उद्योग ग्राम स्थापना हुने

बागलुङ नगरपालिकामा उद्योगग्राम स्थापना हुने भएको छ । नेपाल सरकारले उद्योगग्राम स्थापनाका लागि सिफारिस गरेको सार्वजनिक जग्गा स्वीकृत गरेसँगै उद्योगग्राम स्थापनाको बाटो खुलेको हो । नेपाल सरकारले देशभरका सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने नीति बनाएर पालिकाका लागि प्रस्ताव आह्वान गरेको थियो । बागलुङ नगरपालिकाले सम्भावित जग्गाको अध्ययन गरी प्रदेश सरकारलाई जग्गाको विवरण पेश गरेको थियो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जग्गाको बाटो फुकाएको हो । तीनै तहका सरकारको सहकार्यमा उद्योगग्राम स्थापना गर्ने नीति सरकारले लिएको छ । नगर, प्रदेश र केन्द्रको निर्णयअनुसार बागलुङ–१३ कालाखोला बगरमा औद्योगिक ग्राम स्थापना गर्ने बाटो खुलेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

प्रस्तावित ठाउँमा औद्योगिक ग्राम बनाउन उपयुक्त भए नभएको बुझ्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वन मन्त्रालयलाई पत्राचार गरेको छ । वातावरणीय अध्ययन गरेर सकारात्मक पाइएमा विस्तृत परियोजना प्रस्तावको काम अघि बढ्ने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिनुभयो ।

“तीनै तहका सरकारको सहकार्यमा उद्योगग्राम निर्माण गर्दैछौँ”, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भन्नुभयो, “जग्गा स्वीकृत भयो अब डिपिआरको काम अघि बढ्छ ।” उद्योगग्राम स्थापना हुने क्षेत्रमा सडक, विद्युत्, फोहोर व्यवस्थापन, खानेपानीलगायतका पूर्वाधारको निर्माण सरकारले गर्ने मन्त्री लम्सालले बताउनुभयो ।

“चालू वर्षकै कार्यक्रममा बजेट छ केन्द्र र स्थानीय तहले पनि बजेटको व्यवस्था गरेका छन्”, लम्सालले भन्नुभयो, “व्यवसायीको हितका लागि उद्योग ग्राम उपयोगी हुने छ”, न्यूनतम शुल्क लिएर व्यवसाय सञ्चालन गर्न चाहनेका लागि जग्गा उपलब्ध गराइने उहाँले बताउनुभयो । उद्योगग्राम सञ्चालन कार्यविधि बनाएर त्यसको परिचालन हुनेछ ।

बागलुङ नगरपालिकाभित्र रहेका उद्योगधन्दा तथा कलकारखानालाई एकीकृतरूपमा औद्योगिक ग्राम निर्माण गरेर स्थापना गर्न नगरले करीब ८५ रोपनी जग्गा तयार पारेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । बागलुङ नगरपालिकाभित्र अहिलेसम्म औद्योगिक ग्राम नहुँदा जताततै अव्यस्थितरूपमा उद्योग तथा कलकारखाना सञ्चालन हुँदै आएका छन् ।

“अब उद्योग एकीकृत हुन्छन”् पौडेलले भन्नुभयोे, “आवश्यक पूर्वाधार निर्माणको काम तत्काल थाल्छौँ ।” उद्योगग्राम स्थापनाका लागि नगरपालिकाले लामो समय खर्चेर सार्वजनिक जग्गाको अध्ययन गरेको थियो ।

बागलुङकै ताराखोला गाउँपालिकाले पनि उद्योगग्राम निर्माणका लागि सार्वजनिक जग्गाको विवरण प्रदेश सरकारलाई पठाएको थियो । ताराखोला गाउँपालिकामा स्थापना हुने उद्योग ग्रामको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन भरको जनाएको छ । सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने भनिएको भए पनि बागलुङका दुई वटा पालिकाले मात्रै जग्गाको विवरण उपलब्ध गराएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE