आमा म आज रातै फूलेकी छुँ…

आमा म आज रातै फूलेकी छुँ ।

हेर्नुस् त

जस्तो वनभरी लालिगुराँस फुल्छ

जस्ता बारी भरी गुलाव, ,सयपत्री

अनि पानी भरी कमल र वाटरलिलीहरु फुल्दछन्

के फूल मन नपराउने मानिसहरु पनि

बस्छन् र हाम्रो समाजमा आमा ?

यदि त्यस्ता मानिस छैनन् भने

किन हँसिया प्रहार गर्दैछन् मेरै फूलको बोटमा

र पठाउँदैछन् आफूबाटै छुट्याएर टाढा

त्यो डरलाग्दो छाउगोठमा

 

आमा बिन्ती छ

म सफा कोठा र अँगेनीमा नै बस्छु है

किनकी म आज रातै फूलेकी छुँ ।

 

तिमीले नै उमारीदिएकी यो बोट मा खुसी झुल्दा

कोपिला हुदैँ यसरी ढकमक्क रातै फुल्दा

तपाँई पक्कै खुसि हुनुहुन्छ होला नी हैन

यो खुसी मेरा बाबालाई पनि बाँड्नुस् है आमा ।

 

मलाई थाहा छ आमा

रातै फूल्नु भनेको श्रृष्टिको रक्षा गर्नु हैन र ।

आफू जस्तै अर्को फल फलाउनु हैन र

जसरी तपाईँले मलाई यो संसार देखाउनु भो

त्यसैगरी मैले पनि कसैलाई यो संसारमा ल्याउनु होइन र ।

तपाईँ नै भन्नुस् त आमा के फूल बिना

फल फलाउन सम्भव छ यो धर्तीमा ?

 

हो ,

आमा म आज हाम्रै लैनी गाइको

दुध दहि र घ्यू खान्छु

यो फूल सफा गर्न

हाम्रै त्यो पानी खाने पँधेरामा जान्छु है

किनकी म आज रातै फूलेकी छुँ ।

 

मैले देखेकी छु आमा

म जस्तै कैयौँ संङ्गीनीहरु

यसरी नै म जस्तै फूल्दा

कैयौँ आमा बाबाले फुलको सुगन्ध नबुझेर

छिःछिः र दुर दुर को व्यवहार गरेर भैँसी गोठमा सुताउँदा

भैँसिले नै कुल्चेर ज्यान गएको छ नी ।।

तपाइलाइ पनि त थाहा छ नि है आमा

पोहोरसाल जेठाबाकी छोरी रातै फूल्दा

राति बारीमै सुतेको बेला

सर्पले डसेर मृत्यु भयो नी है ।

 

आमा याद छ

अस्ति मात्र रातै फूलेको बेला

हाम्रै सानिमाकी छोरीलाई

भेडीे गोठमा एक्लै बसाउँदा

पेट दुखेर मरेकी हैन र

 

यति सबै कुरा देखेकी र भोगेकी मेरी आमा

बिन्ती छ

मलाई नपठाउनुस् है छाउगोठमा

सुत्न दिनुस् यहि मेरै कोठामा

किनकी म आज रातै फूलेकी छुँ ।

 

आमाले बिर्सिनु भयो

अस्ति भर्खर मात्रै हाम्रो गाउँ पनि

छाउगोठ मुक्त भयो नी

सबैकी छोरी यसैगरी रातै फूलेको बेला त

झन् मिठो खाना चाहिन्छ,

सफा नाना चाहिन्छ

प्रशश्त आराम चाहिन्छ

अनि बढी सरसफाई चाहिन्छ नि

 

कति धेरै मेरी संगीनीहरुको ज्यान लिएको

त्यो चिहान समान अँध्यारो कालो छाउगोठमा

बिन्ति छ मेरी आमा मलाई नपठाउनुस् है ।

 

आमा

यदि म त्यो कालकोठरीमा नजाँदा

यी देउता रिसाउँछन् भने

यी समाजका मानिस घुणा गर्छन् भने

म तपाईँले जस्तो गरी अन्याय सहन सक्दिन

बरु मर्छु

तर तिनीहरुसँग लड्छु

 

बिन्ती छ आमा

मलाई त्यो कालकोठरीमा नपठाउनुस् है

किनकी म आज रातै फूलेकी छुँ । समाप्त

लेखक , चन्द्र प्रकाश बढुवाल मुगु

WRITE COMMENTS FOR THIS ARTICLE