कोरोना नियन्त्रणका लागि के गरिँदैछ नेपालगञ्जमा ?

नेपालगञ्जमा कोरोना संक्रमणको जोखिम बढेसँगै बाँकेमा उच्च सतर्कता अपनाइएको छ ।

नेपालगञ्जमा  आइतबार थप कोरोना संक्रमित देखिएसँगै सिंगो जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डीएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरूपमा सिल गरिसकेको छ ।

उनकाअनुसार संक्रमण पुष्टि भएसँगै संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटेको  छन् ।

प्रजिअ खड्काले भने, ‘उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप कदमका बारेमा निर्णय लिइन्छ ।’

उनले कोरोना संक्रमणको जोखिम हुन  नदिन उच्च सावधानी अपनाउन र लकडाउनको पूर्ण पालना गर्न सबैमा अपिल गरेका छन् ।

लकडाउनको ३८औं दिन यहाँ संक्रमण देखिएको थियो ।

नेपालगञ्ज–८ स्थित जोलाहनपूर्वास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पढाउने व्यक्ति)मा पहिलो पटक संक्रमण पुष्टि भएको हो ।

मोअज्जीनलाई कोरोना देखिएपछि पूरै टोललाई सिल गरेर गत शनिबार ९० जनाको स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमित सबै उनकै टोलका बासिन्दा हुन् । सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको आइसोलेसन अस्पताल खजुराका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

आइसोलेसन सेन्टर रहेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा संक्रमित भर्ना भएसँगै खजुरा गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको छ ।

संक्रमितको सङ्ख्या बढेसँगै गाउँपालिकाले सोमबार बिहान ६ बजेदेखि लागु हुने गरी पूरै पालिकालाई सिल गरेको छ ।

संक्रमित थपिएसँगै उनीहरुलाई भेट्न आउने तथा अन्य गतिविधिका कारण जोखिम बढ्न सक्ने भन्दै पूरै पालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

गत शुक्रबार एक जना र आइतबार १५ जना संक्रमित पुष्टि भएका १६ जनाको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका कारोना स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

पहिलो संक्रमितको एकाघरको परिवारका दुई जनासहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आइतबार साँझसम्म ५५ जनाको रिपोर्ट आएको छ ।

नेपालगञ्जमा एकाएक संक्रमितको संख्या बढेपछि खजुरा गाउँपालिकासँगै अन्य स्थानीय तह पनि पूर्णरुपमा सिल गरिएको छ ।

कोहलपुर नगरपालिकाले आफ्नो दक्षिणतर्फको सीमा पूर्णरूपमा सिल गरेको छ ।

नेपालगञ्जसँग जोडिने दक्षिणतर्फको सीमा सिल गर्ने तथा अन्य नाकामा पूर्णरुपमा कडाइ गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

आपत्कालीन सेवाबाहेकका सबै सवारी साधनलाई कोहलपुर प्रवेशमा पूर्णरूपमा रोक लगाएको नगर प्रमुख रावतले जानकारी दिए ।

कोहलपुर नगरपालिका–१५ को चौधरीया गाउँबाट बाहिरी व्यक्ति नगरभित्र प्रवेश गर्ने भएकाले त्यस क्षेत्रमा व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गर्ने, नगर क्षेत्रभित्र आयोजना गरिने सबैखालका औपचारिक कार्यक्रम स्थगित गर्ने र भौतिक तथा पूर्वाधार निर्माणका योजनासमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

यस्तै राप्तीसोनारी गाउँपालिकाले नेपालगञ्जसँग जोडिएको ६ नं वडाको नाका सिल गरेको छ । सो वडाको नेपालगन्जसँग जोडिएको राप्ती पुललाई पूर्णरुपमा बन्द गरिएको राप्तीसोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष जनकबहादुर थारुले जानकारी दिए । उनका अनुसार नरैनापुरसँगको पूर्वी नाका पनि बन्द गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले नेपालगञ्जवासीलाई सावधानी अपनाउन आह्वान गर्दै नगरवासीलाई घर बाहिर ननिस्किन र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । ‘कन्ट्रयाक्ट ट्रेसिङ’मार्फत संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिको पहिचान भइरहेको पनि उनले जानकारी दिए ।

नगर प्रमुख राणाले सङ्कटका बेला लकडाउनको पूर्णपालना गर्न आग्रह गर्दै भने, ‘संकटका बेला नेपालगञ्जवासीले संयमता अपनाउनुपर्छ, हामी आत्तिनु हुँदैन । सरकारले गरेको लकडाउन सबैले पालना गरेर सावधान बनौँ’, उनले विज्ञप्ति जारी गर्दै विश्वभर कोरोना महामारी फैलिरहेको अवस्थामा नगरवासीलाई जोखिमबाट बच्न र सचेत हुन आग्रह गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE