एअर अरेबियाले १६१ जना नेपाली यात्रुलाई काठमाडौं ल्यायो

सरकारले २ भदौदेखि रोकेको उद्धार उडान एक सातापछि पुनः शुरु गरेको छ। आजबाट शुरु भएको यस्तो उडानमा संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहबाट एअर अरेबियाले १६१ जना नेपाली यात्रु काठमाडौं ल्याएको छ।

सरकारले ९ देखि १६ भदौसम्म उद्धार उडानको अनुमति दिएको पहिलो दिनमै एअर अरेविया समस्यामा परेका नेपाली लिएर काठमाडौं आएको हो। यो वायुसेवाले एउटा यात्रु र अर्को एक कार्गो उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।

विमानस्थलका अनुसार शारजाहबाट एअर अरेवियाको विमान साँझ पौने ५ बजे १६१ जना यात्रु लिएर आएको थियो भने ९ जना यात्रु लिएर फर्किएको छ।

सकारले उडान तालिका स्वीकृत गरेपछि विमानस्थल कार्यालयले भोलिका लागि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ।

विमानस्थल कार्यालयका अनुसार भोलि मलेसियन एअरले मलेसियाको क्वालालम्पुर, इत्तेहाद एअरवेजले युएईको अबुधावी, नेपाल एअरलाइन्सले साउदी अरबको रियाद, हिमालय एअरलाइन्सले साउदीकै दमाम र हिमालय एअरलाइन्सले नै चीनको चोङचिङ उडान गर्ने भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE