एशियन एमेच्योर चेस च्याम्पियनशिप २०१९ कात्तिक २२ देखि

नेपाल वुद्धिचाल सङ्घ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ‘मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनशिप–२०१९’ को आयोजना गर्ने भएको छ । आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय महासचिव बचन देउजाले जननेता मदन भण्डारीको स्मृतिमा आगामी कात्तिक २२ गतेदेखि २९ गतेसम्म काठमाडौँको बुढानिलकण्ठमा प्रतियोगिता हुने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा हुने प्रतियोगितामा करीब ३० राष्ट्रका १०० भन्दा बढी खेलाडीको सहभागिता रहने र स्वीस लिग प्रणालीअनुसार नौ चरणसम्म खेल सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । विभिन्न विधाका कूल ३७ खेलाडीलाई कूल १३ हजार ५०० अमेरिकी डलर बराबरको पुरस्कार वितरण गरिने भएको छ । प्रतियोगितामा दुई हजार १०० भन्दा कम रेटिंग भएका तथा अधिकतम फिडेमास्टरसम्मको उपाधि प्राप्त खेलाडीले मात्र सहभागी हुन पाउने छन् ।

कूल रु दुई करोड ३० लाख ३१ हजारलागत अनुमान गरिएको यो प्रतियोगितामा नेपालसहित भारत, चीन तथा अफगानिस्तानका अन्तर्राष्ट्रिय ‘आर्बिटर’ले निर्णायक भूमिका निर्वाह गर्ने महासचिव देउजाले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने र विश्वभरका चेस खेलाडी तथा चेसप्रेमीको ध्यानाकर्षण हुने आयोजकले विश्वास व्यक्त गरेका छन् ।

यसअघि मदन भण्डारी स्पोर्ट्स एकेडेमीले मदन भण्डारी स्मृति ओपन, टिम तथा राउण्ड रोविन चेस प्रतियोगिता सम्पन्न गरिसकेको छ । यसप्रकारको प्रतियोगिता विगतमा सन् २०१५ र सन् २०१७ मा आयोजना भइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE