कोरोनाबाट मृत्यु हुनेमध्ये ३७ प्रतिशतमा श्वासप्रश्वाससम्बन्धी समस्या

कोरोनाभाइरस संक्रमण (कोभिड-१९) बाट आइतबार, ३२ साउनसम्म देशभर १०४ जनाको मृत्यु भएको छ। यो आइतबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक हो।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ३७ प्रतिशतमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ। तर, स्वास्थ्य मन्त्रालयले यसरी छुट्याएको आँकडा भने २८ साउनसम्मको मात्र उपलब्ध छ।

जसअनुसार २८ साउनसम्म मृत्यु भएका ९१ जनामध्ये ३३ जना श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी देखिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमाएका ९१ जनामध्ये ३३ जना दम, खोकी, सिओपिडि, निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी थिए।

मन्त्रालयको तथ्यांकमा मृत्यु भएका ९१ मध्ये १५ जना मधुमेह, १४ जना किड्नी, ७ जना उच्च रक्तचाप र बाँकी २२ जना क्यान्सर, कलेजो लगायतका रोगका बिरामी देखिएका हुन्। ३७ प्रतिशत श्वासप्रश्वाससम्बन्धी, १७ प्रतिशत मधुमेहका र १६ प्रतिशत किड्नीको बिरामी भएको छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, श्वासप्रश्वास, मुटु, मधुमेह, क्यान्सर लगायतका दीर्घ रोगका बिरामीहरू कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन्।

स्वास्थ्य मन्त्रालयले कोरोनाको ‘रेड जोन’ मा राखेका ६ जिल्लाको तथ्यांक हेर्दा अन्य रोगको तुलनामा सबैभन्दा धेरै श्वासप्रश्वासका बिरामी देखिन्छन्।

स्वास्थ्य सेवा विभागको हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको आर्थिक वर्ष २०७५(७६ को नयाँ तथ्यांक अनुसार, कोरोनाको रेड जोन काठमाडौं जिल्लामा सबैभन्दा बढी सीओपीडी, ब्रोङ्काइटिस जस्ता श्वासप्रश्वास सम्बन्धी एक लाख नौ हजार ९८३ बिरामी छन्।

मुलुकका सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा एक आर्थिक वर्षमा बहिरंग कक्षमा भर्ना भएका नयाँ बिरामीहरूको श्वासप्रश्वास सम्बन्धी रोगका कैलालीमा ८२८४८, महोत्तरीमा ४९९६३, रौतहटमा ४८८६२, डोटीमा ३७९०८ र पर्सामा २९७८६ बिरामी छन्।

यो तथ्यांकमा दीर्घ रोगका सरकारी अस्पतालमा भर्ना भएका पुराना बिरामी र निजी अस्पतालमा भर्ना आएका नयाँ र पुराना कुनै पनि बिरामीको तथ्यांक समावेश गरिएको छैन।

उक्त तथ्यांक अनुसार उच्च रक्तचापको समस्या भएका व्यक्तिको संख्या काठमाडौंमा ५२८७१, पर्सामा ९६४८, कैलालीमा ६९१४, महोत्तरीमा ५९०१, रौतहटमा ५६१७ र डोटीमा १२०३ छ।

काठमाडौं मेडिकल कलेजको मेडिसिन विभागका प्रध्यापक डा। अर्पना न्यौपाने श्वासप्रश्वास प्रणालीमा समस्या भएकै कारण धेरै कोरोना संक्रमितले ज्यान गुमाएको भन्दै उनीहरूको विशेष हेरचाह गर्नुपर्ने बताउँछिन्।

डा. न्यौपानेका अनुसार श्वासप्रश्वासका बिरामीको पहिले नै फोक्सो कमजोर भइसकेको हुने र यस्तो अवस्थामा कोरोना संक्रमण भयो भने सिकिस्त भएर ज्यान जाने जोखिम रहन्छ।

उनी कोरोना संक्रमण समुदाय स्तरमा फैलिए श्वासप्रश्वासका बिरामीहरू र त्यसमा पनि वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित हुने बताउँछिन्। डा. न्यौपाने श्वासप्रश्वासका बिरामीहरूले प्रोटिन र प्रतिरोधी क्षमता बढाउने खानेकुराको सेवन गर्न सुझाउँछिन्।

WRITE COMMENTS FOR THIS ARTICLE