‘कोरोना कुनै पाप वा अभिशाप होइन, कोरोना सङ्क्रमितलाई माया गरौँ’

कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुव्र्यवहार होइन सक्दो सहयोग गरौँ ।’

काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समुदायमा अहिले यस्तै अभियान चलाएका छन् ।

कोरोना सङ्क्रमित र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमित नभएका व्यक्तिले दुव्र्यवहार गर्न थालेपछि जनप्रतिनिधिकै अगुवाइमा समुदाय स्तरमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो । काठमाडौँ उपत्यकामा कुल सङ्क्रमितमध्ये करिब ४५ प्रतिशत व्यक्ति घरमै एकान्तवास र समुदायको निगरानीमा एकान्तवास बसिरहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले कोरोना सङ्क्रमितलाई दैनिक तीन पटक फोन गरेर उहाँहरूको समस्या बुझ्ने गरेको बताए ।

उहाँले वडा भित्रका सबै सङ्क्रमितको आफूले अभिभावकत्व ग्रहण गरी आवश्यक सहयोग गरिरहेको छु, कोरोना लाग्दैमा आत्तिनुपर्दैन, घरमै सुरक्षित भएर बस्दा परिवारलाई कोरोना सर्दैन भन्नुभयो । उहाँले नागरिक सचेत भए कोरोनालाई जित्न सकिन्छ भन्ने अभियान नै चलाएको बताए ।

काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाको भनाइमा कोरोनालाई जित्न समुदाय जागरण अभियान चलाइएको छ । समुदायमा क्रियाशील युवा समूह, नागरिक समाजका अगुवा, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहलाई कोरोना सचेतना अभियानमा टोल–टोलमा परिचालन गरेका छन् ।

सापकोटाले कोरोना भाइरस सङ्क्रमण हुनु कुनै पाप होइन, यो कोरोना धनी वा गरिब जो कोहीलाई पनि लाग्न सक्छ तर सङ्क्रमितलाई दुव्र्यवहार होइन आत्मबल बढाएर सहयोग गरौँ भने ।

सापकोटा र गजुरेल जस्तै काठमाडौँ उपत्यका मात्र नभई देशै भरका स्थानीय तहका जनप्रतिनिधि अहिले कोरोना रोकथाम र नियन्त्रण कार्यमा अग्र भागमा खटिएर काम गरिरहेका छन् । काठमाडौँ उपत्यकामा एक साताभित्र सङ्क्रमितको सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ  गर्नेगरी उपत्यका नगरपालिका फोरमले सबै नगरपालिकामा टोल टोलमा पुगी कन्ट्याक्ट ट्रेसिङ गर्ने काम गरिरहेको छ ।

उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्न जनप्रतिनिधि, स्वास्थ्य टोली सहितका व्यक्ति घर–घरमा पुगेका हुन् ।

सङ्क्रमितको सम्पर्कमा आएका करिब ४५ हजार जनाको कन्ट्याक्ट ट्रेसिङ गर्नेगरी उपत्यकाका सबै नगरपालिकाले काम गरिरहेको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

उनले कोरोनाप्रति आमनागरिकलाई सचेत बनाउँदै सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी सबैको पीसीआर गर्ने काम भइरहेको छ भने। उपत्यकाका सबै स्थानीय तहमा स्वास्थ्य शाखा र स्वास्थ्य मन्त्रालयका फोकल पर्सन सहितको टोलीले टोलटोलमा पुगी स्वाब सङ्कलन गर्ने कार्य धमाधम गरेको छ । गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE