एरनेस्ट टेम्पी मनाङ मर्स्याङ्दीमा अनुबन्ध

ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले विदेशी खेलाडी एरनेस्ट टेम्पीलाई अनुबन्ध गरेको छ । गत सिजनको सहिद स्मारक ए डिभिजन लिग संकटाबाट खेलेका टेम्पीलाई मनाङले अनुबन्ध गरेको हो ।
मनाङले टेम्पीलाई नेसनल लिगका लागि अनुबन्ध गरेको जनाएको छ । तर, कोरोना महामारीका कारण नेसनल लिग हुने/नहुने टुंगो छैन । “टेम्पीलाई हामीले संकटाबाट दुई महिनाअगाडि अनुबन्ध गरेका हौं,” मनाङ मर्स्याङ्दी क्लबका महासचिव अनिल गुरुङले भने, “त्यतिबेला नेसनल लिग हुने सम्भावना थियो । यसै कारण उनलाई क्लबमा अनुबन्ध गरेका हौं । तर, लिग अनिनिश्चित भएको छ ।”
मनाङले टेम्पीलाई एड्भान्स पैसा दिएर नेसनल लिगका लागि अनुबन्ध गरेको महासचिव गुरुङले जानकारी दिए । उनले कुनै पनि प्रतियोगिता नहुँदा विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गर्न निकै गाह्रो भएको बताए । उनले भने, “यतिबेला क्लबलाई खेलाडी पाल्न निकै गाह्रो छ । हामीले महामारीको बेला पनि एड्भान्स पैसा दिएर खेलाडी अनुबन्ध गरेका छौं । कुनै प्रतियोगिता छैन ।”
मनाङले अन्य विदेशी खेलाडीहरुलाई भने स्वदेश फिर्ता गरिसकेको जनाएको छ । प्रतियोगिता भएको खण्डमा नेपाल फर्किने सम्झौतासहित अन्य खेलाडी स्वदेश फर्किएको उनले बताए । महासचिव गुरुङले हाल क्लबको सम्झौतामा रहेका खेलाडीलाई समेत पारिश्रमिक दिन कठिन भएको बताए । उनले समस्यामा परेका खेलाडीहरुलाई आर्थिक सहयोग गरे पनि सबैलाई पारिश्रमिक दिन कठिन भएको बताएका हुन् ।
WRITE COMMENTS FOR THIS ARTICLE