गोन्जालो हिगुआइनले युभेन्टस छाड्ने पक्का,डिबाला क्लबमै यथावत

इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लाेले क्लबका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले यो सिजनको समरमा क्लब छाड्ने पक्का भएको जानकारी दिएका छन् । दुई साताअघि युभेन्टसको प्रशिक्षक बनेका ४१ वर्षे पिर्लोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा हिगुआइनले क्लब छाड्ने र अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला क्लबमै रहेको स्पष्ट पारेका हुन् । पिर्लोले हिगुआइनसँग व्यक्तिगत रुपमा भेटेर नै आफ्नो निर्णयबारे जानकारी दिएको बताएका हुन् ।

‘उनी च्याम्पियन र महान् खेलाडी हुन् । तर, यहाँ उनको समय सकिएको छ । हामीले एक अर्काबीच छलफल गर्‍यौ र निर्णय लियौं । म उनलाई धेरै सम्मान गर्छु । तर, हामीले अलग हुने निर्णय लिएका छौ,’ पिर्लाेले पत्रकार सम्मेलनमा भने ।

युभेन्ट्सका तेस्रा महँगा खेलाडी हिगुआइन २०१६ मा इटालियन क्लब नेपोलीबाट ७५ मिलियन पाउन्डमा युभेन्टस पुगेका थिए । स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व खेलाडी समेत रहेका हिगुआइनले लोनमा इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलानबाट समेत खेलिसकेका छन् । हिगुआइनले युभेन्ट्सका लागि १ सय ४९ खेलमा ६६ गोल गरेका छन् ।

पिर्लोले डिबालालाई सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको पार्टनरको रुपमा राख्न चाहेका छन् । ‘ड्याबाला बजारमा उपलब्ध हुने छैनन् । उनी मेरो लागि महत्वपूर्ण खेलाडी हुन् । उनी जति सक्दो चाँडो फर्कनेछन् । उनी क्लबको योजनाको अंश हुन्,’ पिर्लोले भने ।

पिर्लोले आफू सहि समयमा क्लबको प्रशिक्षक बनेको समेत जनाएका छन् । ‘मैले निर्णय लिनुअघि सोच्ने समय पाइन । सबै यति चाडो भयो की मैले हुन्छ भनिहालें । मैले यो निर्णय गर्नुको कारण म आफूलाई यो ठाउँमा ठिक देखेर हो.’ उनले भने ।

खेलाडीको रुपमा युभेन्टसका लागि ४ पटक लिग जितेका पिर्लो जुलाईको अन्त्यमा यू-२३ टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए । तर त्यसको एक साता नबित्दै उनलाई सिनियर टोलीको जिम्मेवारी दिइयो । च्याम्पियन्स लिगमा लियोनसँग पराजित भएपछि क्लबले माउरिजियो सार्रीलाई निकालेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE