काेराेना कहरसँगै अमेरिकामा अर्को विपद्, दुइटा राज्यमा पस्याे सामुद्रिक आँधी

अमेरिकामा कोरोना महामारीकै बीच अर्काे विपद् आइपरेको छ। त्यहाँका दुइटा राज्यमा सामुद्रिक आँधी प्रवेश गरेकाे हाे।
बीबीसीका अनुसार हाना नामको सामुद्रिक आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगस्थित पड्री टापुमा शनिबार बज्रिएको हो।
जसले अहिले कोर्पस क्रिस्टी र ब्राउन्सभिल सहरबीचमा प्रभाव पारिरहेको छ। अधिकारीहरूले त्यस भेगमा घातक आँधी र ठूलो वर्षा आउने चेतावनी दिएका छन्।
प्रतिघण्टा १४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरका छाना उडाएकाे छ।
न्यासनल हुरिक्यान सेन्टर (एनएचसीले) घातक आँधी टेक्ससको तटमा पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलिने भन्दै स्थानीयलाई सचेत गराएको छ।
यस्तै डोग्लास नामको अर्काे सामुद्रिक आँधी प्रतिघण्टा १४५ किलोमिटरकै वेगमा प्रशान्त क्षेत्रको हवाईतर्फ आइरहेको एनएचसीले जानकारी दिएकाे छ।
आँधीले ह्युस्टन क्षेत्रको धेरैजसो भाग छोएर जाने ह्युस्टन क्रोनिकल पत्रिकाले जनाएकाे छ। तटीय क्षेत्रका बासिन्दालाई बाढीको जोखिम रहेकाले घर छाड्न भनिएकाे छ र साथमा मास्क नछुटाउन सुझाव दिइएकाे छ।
कोरोना महामारीबाट पनि सबैभन्दा बढी अमेरिका नै पीडित छ।
वर्ल्डओमिटरका अनुसार आइतबार बिहान साढे १० बजेसम्म अमेरिकामा ४३ लाख १५ हजार ७ सय ९ जनालाई कोरोना संक्रमण भइसकेको छ।
तीमध्ये १ लाख ४९ हजार ३९८ जनाको ज्यान गइसकेको छ। संक्रमितमध्ये अहिले २० लाख ६१ हजार ६९२ जना मात्र निको भएका छन्।
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफ्नो प्रशासनले यस विषयमा दुवै राज्यसँग समन्वय गरी सुरक्षा तथा उद्धारको काम गर्ने जानकारी दिएका छन्।
My Administration is closely monitoring Hurricane Douglas off Hawaii & Hurricane Hanna, which has now made landfall in Texas. We continue to coordinate closely with both states — listen to your emergency management officials @Hawaii_EMA & @TDEM to protect your family & property! https://t.co/tFxHLSqcBE
— Donald J. Trump (@realDonaldTrump) July 25, 2020
WRITE COMMENTS FOR THIS ARTICLE