गायिका आनीको खातामा शंकास्पद १९ करोड छानबिन रोक्न प्रधानमन्‍त्री कार्यालयको दबाब

गायिका आनी छोइङ डोल्माको बैंक खातामा रहेको १९ करोड रुपैयाँमाथि विभागले छानबिन गरिरहेको छ। उनको मेगा बैंकमा रहेको खाता नम्बर ००१००५००३९४२४ मा गत २६, २७ र २८ वैशाखमा हङकङबाट डलर आएको थियो। २६ गते पाँच लाख ७९ हजार नौ सय ८०, २७ गते पाँच लाख ३९ हजार नौ सय ८० र २८ गते पाँच लाख २९ हजार नौ सय ८० अमेरिकन डलर आएको थियो। सो रकम शंकास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकले सम्पती शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो ।

गायिका डोल्माले विभिन्‍न सामाजिक कामका लागि आफूलाई विदेशबाट डलर प्राप्त भएको बताए पनि स्रोत खुलाउन सकेकी छैनन्। आर्य-तारा फाउन्डेसन, आर्य तारा स्कुल  लगायत संस्थामार्फत उनले सामाजिक काम गर्दै आएकी छिन्। तर, सहयोग मार्फत पैसा ल्याउँदा पनि उनले प्रक्रिया पुरा नगरेको विभागका अधिकारीहरु बताउँछन्। विभागले उनलाई पठाउने हङकङको बैंकसँग पैसाको स्रोत खोजेको थियो। ‘जवाफ आएको छैन, जवाफपछि थप अनुसन्धान अघि बढ्ने छ,’ विभागका एक अनुसन्धान अधिकृतले भने। विगतमा पनि आनीको खातामा त्यसैगरी पटक-पटक विदेशबाट ठूलो परिमाणमा पैसा आएको विभागको अनुसन्धानबाट खुलेको छ। त्यसरी आएको पैसा उनले संस्थामै खर्च गरेको देखिएको छ। यसपटक एकैपटक धेरै आएपछि छानबिन थालिएको हो। तर, छानबिन नसकिँदै अनावश्यक दबाब आएको विभागका कर्मचारीहरु बताउँछन्। स्रोतका अनुसार प्रधानमन्त्रीनिकट व्यक्तिहरूले नै उनको पैसा रोक्का फुकाउन दबाब दिइरहेका छन् । अघिल्लो वर्ष २ साउनमा प्रसारित टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’को पहिलो अंकमा स्टुडियोमै उपस्थित भएर गायिका आनीले तुइन विस्थापनका लागि भन्दै प्रधानमन्त्रीसामु एक करोड सहयोग घोषणा गरेकी थिइन् ।

(समाचार नयाँ प्रत्रिकामा प्रकाशित छ।)

WRITE COMMENTS FOR THIS ARTICLE