कोरोना कहर : नेपाल–भारत सीमामा थप कडाइ

पाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ । त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ । भारत–नेपाल बीचको सीमा खुला छ ।

खुला सीमाको ९२५ स्थानमा सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मन्त्रालयका उच्च अधिकारीका अनुसार सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । सीमा अनुगमन चौकी (बीओपी) सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी बलको पाँच हजार जनशक्ति स्थलगत रूपमा खटिएको छ ।

नेपालको पूर्व–पश्चिम र दक्षिण गरी २६ जिल्ला भारतसँग जोडिएका छन् । तीमध्ये धेरै जिल्लामा स्थानीय बासिन्दाको वारि गाउँ छ भने पारिपट्टि बारी छ । त्यस्तै पारिपट्टि गाउँ वारि खेतबारी रहेको छ । तराईका केही जिल्ला र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी र दार्चुलामा अनौपचारिक बाटो प्रयोग भएको पाइएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले भारतमा रहेका नेपाली लुकिछिपी अनौपचारिक बाटो प्रयोग गरी आउन थालेपछि थप कडाइ गरिएको बताउनुभयो । केही दिनअघि बैतडीमा अनौपचारिक बाटो प्रयोग गरी आएका १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बुधबार अनौपचारिक बाटो प्रयोग गरी दार्चुलामा प्रवेश गरेका ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरमा पनि कृष्णपुर नयाँबस्ती र दोधारा चाँदनी लगायतका सीमाबाट अवैध प्रवेश भएपछि २० गतेबाट थप कडाइ गरिएको प्रवक्ता श्रेष्ठले बताए।

मन्त्रालयले पनि सीमा नाकामा चौबीसै घण्टा सुरक्षा पहरा दिन संयुक्त सुरक्षा गस्ती, स्थानीय प्रशासनलाई उच्चसुरक्षा सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले दुवै देशका सरकारबीच भएको सहमति अनुसार सीमामा कडाइ गरिएको स्पष्ट पारे।

लकडाउनका क्रममा सीमापारि रोकिएका नेपालीको व्यवस्थापन भारत सरकारले र वारि रोकिएका भारतीय नागरिकको नेपाल सरकारले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । दुई छिमेकी मुलुक चीनको तुलनामा भारतमा फैलिएको कोरोना सङ्क्रमण नेपालका लागि चुनौती बन्दै गएको छ ।

नेपालले आन्तरिक स्वास्थ्य सतर्कता तथा उपचार सेवा विस्तार गरेसँगै नेपाल–भारत सीमामा कडाइ गर्दा कोरोना भाइरस महामारीको सङ्क्रमणबाट नेपाललाई सुरक्षित राख्न सक्ने अपेक्षा गरिएको छ । सीमा जोडिएका प्रत्येक स्थानीय तहले अवैध प्रवेश र घुसपैठमा प्रतिबन्ध लगाइसकेका छन् ।

सीमा नाकामा प्रदेश सरकार, स्थानीय प्रशासन र स्थानीय तहको वडा स्तरसम्म सहकार्य गरी नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेको पाइएको छ । कतिपय स्थानमा भने केही व्यक्ति मध्यरातमा हिँडेर वारि आउने र पाहुना लाग्ने गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE