आयाक्सका मिडफिल्डर डी विक म्यानचेस्टर युनाइटेडमा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच क्लब अयाक्सका युवा मिडफिल्डर डोनी भान डे बीकलाई आबद्ध गर्ने भएको छ। भान डे बीकलाई ४० मिलियन पाउन्डमा आबद्ध गर्न दुवै क्लब सहमत भएका छन्।

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले २३ वर्षीय मिडफिल्डरलाई भित्र्याउन लामो समयदेखि प्रयास गरेका थिए। अब युनाइटेडले भान डे बीकसँग व्यक्तिगत सम्झौता र मेडिकल गर्न बाँकी छ। केही दिनमा सम्झौता पूरा हुने बताइएको छ।

भान डे बीक सिजनको पहिलो खेलमा युनाइटेडका लागि उपलब्ध हुने विश्वास गरिएको छ। युनाइटेडले सिजन २०२०-२१ को पहिलो खेल १९ सेप्टेम्बरमा क्रिस्टल प्यालेसविरुद्ध खेल्दैछ। यसअघि जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट इंग्लिस विंग्गर जाडोन सन्चो भित्र्याउन कोशिस गरे पनि युनाइटेड सफल भएन।

भान डे बीक अयाक्सले २०१९ मा युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल खेल्दा टिमको मुख्य खेलाडी थिए। नेदरल्यान्ड्सका अन्तर्राष्ट्रिय खेलाडी उनले अहिलेसम्म १० खेल खेलिसकेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE