एसईई सर्टिफिकेट कसैले सित्तैमा दिएको उपहार हैन, परिश्रम र याेग्यताकाे प्रमाण हो

एसईई परीक्षामा उत्तीर्ण सम्पूर्ण भाइबहिनीहरूलाई बधाई !

तपाईंहरुलाई भविष्यमा कसैले “सजिलै नम्बर पाउने व्याच” वा “कोरोना सर्टिफिकेट” भनेर मूल्याङ्कन गर्ला भन्ने डर छ भने सो डर मनमा राखेर हिनताबाेध गर्नु पर्दैन । यो सर्टिफिकेट तपाईंहरू १०-१५ वर्ष विद्यालय गएर पढेको परीश्रमको प्रमाण हो, कसैले सित्तैमा दिएको उपहार हैन ।

तपाईंको सही मूल्यांकन भयो-भएन त्यो अर्कै पाटो, तर तपाईंहरू समाजमा चल्दै आएको घोडा, चरा र कमीला एकैपटक दौडाउने “खिचडी दौड प्रतियोगिता” मा सहभागी हुनु परेन । यस अर्थमा तपाईंहरूलाई फेरि पनि बधाई।

लेखक: नरेश ढकाल

तर याद राख्नुस्, एसईई सर्टीफिकेटले मात्र तपाईंहरूको भविष्य निर्धारण गर्ने छैन । जीवनमा धेरै खालका परीक्षाहरूमा सहभागी हुनुपर्छ । सफल-असफल नाप्ने समाजको तराजुमा विश्वास नगर्नु, किनकि त्यो धेरै पुरानो भैसक्यो । समाजले डाक्टर, इन्जिनियरलाई मात्र सफल भन्ला तर तपाईंहरूलाई आफुलाई रहर लागेको विषय पढ्ने र त्यहि क्षेत्रमा काम गर्ने पूर्ण अधिकार छ । त्यसैले समाजबाट वाह! वाह! पाइएन भनेर विचलित नभई आफ्नो लक्षतर्फ अगाडि बढ्नु ।

समाजको यो सोचको भाइरसले तपाईंका अविभावकलाई पनि समातेको हुन सक्छ । सजिलो त हुन्न, तर पहिले आफू राम्राेसँग बुझ्नु अनि विरोध नगरी शान्त भएर बुझाउनु । तर याद राख्नु, स्वतन्त्रताको अर्थ “छाडापन” भने हैन । अगाडिका दिनहरूमा पढ्न सजिलो हुने विषय छान्ने हैन, आफ्नो उद्देश्य पूरा गर्ने खालका विषय छनौट गर्नु । मेवाको रुख काटेर छाप्रो सम्म बन्ला, तर घर बन्दैन । पढ्न गाह्रो होला भन्ने डरले वा अरुको करले छानेको विषयले तपाईंलाई जहाँ लैजान्छ, त्यो स्थान महान् देखिएता पनि अत्यन्त कष्टकर हुनेछ । संघर्ष नगर्नेलाई आज सम्म सफलता प्राप्त भएको कुनै रेकर्ड छैन । अर्को कुरा, रहर लागेर पढ्दा कुनै विषय गाह्रो हुन्नन् ।

आफ्नाे प्रतिभा पहिचान गरी साे क्षेत्रमा लाग्दा दक्षता अनि लक्ष हाँसिल गर्न धेरै सहज र सरल हुन्छ ।  समय सँग माग गर्ने मानिस बेरोजगार होलान् तर समयले माग गर्ने मानिसहरू कहिल्यै वेरोजगार हुनु पर्दैन । तपाईंको एक पुस्ताले आफ्नो सोच बदल्न सक्यो भने समाजको सोचमा झुन्डिएको त्यो खिया लागेको तराजुको ठाउँमा अर्को आधुनिक तराजु आउनेछ ।

जुनसुकै क्षेत्रमा होस्, व्यक्ति सफल हुन निम्न गुणहरू भने अनिवार्य चाहिन्छ :

१  सकारात्मक सोच

२  सिकाईका लागि तत्परता

३  क्षमताको पहिचान र बृद्धि

४  समयानुकूल निर्णय

५  कामको प्राथमिकता निर्धारण

६  अनावश्यक प्रस्तावलाई अस्वीकार गर्ने बानी

७ असल संगत

८  धैर्यता र सहनशीलता

संसारमा तिनै व्यक्ति सफल भएका छन्, जसमा यी गुण छन् । सफल बन्न चाहने व्यक्तिले कहिल्यै आफ्नो परिस्थिति, वाध्यता वा गरिबीलाई असफलताको कारण मान्दैनन् । हरेक असफलताको कारण तपाईं आफैँ हो । समय त लाग्ला तर तपाईंको परिस्थिति तपाईंले नै आफू अनुकुल बनाउने हो । नपत्याए चिया बेच्ने मान्छे प्रधानमन्त्री भएका, पत्रिका बेच्ने मान्छे विश्वको धनी मान्छे भएका, मागेर पेट पाल्ने व्यक्ति विश्व प्रसिद्ध संगीतकार-गायक भएका आदि हजारौँ दृष्टान्त पल्टाएर हेर्नुहोस् ।

आजकल तपाईंको पुस्ताका अधिकांश बालबालिकाहरूमा आफू भन्दा ठूलाले भनेको सुन्न सक्ने धैर्यता छैन । उनीहरूको कुरा सबै सहि त नहोलान् तर त्यसले तपाईंहरूलाई समाज, मानिस र दुनियाँ बुझ्न सजिलो हुनेछ; भविष्यमा तपाईंहरूबाट हुनसक्ने ठूला गल्ती र दुर्घटनाबाट जोगिन मदत मिल्नेछ । याद राख्नुहाेस्, उमेरले हैन, सिकाई र अनुभवले मात्र मान्छेलाई परिपक्व बनाउँछ ।

तपाईंका लागि त्यही बाटो सहि हो, जुन बाटोमा हिँड्दा तपाईंलाई खुसी, आत्मसन्तुष्टि र आत्मसम्मान मिल्छ । र अन्ततस् सफलताको अर्थ पनि यहि नै हो ।

WRITE COMMENTS FOR THIS ARTICLE