खाना वितरणमा नेपाल सुन चाँदी शिल्प व्यवसायी संघ

काठमाडौँस्थित बालाजु चोकबाट अलि अगाडि गंगा हल नजिकै साथिभाई सेकुवा कर्नर एण्ड रेष्टुरेन्ट छ । आज हामी त्यहाँ पुग्दा २० जनाको टोलीलाई भ्याई नभ्याई थियो ।  सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएका गरिब तथा विपन्न मजदुरलाई तयारी खाना वितरणका लागि तयारी चल्दै थियो 

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघकाे रासन व्यवस्थापन सहयोगमा उक्त मेस सञ्चालनमा आएको हो । प्रगतिशील नागरिक मन्च, स्टिल तथा ग्रिल व्यवसायी संघ बालाजु इकाई, स्वास्थ्य स्वयमंसेविका सुन्दर बस्ती महिला समुह लगायत संस्थाहरुको व्यवस्थापन सहकार्यमा करिब तीन सय मजदुरलाई दैनिक रुपमा तयारी खाना निःशुल्क वितरण हुँदै आएको हो । 

खाना स्वस्थकर भएकाले खाना खाने दैनिक ज्यालादारी गरेर खानुपर्ने गरिब तथा विपन्न मजदुर परिवारहरुको संख्या दिनानुदिन बढिरहेको नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका कोषाध्यक्ष किरण देव सिल्वालले जानकारी दिए 

‘हामीले लकडाउनका समयमा समस्यामा परेका मजदुर, सुत्केरी महिला, वृद्ध, विद्यार्थी, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतका मानिसहरुलाई खाना दिन्छौँ। हामीले सुरुमा चामल लगायतका खाद्यान्न वितरण गर्ने सोचेका थियौँ। त्यसो गर्दा अनियमितता हुने र जो समस्यामा परेका छन् उनीहरुले नपाउन सक्छन् भनेर खाना पकाएर दिन सुरु गयौँ। यसो गर्दा समस्यामा परेका मानिसहरु मात्र आउने गरेका छन् ।’, किरणदेवले हामीलाई बताए ।

विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गते देखि लकडाउन गरेको छ। जो अहिले निरन्तर नै छ। लकडाउनमा मजदुर, बहालमा बस्ने मानिसहरु, विद्यार्थीहरु बढी मारमा परेका देखिन्छन्। काठमाडौँमा दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने कतिपय मजदुरहरु पैदलै आफ्नो घरतर्फ जाने क्रम पनि रोकिएको छैन ।

तर अझै पनि धेरै मानिसहरु उपत्यकामा नै छन्। उनीहरुलाई साँझ बिहानको दुई छाक टार्न पनि धौ–धौ भइरहेको छ। त्यस्ता मानिसहरुका लागि नै आफूहरुले खाना पकाएर खुवाउने अभियान सुरु गरेको उनले बताए ।

यस अभियानमा स्थानीय बासिन्दाहरुले पनि सहयोग गरिरहेका छन्। स्थानीयहरुले खाना पकाउने, खाद्यान्न तथा आर्थिक सहयोग गर्ने गरेको उनले सुनाए । ‘कसैले हामीलाई खाद्यान्न सहयोग गर्छन् भने कसैले ग्यास, तरकारी पानी, र कसैले आर्थिक सहयोग गर्छन्’ उनले भने।

खाना वितरणसँगै कोरोना भाइरसको संक्रमण रोकथामको उपाय पनि अपनाएका छन् । खाना लिन आएका मानिसहरुलाई सामाजिक दूरी कायम गरेर, सेनिटाइजरको पनि प्रयोग गरेर मात्र खाना दिने गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE