एसएसपी नै यात्रु बनेर गएपछि…

सार्वजनिक यातायातको अवस्था बुझ्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल आज अपराह्न सादा पोशाकमा सार्वजनिक सवारीमार्फत काठमाडौँका विभिन्न क्षेत्र घुम्नुभयो ।

उहाँले सार्वजनिक सवारीको चालकका गतिविधि, सहचालकले यात्रुप्रति गर्ने व्यवहार गाडीको अवस्था, भाडा र आरक्षणको प्रयोगबारे गाडीको यात्रा गरेरै अनुगमन गर्नुभयो । ट्याक्सी चालकले गर्ने व्यवहारदेखि सडकमा ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा गरेको गतिविधि पनि उहाँले नियाल्नुभयो ।

“हरेक दिनजसो नै सर्वसाधारणबाट गुनासो आउन थाल्यो, कसैले आरक्षण सिट पाएन, कसैले सहचालकले गाली ग¥यो, कसैले जथाभावीरूपमा ओराल्यो भनेर पटक–पटक गुनासो आइरह्यो, त्यसैले अवस्था के रहेछ त भनेर बुझेँ”, ढकालले रासससँग भन्नुभयो ।

आज अपराह्न करीब २ बजेको थियो । सिमसिम पानी परेकाले मौसम चिसो थियो । उहाँले काठमाडौँको पुतलीसडक, बानेश्वर, रत्नपार्कलगायत क्षेत्रमा सार्वजनिक सवारीमा चढेर यात्रा गर्नुभयो । कहिले सार्वजनिक बस त कहिले ट्याक्सीमा चढेर चालकको आनीबानी, यात्रुलाई गर्ने व्यवहार र भाडा दरबारे नजिकबाट नियाल्नुभयो ।

“विगतको भन्दा सार्वजनिक यातायात धेरै सुध्रिएको देखियो, तर अझै समस्या भने कायमै छ”, एसएसपी ढकालले अनुभव सुनाउनुभयो । यतिले मात्रै पुग्ने नदेखिएको भन्दै अझै धेरै गर्न बाँकी रहेको उहाँले प्रतिक्रिया दिनुभयो । ढकालका अनुसार सार्वजनिक सवारी साधानको सिट घुँडा राख्न नमिल्ने गरी साँघुरो पाइएको छ । ट्याक्सी चालकले हत्तपत्त मिटरमा नजाने गरेकोसमेत पाइएको उहाँले बताउनुभयो ।

रत्नपार्कबाट उहाँले प्रदेश ३–०१००२ ज ५९९७ लेखेको ट्याक्सी चढ्नुभयो । “सिंहदरबारसम्मको कति भाडा”, उहाँले सोध्नुभयो । “त्यही दुई सय जति दिनुस् न मिलाएर”, चालक रामेछापका केशव श्रेष्ठले जवाफ फर्काउनुभयो । “यति नजिक पनि २०० मिटर छैन”, उहाँले फेरि सोध्नुभयो । “भए पनि थोरै पैसा उठ्छ नि सर, त्यही भएर”, चालकको जवाफ आयो ।

एकछिन कुरा गरेपछि चालकले मिटरमा जाने भए मिटर पनि लगाउँछु भन्दै मिटरअन गर्न पुगे । अन्ततः मिटरमा रु ६० उठ्यो । ढकालले पैसा तिरेर आगामी दिनमा यसरी बढी भाडा नभनी मिटरमा जान चेतावनी दिनुभयो । अनुगमनका क्रममा यात्रुलाई सहचालकले गर्ने व्यवहार राम्रो नभएको देखिएको र यात्रुलाई बस्नसमेत सकस भएको पाइएको बताउँदै यसलाई नियन्त्रणका लागि आवश्यक पहल गरिने प्रतिक्रिया दिनुभयो ।

पैसा लिएपछि यात्रुलाई त्यही अनुसारको सेवासुविधा दिन सक्नुपर्छ, सरसफाइ र सिटको सहज व्यवस्था गर्नुपर्छ, यसतर्फ अझै ध्यान नपुगेको पाइएको उहाँले बताउनुभयो । धेरै ट्याक्सीले मिटरमै गएको पाइए पनि छोटो यात्रामा भने मिटरमा जान नमान्ने गरेको समेत उहाँले बताउनुभयो ।

उहाँका अनुसार यात्रुलाई यात्राका समयमा एउटा समस्या हो तर चालकले ट्राफिक नियम पालना नगरेका कारण दुर्घटना बढ्ने अर्काे जटिल समस्या छ । नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिने प्रहरीको अनुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE