कोरोनाको कहरबीच पनि भित्रियो पौने ९ खर्ब रेमिटेन्स, न्युन प्रतिशतमा मात्रै रेमिटेन्स घट्यो

कोरोनाभाइरस संक्रमण (कोभिड-१९)को प्रभावमा पनि रु.८ खर्ब ७५ अर्ब ३ करोड रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को बार्षिक तथ्यांकमा नेपालको यस्तो रेमिटेन्स आयमा अघिल्लो वर्ष २०७५/७६ को तुलनामा ०.५ प्रतिशतले मात्रै कमी आएको छ।

तथ्यांक अनुसार अघिल्लो वर्ष, २०७५/७६ मा रेमिटेन्स १६.५ प्रतिशतले बढेको थियो।

नेपालमा गत आवमा भित्रिएको रेमिटेन्स अमेरिकी डलरको तुलनामा भने ३.३ प्रतिशतले घटेको छ। कोभिडको कारण रेमिटेन्स घट्ने अनुमान गरिएको भएपनि न्युन रकम मात्रै कम आएको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष २०७५/७६ मा रु.८ खर्ब ७९ अर्बको रेमिटेन्स भित्रिएको थियो।

कोभिडले आयात भने १५.६ प्रतिशतले घटाएको छ । आयात घटेपछि देशमा भित्रिने भन्दा बाहिरिने रकम कम भएका कारण शोधनान्तर रु.२ खर्ब ८२ अर्ब ४१ करोडले बचत भएको छ । गत वर्षको असार मसान्तमा शोधनान्तर रु.६७ अर्ब ४० करोड घाटामा थियो।

गत वर्ष रु.११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने निर्यात रु.९७ अर्ब ७१ करोडको छ।  गत वर्ष कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले खुम्चिएर रु.१० खर्ब ९९ अर्ब ९ करोड रहेको पनि तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्ष २०७५/७६ मा यस्तो घाटा १३.५ प्रतिशतले बढेको पनि राष्ट्र ब्यांकले ८ भदौमा (सोमबार) सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो ।

कोभिडले बजारमा महंगी भने बढाएको देखिएको छ । गत वर्ष २०७६/७७ मा महंगी दर भने औषतमा ६.१५ प्रतिशत मात्रै रहेको पनि तथ्यांकमा उल्लेख छ । गत वर्ष औसत मुद्रास्फीति ६.१५ प्रतिशत थियो भने अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको राष्ट्र ब्यांकको तथ्यांकमा उल्लेख छ ।

गत वर्ष कुल विदेशी विनिमय सञ्चिति रु.११ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ। यो सञ्चितिले १२.७ महीनाको बस्तु आयात तथा सेवा धान्न प्रयाप्त हुन्छ। गत वर्ष ब्यांक तथा वित्तीय संस्थाको निक्षेप संकलन १८.७ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी १२.६ प्रतिशतले बढेको छ ।

२०७७ असार मसान्तमा ब्यांक तथा वित्तीय संस्थामा कुल निक्षेप रु.३८ खर्ब ४० अर्ब र निजी क्षेत्रमाथिको दाबी भने रु.२२ खर्ब ७७ अर्ब रहेको पनि राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE