर सहरमा जान्छिन्। त्यहाँ उनको आफ्नै एक चिनीया सहपाठीसँग प्रेम बस्छ र पछि विवाह पनि हुन्छ। उनीहरुले एउटा बच्चा पनि पाउँछन्। तर पछि उनीहरुबिच सम्बन्धविच्छेद हुन्छ फाङको एक विदेशीसँग पुनः विवाह हुन्छ। यता चिनमा फङ डङकी आमा चाहिँ छोरा फाङ डासँग बस्छिन्। उनलाई भूकम्पको बेला उद्धार टोलीले बचाउनको लागि छोरा र छोरीमध्ये कसलाई छान्ने भनेर प्रश्न गर्दा आफूले छोरालाई छानेको कारणले छोरी गुमाउनुपरेकोले उनलाई आफ्नो जिन्दगी नै भारी भइरहेको हुन्छ। उनी सधै छोरीलाई सम्झेर रोइरहन्छिन् ।

महाभूकम्पको ३२ वर्षपछि चिनमा पुनः अर्को महाभूकम्प गएको र ठूलो क्षति भएको समाचार टिभीमा हेरेर क्यनाडाको भानकुभरमा बसिरहेकी फाङ डेङले थाहा पाउँछिन। उनलाई पहिलेको विपत्तिमा परेकाहरुको उद्धार क्षेत्रमै उनका भाइ फाङ डालाई भेट्छिन। फाङ डा पनि  भूकम्प क्षेत्रमा उद्धारका लागि टाङसान सहरको उद्धार टोलीका एक स्वयमसेवक सदस्यको रुपमा त्यहाँ आएका हुन्छन्। मरिसकी भन्ने ठानिएकी आफ्नी दिदीलाई भेट्दा फाङ डा अत्यन्तै खुशी हुन्छन्। उनले दिदालाई घरमा ल्याई आमा युआन नीसँग भेट गराउँछ। आमा चाहिँले महाभूकम्पको बेला आफूले छोरालाई छान्नुपरेकोमा आफूलाई दोषी ठान्नुका साथै त्यसबाट आफु धेरै दुःखी भएको बताउँछिन्। उनी धेरै रुन्छिन। अर्को यतिका वर्षसम्म बिनासूचना बसेकोमा उनले छोरीलाई ‘त्यस्तो किन गरेको’ भनी भक्कानएर सोध्छिन। वास्तवमा आमाले छोरालाई छानेकोमा घरप्रति वितृष्णा भई छोरी फाङ डेङले घर छोडेकी हुन्छिन्। तर आमालाई भेट्पछि आफूले घरप्रति त्यस्तो व्यवहार गरेकोमा गल्ती गरेको महसुस गर्छिन्। त्यसपछि उनीहरुको सुखद्  पारिवारिक पुनमिर्लन हुन्छ्।

यस फिल्ममा महाभूकम्पले कस्तोसम्म भयानक विपत्ति ल्याउन सक्छ भन्ने यथार्थलाई बडो कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। त्यस्तै चिनीया समाजमा छोरा र छोरीमा भेदभावको संस्कृति अवशेषको रुपमा रहेको छ भन्ने सामाजिक−सास्कृतिक यथार्थलाई प्रस्तुत गरेको छ। अर्को महाविपत्तिमा गरेको उद्धारमार्फत् चिनीया जनमुक्ति सेनाको जनउत्तरदायी चरित्र मन छुने गरी देखाइएको छ। त्यस्तै भूकम्पले क्षतविक्षत सहरलाई पनि छोटो समयमा नै चिनीयाहरुले कसरी झन् आधुनिक र सुन्दर बनाउन सक्दारहेछन् भनेर उनीहरुको पौरखी चरित्र पनि देखाइएको छ।

चिनीया भाषामै बनाइएको यस फिल्ममा विदेशी दर्शकहरुका लागि अङग्रेजी ‘सबटाइटल’ राखिएको छ। यसले गर्दा संवाद बुझ्न कठिन नहुनु मात्र होइन कि त्यो जीवन्त पनि बनेको छ। भूकम्पको बेला भवनहरु भत्किने र जमिनसमेत चिरा पर्ने दृश्य देखाउन अत्याधुनिक प्रविधिलाई प्रयोग गरिएरको छ। यसले चिनीया फिल्म निर्माणमा ‘हाइ टेक’ प्रयोग हुने स्पष्ट झल्किन्छ जुन प्रविधि हलिउडमा प्रयोग हुन्छ। महाभूकम्पको बेला जमिन जोडले उथलपुथल हुने र त्यसले रातको समयमा ल्याउने भयावहको स्थतिलाई जीवन्त बनाउन दृश्यका सेटहरु मात्र होइनन् उपयुक्त प्रकाशको प्रयोगले पनि उत्तिकै भूमिका खेलेको छ। छायाङ्कनमा निर्देशकले यस कुरालाई पर्याप्त ध्यान दिएको देखिन्छ। मुख्य लगाएत सबै पात्रहरुले सशक्त अभिनय गरेका छन् जसले फिल्मलाई जिवन्त बनाएको छ। २ घन्टा ९ मिनेट २१ सेकेन्ड लामो यो फिल्दर्शकलाई सुरुदेखि अन्तयसम्म उत्तिकै ध्यान तान्न सफल छ।

WRITE COMMENTS FOR THIS ARTICLE