क्याम्प नाउमा मेस्सी समर्थकहरुको जुलुस

बार्सिलोना फूटबल क्लबका प्रशंसकहरूले क्याम्प नाओ पुगेर लियोनेल मेस्सीको भविष्य अन्योलमा परेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।  मेस्सीले मंगलवार क्लबलाई फ्याक्स पठाएर बार्सिलोनामा खेल्न मन नलागेको र क्लब छोड्नका लागि अनुमति दिन अनुरोध गरेका छन् ।  च्याम्यिन्स लीगमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद पराजय बेहोरेर बाहिररिएपछि मेस्सीले क्लब छोड्न खोजेको खबर आएको हो । उक्त पराजयपछि प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरिएको थियो र उनका स्थानमा रोनाल्ड कोम्यानलाई ल्याइएको थियो ।

मेस्सीले कोम्यानलाई मंगलवार भेट्दा कोम्यानले ‘क्लबमा तिम्रो हैकम चल्दैन अब’ भनेपछि आहत भई ट्रान्सफर रिक्वेस्ट पठाएको खबर आएका छन् । क्लब अध्यक्ष जोसेप बार्तोमेउले मेस्सी लगायतका खेलाडीलाई अपमान गरेको भन्दै प्रशंसकहरूले उनको राजीनामा मागेका छन् । बार्सिलोना बोर्डले अविश्वासको प्रस्ताव ल्याएर बार्तोमेउलाई हटाउन सक्ने खबर पनि आइरहेका छन् ।

बार्तोमेउ चाहिँ आगामी मार्च महिनामा हुने निर्वाचनसम्मका लागि पदमा रहिरहन चाहन्छन् । क्लबमा व्यवस्थापनको भन्दा पनि खेलको समस्या रहेको उनको भनाइ छ । उनको यस भनाइले पनि मेस्सीलाई आक्रोशित पारेको बताइएको छ । क्लबको खराब प्रदर्शनको दोष खेलाडीमाथि थुपारिएकोमा उनी आहत भएका हुन् ।

क्लबसँग मेस्सीको सम्झौता आगामी सीजनको अन्त्यमा हुँदैछ । तर मेस्सी र उनको वकिल टोलीले उनको सम्झौतामा भएको एक प्रावधानका आधारमा उनलाई सम्झौता रद्द गर्न दिने विश्वास लिएका छन् ।

तर बार्सिलोनाले आफ्ना सुपरस्टार खेलाडीलाई सहजै गुमाउन नचाहने भएकाले कानूनी लडाइँ लड्नुपर्ने अवस्था आउन सक्छ ।  मेस्सीले छोड्न खोजेको खबर आएपछि प्रशंसकहरू क्याम्प नाओ रंगशाला पुगे अनि क्लब व्यवस्थापनप्रति आक्रोश पोखे । क्लबको आकस्मिक बैठक बाहिर बसिरहँदा प्रशंसकहरू बाहिर भेला भएर ‘मेस्सी यतै बस’, ‘बार्तोमेउ राजीनामा दे’ भन्दै नारा लगाए ।  मेस्सीले बार्सिलोना छोड्ने भएपछि म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, इन्टर मिलान लगायतका क्लबले उनीमाथि चासो देखाइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE