के भन्छन् नेताहरु : कालापानी र लिपुलेक विवाद बारे

कालापानी र लिपुलेक हाम्रै हो, भारतको नयाँ नक्सा हामीलाई मान्य छैन : अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको कुरा नेपाललाई सह्य नहुने बताएका छन । लिपुलेक, कालापानी नेपालकै भएको उनले दाबी गरे ।पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले यस विषयमा आफूले विरोध जनाउँदै आएको बताए। आगामी मंसिर १४ मा कास्की क्षेत्र नम्बर २ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनलाई सम्बोधन गर्न पोखरा आएका दाहालले पत्रकार सम्मेलनमा बोल्दै लिपुलेकको विषयमा सरकारले पनि सम्बोधन गरिसकेको बताए।

‘नेकपा पार्टी र सरकार दुवैले आपत्ति जनाएको छ। दुवैको धारण आइसक्यो,’ दाहालले भने, ‘हिजो मात्रै पनि मैले नेपालगञ्जमा गरिएको पत्रकार सम्मेलनमा यही विषयमा बोलेको थिए। आज त सरकारले पनि कुटनीतिक रुपमा बोलिसकेको छ। तत्कालीन अवस्थामा पनि भारत र चीन दुई मुलुकबीच भएको सम्झौतामा लिपुलेक भारतको भन्ने जानकारी आएको थियो। त्यसबेला म भारत भ्रमणमा नै थिए। तत्काल मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा हाम्रो आपत्ति छ। कुनै हालतमा पनि हामीलाई मान्य छैन। तत्काल पुर्नविचार गरियोस भनेको हुँ। अहिले फेरि नयाँ नक्सामा कालापानीसहित समेटेर निकालेको रहेछ। हाम्रो घोर आपत्ति छ।’
उनले नेपाल नै भारतभित्र पार्नु कदापी मान्य हुने दोहोर्‍याए। ‘यो विषय सच्याउनुपर्छ भन्ने हो,’ उनले थपे, ‘अहिले सिंगो राष्ट्र एक ढिक्का छ। कही कसैको विमती पनि हुँदैन। यो नक्सामा हामी नरम भएर लचिलो बन्दैनौं। सरकारले निकालेको विज्ञप्ति कार्यान्वयन हुने छ।’ सरकारले बोलीसकेपछि भारत र नेपालबीच संवाद हुने उनले बताए। कुटनीतिक तवरमा कुरा गर्ने र सरकार चुप नबस्ने उनको भनाइ छ।

यसो त दाहालले कास्की-२ को उपनिर्वाचनको नतिजा नेकपाकै हातमा रहेको बताएका छन्। स्वर्गीय तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सपना नेकपाले नै पूरा गर्ने बताउँदै उनले नेकपा जिल्ला, प्रदेश र संघले निर्विरोध चयन गरेको उम्मेदवार विद्या भट्टराईलाई विजयी गराउन एक ढिक्का भएर कार्यकर्तालाई लाग्नसमेत निर्देशन दिएका थिए। ‘अहिले देशको परिस्थिति भनेको उपनिर्वाचन हो,’ उनले पुनः भने, ‘मुख्यतः प्रदेश र प्रतिनिधिसभाको स्थान रिक्त छ। प्रतिनिधिसभाको एकमात्र उपनिर्वाचन हुने भनेको कास्की २ नै हो।’ प्रदेशको ३ र एउटा महानगरपालिका गरी ५ स्थानमा उपनिर्वाचन हुने बताउँदै उनले कास्कीमा गरिएको मनोनयन दर्ता सफल भएको बताए। ‘दिनको संकेत बिहानले दिन्छ भनेजस्तै निर्वाचनको सन्देश मनोनयनले दिएको छ,’ उनले थपे। लोकप्रिय नेता अधिकारीप्रति सम्मान प्रकट गर्दै उनले उपनिर्वाचन गम्भीर भएर जिम्मेवारी निभाउन पनि पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे। नेकपाको मिसन भव्य रुपमा सफल हुने बताउँदै उनले मनोनयन दर्तादेखि परिणम निनिस्कने बेलासम्म रातदिन खटिएर काम गर्न पनि उनले अनुरोध गरेका छन्। ‘हामी नमूना बन्नु छ,’ उनले दोहोर्‍याए, ‘कास्की २ बाट देशभर सन्देश दिनु छ। नेकपाको एकता र जनताको नेकपाप्रतिको विश्वास अझै छ। स्थायी राजनीति, समृद्धिको यात्रा बुझाउने दिन आएका छन्।’ केन्द्रीय सचिवालयमा पनि कास्कीलाई प्राथमिकता दिएको उनले बताए। गम्भीर भएर विचार गरिएको र सोहीअनुसारको निर्णय भएको उनले बताए। भयरहित, स्वच्छ र इमान्दरीताका साथ लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार उपनिर्वाचनले लोकतान्त्रिक अभ्यासको नयाँ आयाम स्थापित गर्ने छ।

कालापानी हाम्रै हो, २०१८ सालमा नेपालले जनगणाना गरेको प्रमाण छ : सञ्चारमन्त्री बाँस्कोटा

भारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्सालाई नेपाल सरकारले अस्वीकार गरिसकेको स्पष्ट पारेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नक्सासम्बन्धी समस्या कुटनीतिक र राजनीतिक तहबाट समाधान गर्ने बताए ।उनले भने, ‘ हाम्रा सीमा सम्बन्धित विषयहरु पहिले पनि आएको हो। कालापानीमा मात्रै होइन अन्यत्र ठाउँमा पनि सीमा विवाद टुंगो लगाउन बाँकी छ। त्यो हामी समाधान गर्छौं।’ उनले नेपाल र भारतबीच जोडिएका भूभागमध्ये करिव २ प्रतिशत ठाउँमा सीमा विवाद रहेको र समाधान गर्न बाँकी रहेको बताए। उनले अगाडि भने, ‘राजनीतिक र कुटनीतिक पहलबाट प्रमाण, दसीसहित त्यो विषय टुंग्याउने छौं।’ सरकारले भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे सरकारले परराष्ट्र मन्त्रालयमार्फत स्पष्ट धारणा राखेको पनि उनले बताए। उनले कालापानी नेपालकै भएको ऐतिहासिक प्रमाणहरु भएको बताए। उनले २०१८ सालमै कालापानीमा नेपालले जनगणना गरेको प्रमाण रहेकोले कालापानी नेपालकै भएको स्पष्ट रहेको बताए। उनले भने, ‘हामीसँग ऐतिहासिक तथ्य छन्। हामीसँग भएको प्रमाण नै यथेष्ट छन्। हामी सार्वभौमसत्ता सँग जोडिएका विषयमा हामी स्पष्ट छौं। नेपालकी सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु सरकारको दायित्व हो। ‘

सभापति देउवाद्वारा भारतीय राजदूतसँग टेलिफोन संवाद

प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गर्नुभएको छ । संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराउनुभएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसले विज्ञप्तिमार्फत कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्यमा प्रष्ट रहेको उल्लेख गर्दै नेपालको कुनै पनि भूमिमाथि हुने कुनै पनि ढङ्गको अतिक्रमण अस्वीकार्य हुने जनाएको छ । भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै प्रवक्ता शर्माले ट्विटमार्फत पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुभएको थियो । यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने काङ्ग्रेसको दृष्टिकोण रहेको उहाँले बताउनुभयो ।

नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने बताउनुभएको छ । धनगढीस्थित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सङ्गठन र अनेरास्ववियुले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकाले फिर्ताका निम्ति पहल गरिनुपर्ने माग गरेको थियो । ज्ञापनपत्र बुझ्दै उहाँले नक्सामा राख्दैमा नेपाली भूमि नगुम्ने आश्वासन दिनुभयो । मुख्यमन्त्री भट्टले कुनै पनि सार्वभौम देशको भूमिलाई भारतले आफ्नो नक्सामा राखेर गलत गरेको उल्लेख गर्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेशकै भूगोल भारतीय नक्सामा देखिएकाले उक्त विषयलाई टुङ्गोमा पु¥याउनका लागि हामी सङ्घीय सरकारसँग आग्रह गरिरहेको जानकारी दिनुभयो । युवा र विद्यार्थी सङ्गठनले स्वतन्त्र र सार्वभौम देश नेपाललाई निरन्तर हेप्ने, राष्ट्रियतामाथि खेलवाड गर्ने कार्य भारतबाट हुँदै आएकाले नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने माग राखेका छन् ।

कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताउनुभएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजदेखि आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा उहाँले मुलुकको एक इञ्च पनि सीमा मिच्न नदिइने बताउनुभयो । भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाए उल्लेख गर्दै उहाँले भन्नुभयो, “कालापानी हाम्र्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइनेछ । मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्न दिइने छैन ।” मन्त्री ज्ञवालीले वर्षौदेखि कुराकानी भइरहेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने सहमति भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी आधाआधा हुन्छ, सहमतिमा नै जोड दिएका छौँ ।” भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि भारत सहमति नजिक रहेको पनि उहाँले जानकारी गराउनुभयो । बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशनसमेत बसेको कुरा थाहा पाएको बताउँदै उहाँले भारत सहमति गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतका विदेशमन्त्री एस जयशङ्करसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ, कूटनीतिक पहलमा छौँ ।” समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोककल्याणकारी ट्रष्ट महाअभियानअन्तर्गत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धाम लगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ । ट्रष्ट महाअभियानका संयोजनमा पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा सञ्चालन भएको महोत्सव आगामी मङ्सिर २ गते सम्पन्न हुनेछ ।

‘लिपुलेक हाम्रै हो’  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)

“नेपाली मा सबै ले बुझ्ने एउटा सब्द छ : लाल पुर्जा। यो शब्दले स्वामित्व जनाउ छ । लिपुलेख-कालापानी देखि मेची- महाकाली भित्र को जग्गा नेपाल र नेपाली जनता को लाल पुर्जा हो। यस मा तल माथि हुन नदिनु नेपाल सरकार को प्रथम कर्तब्य हो भन्ने बुदामा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को स्पस्ट धारणा रहेको छ । यस सन्दर्भ मा भारत सरकार ले प्रकाशित गरेको नक्सा मा देखिएको गल्ती बारे नेपाल सरकार ले अबिलम्ब मित्र राष्ट्र भारत को ध्यान आकर्षण गर्नु पर्दछ। यस बारे नेपाल को असहमति स्पस्ट गर्नु पर्दछ।”

 

WRITE COMMENTS FOR THIS ARTICLE