कोरोनाको जोखिम बढेसँगै काठमाडौंमा कडाइ गर्ने तयारी, भीडभाड नगर्न निर्देशन

स्थानीय प्रशासनहरूले कोभिड–१९ को संक्रमणबाट बच्न होली, जात्रा लगायत मनाउँदा भीडभाड नगर्न निर्देशन दिएको छ। छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, तनहुँ, बर्दिया, कञ्चनपुर लगायतले सूचना जारी गरेर उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभिड–१९ को संभावित जोखिमबाट बच्न आग्रह गर्दै ८ चैतमै सभा, जुलुस, भेला, सेमिनार, बैठक नगर्न आग्रह गरिसकेको छ। भौतिक दूरी, मास्कको प्रयोग, साबुन–पानीले हात धुने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि भनेको छ।

होलीमा भीडभाड गर्न निषेध 
तनहुँ र कञ्चनपुरमा स्थानीय प्रशासनले भीडभाड गरेर होली मनाउन रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको आदेशमा भनिएको छ, “निकट रहेको फागु पूर्णिमा सामूहिक रुपमा भेला भई भीडभाड गरी नमनाउने।”

धार्मिक तथा सामाजिक स्थलहरूमा अनिवार्य भौतिक दूरी कायम गर्न, मेला, पर्व, जात्रा गर्न नपाइने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी आदेशमा उल्लेख छ।

यस्तै, तनहुँमा रात्रिकालीन व्यवसाय १० बजेपछि सञ्चालन गर्न रोक लगाइएको छ।

दश दिन अनिवार्य होम क्वारेन्टिन
जिल्ला प्रशासन कार्यालय, बर्दियाले भारतबाट आउनेहरूले १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ। त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले भारत हुँदै तेस्रो मुलुकबाट आउनेहरू पनि अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने बताए।

जिल्लामा कुनै पनि राजनीतिक भेला, सम्मेलन, महोत्सव, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम गर्न रोक लगाइएको शर्माले जानकारी दिए। “कोभिड–१९ विरुद्धको खोप लगाएकाहरूले पनि अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्छ,” उनले भने।
राति १० देखि बिहान ४ बजेसम्म आवतजावतमा रोक
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले अत्यावश्यक बाहेकका व्यवसाय गर्ने र मानिसहरूको आवतजावतको समय तोकेको छ। राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।

गड्डाचौकी र गौरीफन्टा नाकाबाट प्रवेश गर्नेहरूलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्ने गरिएको महतो बताउँछन्। उनका अनुसार, ज्वरो भएकालाई मलेरियाको आरडीडी र कोभिड–१९ परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।

काठमाडौंमा कडाइ गर्ने तयारी
कोभिड–१९ को दोस्रो लहरको जोखिम बढेपछि काठमाडौंमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बोलाइएको छ। बुधबार बैठक बसेर आवश्यक निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

सभा, सम्मेलन लगायत भीडभाड हुने गतिविधिमा रोक लगाउने तयारी भइरहेको पराजुली बताउँछन्। उनी भन्छन्, “डीसीसीएमसीको बैठकपछि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूसँग पनि छलफल गर्छु।”

सरुवा रोग विशेषज्ञ डा।बाबुराम मरासिनी कोभिड–१९ को अर्को लहरको जोखिम देखिएकाले देशैभरि उच्च सतर्कता अपनाउनुपर्ने बताउँछन्। जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने उनले जोड दिए।

WRITE COMMENTS FOR THIS ARTICLE