ओभरसियरको जागिर छोडेका तमोट भाषासंस्कृतिका ज्ञाता

भोजपुरका अगुवा भाषासंस्कृति तथा इतिहासविद् काशीनाथ तमोट भोजपुरको टक्सारमा जन्मेर भोजपुरकै विद्योदय माविबाट एसएलसी उत्तीर्ण गरी छात्रवृत्ति पाएर इञ्जिनीयरिङ पढ्न काठमाडौँ हानिनुभयो । तत्कालीन समयमा जाउलाखेलको स्टाफ कलेजमा रहेको इञ्जिनीयरिङ कलेज (पछि पुल्चोक क्याम्पस)बाट ओभरसियर पास गरी कामका सिलसिलामा सुदूरपश्चिम पुगे पनि प्राविधिक क्षेत्रतिर त्यति रुचि नभएकाले नेपाली विषयमा स्नातकोत्तर गरी प्राध्यापनतिर लाग्नुभयो । नेपाली विषय पढ्नुभयो तर स्वअध्ययनले पाटन क्याम्पसमा नेपाल भाषा पढाउने जिम्मेवारी पाउनुभयो । भाषा, संस्कृति, साहित्यतिर झुकाव भएका तमोटले यी क्षेत्रमै प्राध्यापन, स्वअध्ययन, अनुसन्धान गरी नेपाल भाषाकै विज्ञ पनि बन्नुभयो ।

विसं २०२० मा काठमाडाँै आउनुभएका तमोटको त्यो अध्ययन अनुसन्धानको क्रम विसं २०६४ मा पाटन क्याम्पसको सहप्राध्यापकबाट अवकाश प्राप्त गरेपछि पनि रोकिएको छैन । उनै अध्ययनशील तमोटसँग भोजपुरको पुरानो इतिहास, संस्कृतिलगायत देशकै इतिहास, नेवारी संस्कृतिबारे हालै राससका प्रमुख समाचारदाता तीर्थ भट्टराईले उहाँकै निवास शान्तिनगर, काठमाडौँमा गर्नुभएको कुराकानीको सम्पादित अंश :

यहाँको जन्म र पारिवारिक स्थितिबारे बताइदिनुहुन्छ कि ?

– म विसं २००१ पुस १९ गते भोजपुरको टक्सार खिकामाछामा जन्मेको हुँ । यो प्रदेश नं १ को भोजपुर नगरपालिका वडा नं ९ मा पर्दछ । मेरा पिता सुकदेव तमोट र आमा हर्कमाया तमोट हुनुहुन्छ । हाम्रा पुर्खा लगभग १५० वर्षअघि पाटनबाटै गएका हुन् । त्यो बेलै भोजपुरमा धातु उद्योगको विकास भएकाले त्यहाँ गएका थिए । विसं २००७ अगाडि नेपालको पूर्वमा भोजपुर र पश्चिममा पाल्पामा मात्र धातु उद्योगको विकास भएको थियो । यो एक औद्योगिक केन्द्रजस्तै थियो । विसं २०१७ सम्मै यस्तै थियो । पछि तराईमा औलो उन्मूलन भएपछि र भोजपुरमा यातायातको अभाव र बसाँइसराइले गर्दा भने यो स्थिति रहेन ।

यहाँले कहाँबाट शिक्षा हासिल गर्नुभयो ? के विषय अध्ययन गर्नुभयो ?

– मैले भोजपुर टक्सारको विद्याधरी प्राइमरी स्कूल र विद्योदय माविमा पढेर एसएलसी पास गरेँ । त्यसपछि छात्रवृत्ति पाएर काठमाडौँ आई जाउलाखेलस्थित इन्जिनियरिङ कलेजमा ओभरसियर पढेँ । त्यसपछि कञ्चनपुर र डडेल्धुरामा चार वर्ष ओभरसियरको काम गरेँ । कामको सिलसिलामा बैतडी र दार्चुलामा पनि गएँ । त्यसपछि काठमाडौँ आएर प्राइभेट पढेरै आइएदेखि एमएसम्म पास गरेँ । नेपाली विषयमा एमएको रिजल्ट हुँदा साहित्यकार बालकृष्ण पोखरेलपछि दोस्रोमा मेरै नाम थियो । तर उहाँसँग भेट र सङ्गत भने त्यत्ति भएन ।

यहाँले बाल्यकालमा देख्नुभएको भोजपुर कस्तो थियो ?

– दशवर्षसम्म त खेलेरै बित्यो । एघार वर्षमा बल्ल अक्षर चिनेँ । चाडपर्वमा रमाइलो हुन्थ्यो । कक्षा १ देखि ३ सम्म राम्ररी पढेँ । परीक्षामा पहिलो–पहिलो नै हुन्थेँ । विसं २०१९ मा द्वितीय श्रेणीमा एसएलसी पास गरेपछि काठमाडौँ आइहालेँ । अरु त्यति अनुभव गर्न पाइएन ।

भोजपुरमा राजनीतिक जागरण कस्तो थियो ?

– राजनीतिक जागरण एकदमै राम्रो थियो । यहाँ विसं २००४÷०५ देखि नै राजनीतिक गतिविधि हुन्थे । दानबहादुर शाक्य, खड्गबहादुर कार्की, दानबहादुर कार्की आदि सक्रिय थिए । शाक्य कालीगढ सङ्घका अध्यक्ष थिए । यो कालीगढ सङ्घले सहकारीकै जस्तो काम गथ्र्यो र यो नेपालकै पहिलो सहकारी पनि हुनसक्छ । यसको लिखित प्रमाण म खोजिरहेको छु । दानबहादुर शाक्यपछि अञ्चलाधीशसम्म भए । टक्सारका केदारनाथ श्रेष्ठ वामपन्थी आन्दोलनका अगुवा थिए । उनी किसान सङ्गठनमा थिए । त्यस्तै, त्यही बेला यहाँ महिला सङ्गठन पनि थियो । केदारनाथ र मेरी फूपू बालकुमारी ताम्राकारको विसं २०१० मा जनवादी विवाह भएको थियो । यो सम्भवतः नेपालकै पहिलो जनवादी विवाह पनि हुनसक्छ ।

त्यसबखत मनमोहन पनि हुनसक्ने मेरो अनुमान छ । किनकि त्यसबखत मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ पनि टक्सारमा आउने जाने गर्नुहुन्थ्यो । मेरा दाजु सूर्यलाल प्रधान राजनीतिकरूपमा सचेत भएकाले मनमोहन पनि मेरो घरमा आउनुहुन्थ्यो । तर पछि राजनीतिक कारणले नै उहाँ विदेशिनुभयो । सिक्किमको रिनाकमा घरजम गरी पछि जोरथाङमा सर्नुभएको थियो । उहाँ हालै उतै बित्नुभयो । केदारनाथ पनि इलाममा छोरीको घरमा बित्नुभयो ।

टक्सारमा किसान सङ्घर्ष पनि हुन्थे । भोजपुर बजारको तुलनामा टक्सारमा सरकारको आँखा नपर्ने हुनाले यहाँ विभिन्न गतिविधि हुन्थे । खड्गबहादुर कार्की भने विसं २०१५ को निर्वाचनमा भोजपुरबाट निर्वाचित भएका थिए । दानबहादुर कार्की अर्का सक्रिय नेता थिए । उनीहरु दाजुभाइ ‘दाख’ भनिने जोडीजस्तै थिए । विसं २०१५ को आम निर्वाचनमा भने भोजपुरबाट उत्तरी क्षेत्रबाट नेपाली कांग्रेसका देवानसिंह राई, मध्यक्षेत्रबाट खडगबहादुर कार्की र दक्षिणी क्षेत्रबाट भुइँदल राई निर्वाचित भएका थिए ।

भोजपुरको शिक्षाको स्तर कस्तो थियो ?

– भोजपुरमा शिक्षाको लहर विसं २००७ अघि नै पुगेको थियो । राणाकालमै टक्सारमा भाषा पाठशाला आदि खुलिसकेका थिए । दानबहादुर, खड्गबहादुर कार्कीले टक्सारमा विद्याधरी प्राइमरी स्कूल खोलेका थिए । भोजपुर बजारमा उदय प्राइमरी स्कूल खुलेको थियो । दुइवटै मिलाएर विसं २००८ मा विद्योदय मावि स्थापना भएको थियो, भोजपुर बजार र टक्सारको बीचमा । टक्सारमा विद्याधरी पुस्तकालय पनि स्थापना भएको थियो । टक्सारमा रणध्वज कार्कीले पशुपतिजस्तै रणेश्वर महादेव मन्दिर बनाउने र धेरै समाज सेवाको काम गर्नुभएको थियो । त्यो मन्दिर बनाएको यस वर्षको शिवरात्रिमा १०० वर्ष पुग्दैछ ।

भोजपुरमा पढेलेखेका मान्छे धेरै थिए । पूर्वाञ्चलमै राम्रो स्थिति थियो । दिड्लामा त विसं १९३२ देखि नै षडाननले संस्कृत पाठशाला स्थापना गर्नु भएकाले चेतनाको स्तर माथि थियो । टक्सारमा केदारनाथ श्रेष्ठले भोजपुरकै पहिलो हस्तलिखित पत्रिका ‘विद्यार्थी’ विसं २००८ मा निकाल्नुभएको थियो । त्यसमा उहाँका विद्रोही खालका रचना प्रकाशित हुन्थे ।

प्रजातान्त्रिक आन्दोलनमा नेपालभरमै सर्वप्रथम भोजपुर कब्जा भएको थियो भनिन्छ, त्यसमा को–को सक्रिय थिए ?

– त्यो बखत आफू सानै भएकाले त्यति थाहा भएन तर रामप्रसाद राई, नारदमुनि थुलुङ आदि सक्रिय थिए । पछि कृष्णप्रसाद भटृराई, बिपीहरु पनि टक्सार आउने गरेको थाहा छ ।

रामप्रसाद राई कस्तो व्यक्तित्व हुनुहुन्थ्यो, उहाँका योगदान के–के हुन् ? उहाँ कसरी बेपत्ता हुनुभयो ?

– उहाँले के कस्ता गतिविधि गर्नुभयो भन्ने आफ्नो उमेरले थाहा पाउने स्थिति थिएन । पछि मात्र उहाँको योगदान धेरै थियो भन्ने बुझियो ।

प्रजातान्त्रिक आन्दोलनमा नारदमुनी थुलुङको के कस्तो योगदान रहेको छ ?

– उहाँले हरेकसँग सम्पर्क गर्ने, विद्यालय खोल्ने आदि गतिविधि गर्नुहुन्थ्यो । भोजपुर बजारको उदय प्रावि उहाँले नै खोल्नुभएको थियो । राजनीतिक गतिविधि भने त्यति थाहा भएन ।

विगतमा टक्सार बजार कसरी समुन्नत भएको थियो ? र हाल किन उजाडिँदै गयो ?

– राणाकालमा पहाडमा नै धेरै चेतना थियो, तराईमा केही पनि थिएन । भोजपुर पूर्वकै केन्द्र थियो । उद्योग, कलकारखानामा भोजपुर पूर्वी नेपालकै केन्द्र थियो । भोजपुर, खोटाङ, ओखलढुङ्गा आदिका लाहुरे हिँड्ने बाटो र फर्कँदा टक्सारमा भाँडाकुँडा किनेर फर्कने व्यापारिक केन्द्र नै थियो । त्यसबखतमा धरान विराटनगरमा केही पनि थिएन । सबैका लागि भाडावर्तन महत्वपूर्ण हुन्थ्यो, सोलु, ओखलढुङ्गा आदिबाट पनि टक्सारमा भाँडाकँुडा किन्न आउँथे । किमाथाङ्का, ओलाङचुङगोलातरबाट पनि घोडा लिएर आउँथे । यहाँका भाँडाकुँडा पूर्वमा सिक्किम दार्जिलङसम्म र पश्चिममा धुलिखेलसम्म पुग्थे । विनिमय व्यापार हुन्थ्यो ।

विराटनगरमा औलो उन्मूलनपछि भने भोजपुर उजाडियो । पछि भने यहाँका उद्योगी मानिस अन्यत्र सरे । देवबहादुर हलुवाईले धरानमा गएर नेपालकै पहिलो धातु उद्योग खोले । यसको नामा डिके मेटल इन्डस्ट्री थियो । यो बन्नुभन्दा अघि तामा, पित्तल आदि धातु कलकत्ताबाट आउथ्यो । यो देवबहादुर र कृष्णबहादुर हलुवाइले खोलेका थिए । त्यहीँकै पूर्णबहादुर ताम्राकारले काठमाडौँमा हाँडीगाउँ नजीक गुह्येश्वरी मेटल इन्डस्ट्री खोले । उनी नेपाली काङ्ग्रेस नेता रामकृष्ण ताम्राकारका पिता हुन् । सिद्विबहादुर ताम्राकारले पाटनमा धातु उद्योग खोले । धरानमा विसं २०१०÷१२ तिर खोलेको डिके इन्डस्ट्री अहिले भने छैन ।

आवाल ब्रम्हचारी षडाननको जन्मस्थल र विगतमा राजनीतिक र शैक्षिक जागरणको केन्द्र रहेको भोजपुर पछि कसरी पिछडिँदै गयो ?

– भोजपुर र टक्सारमा अलग्गै र दिङ्लामा अलग्गै संस्कृतप्रधान शिक्षाको विकास भएको थियो । पछि तराईतिर पनि विकास हुन थालेपछि बसाँइसराइ भयो । भोजपुरकै मानिसले अन्यत्र मौका पाए । यसपछि भोजपुर पिछडिन थाल्यो ।

भोजपुरलाई सगरमाथा अंचलबाट कोशी अंचलमा गाभिनुको कारण के थियो ?

– सगरमाथामा हुँदा अञ्चलस्तरीय कार्यालय भएकाले घरेलु उद्योगको विकास भएको थियो । पछि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका कारण पनि केही कार्यालय, उद्योग धनकुटा गए भने केही खोटाङमा गए । सगरमाथामा हुँदा भोजपुर नै मुख्य स्थान थियो ।

यहाँ कहिले काठमाडौँ आउनुभएको थियो र के पेशा लिनुभयो ?

– म २०२० सालमा काठमाडौँ आएर ओभरसियर पढेर चार वर्ष सुदूरपश्चिममा काम गरेँ । पछि प्राइभेटबाट नेपालीमा एमए पास गरी नेवारी भाषा जान्ने भएकाले पाटन क्याम्पसमै नेपाल भाषा पढाउन थालेँ । विसं २०३२ देखि पढाउन थालेर २०६४ मा अवकास हुँदासम्मै पढाएँ । यही बीचमा भाषा साहित्यको गतिविधिमा लागेँ । नेवारी भाषाको शब्दकोष पनि बनाएँ र नेपाल भाषाको विज्ञ बनेँ ।

विदूषी योगमाया भोजपुरकै गौरव हुनुहुँदोरहेछ, उहाँ जिल्लामा कत्तिको चर्चित हुनुहुन्थ्यो ?

– जिल्लामा उहाँको चर्चा नै थिएन । पछि एक विदेशी लेखिकाले लेखेपछि मात्र उहाँको योगदानबारे थाहा भयो ।

यहाँ नेपाल भाषाको प्राध्यापक पनि हुनुहुन्छ, भोजपुर र टक्सारमा बोलिने नेपाल भाषा काठमाडौँसँग कत्तिको मेल खान्छ ?

– काठमाडौँ र पाटनको भाषा खासै छुट्याउन सकिँदैन । टक्सारको पनि त्यही नै हो । तर भक्तपुर, धुलिखेल र दोलखाको फरक छ । टक्सारमा पाटनकै संस्कृतिअनुसार गरिन्छ ।

काठमाडौँ र भोजपुरको नेवारी संस्कृतिमा कत्तिको समानता छ ?

– जात्रापर्व पाटनकै मनाइन्छ । तर इन्द्रजात्राको ठाउँमा भीमसेनजात्रा मनाइन्छ । टक्सारमा बौद्व देवता विद्याधरीको स्थापना गरिएको छ । नेवार जहाँ गए पनि भीमसेन स्थापना गरेकै हुन्छन् । थेरवादी बौद्व धर्मावलम्बीको नेपालमै पहिलो विहार पनि टक्सारमै छ । यो विसं १९९३ मा स्थापना भएको हो । शाक्यमुनि विहार भनिने यो विहार महाप्रज्ञाले स्थापना गर्नुभएको हो । महाप्रज्ञा आफ्ना शिष्य अमृतानन्द महास्थवीरको घर टक्सारमा आइरहनुहुन्थ्यो । टक्सार भोजपुरको करुवा नेपालमै प्रसिद्व भएकाले यसको प्रतिकस्वरुप टक्सारमा विश्वकै सवैभन्दा ठूलो करुवा स्थापना गरिएको छ । यसलाई खिकामाछा टक्सार महोत्सवका बेला २०७२ मा सो बखतका प्रमुख अतिथि उपप्रधानमन्त्री भीम रावलले उद्घाटन गर्नुभएको थियो । यो ३५० किलो तौल र छ फिट छ इन्च.उचाइको रहेको छ । यसैगरी महोत्सवकै क्रममा तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले टक अर्थात् पैसाको स्तम्भ पनि उद्घाटन गर्नुभएको थियो ।

टक्सार र भोजपुरको नाम कसरी रहन गएको हो ?

– टक्सारमा श्री ५ गिर्वाण युद्घविक्रम शाहका पालादेखि नै टक अर्थात् पैसा काटिने भएकाले टक्सार भनिएको हो । यसको कार्यालय विसंं १८७२ मा खानी अड्डा स्थापना भएको थियो । धोद्लेखानीलगायतका गाउँबाट तामा उत्खनन गरी ल्याएर पैसा काटिन्थ्यो । यहाँ प्रशासनिक, धातुसम्बन्धी, अलैँचीको व्यापार गर्ने र भन्सार आदि कार्यालय थिए । पछि धेरै कार्यालय भोजपुर बजार सरे । भोजपुर भने पृथ्वीनारायणका सेनाले विजय गरेपछि भोजपुरस्थित डवलीमा ठूलो भोज खाएकाले भोजपुर भनिएको हो भनिन्छ ।

यहाँका कृतिहरु के के रहेका छन्, ती के विषयमा छन् ?

– मैले भाषा, पुराना ग्रन्थ र साहित्य आदिबारे लेखेको छु । मैले लेखेका महत्वपूर्ण किताबमा शङ्खधरकृत नेपाल संवत्, नेपाल मण्डल आदि हुन् । नेपाल मण्डलमा १२ जिल्ला पर्दछन् । अहिलेको प्रदेश नं ३ मा यी बाहेक चितवन पनि थपिएको छ । हामीले २० वर्ष अगाडि नेपाल मण्डलको आन्दोलन शुरु गरेका थियौँ । म नेपाल मण्डल अनुसन्धान गुठीको अध्यक्ष पनि छु । मैले नेपाल भाषाको शब्दकोष पनि बनाएको छु । म नेपाली बृहद शब्दकोष निर्माण गर्ने समितिमा पनि सदस्य थिएँ भने त्रिविको नेपाल भाषा विषय समितिको अध्यक्षको रुपमा पनि काम गरेको छु ।

हाम्रो लिखित इतिहास कहिलेदेखि शुरु हुन्छ, यहाँको अध्ययन के छ ?

– इसं १८५ को जयवर्मा कालको मालिगाउँमा प्राप्त कुसान व्राम्ही लिपिको शिलालेखले नेपालको इतिहासलाई मानदेवभन्दा पहिले दोस्रो शताब्दीमा पु¥याएको थियो भने इश्वी पूर्व तेस्रो शताब्दीको अशोक व्राम्ही लिपिको चावहिलमै प्राप्त शिलालेखले ५०० वर्ष अगाडि पु¥याएको छ । यो भनेको किराँतकाल नै हो । यसमा ‘चारुवती थुप’ लेखिएको छ । यसको अर्थ चारुमती स्तूप हो ।

नेपाल संवत् कसरी स्थापना भएको हो ? के नदीबाट सुन बटुलेर ऋण तिर्न सम्भव छ ?

– शंकुदत्त साहुले पैसा कमाएर ऋणमोचन गरेको कुरा बालुवासँग जोडिएको छ । यो कथा भए पनि तिब्बतको तन्जुर ग्रन्थमा रेकर्ड भेटिएको छ । तिब्बतमा यस्तै अर्को कन्जुर ग्रन्थ पनि छ । नेसं २५१ मा श्रीसेनले ८४ सिद्घको जीवनी लेखे । त्यसलाई ऋणमोचन भएको २५१ वर्षमा भएको भनिएको छ । शंकुदत्तलाई संखुवा, शंखधर पनि भनिएको छ । पशुपतिमा पनि नेसं ७६६ को शिलापत्र पाइएको छ । यसैले प्रामाणिक नै मानिएको छ ।

नेपालको इतिहासमा अध्ययन हुन बाँकी कुराहरु के होलान् जस्तो लाग्छ ?
– अध्ययन भइरहेकै छ । समग्ररुपमा जोड्न भने बाँकी छ । पहिले वंशावलीको रुपमा मात्र थियो भने अब तथ्य–तथ्याङ्कको रुपमा आइसकेको छ । तर अहिलेको शिक्षा भने यसलाई उपयोग गर्न र अनुसन्धान लेखनतिर जान सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE