ग्रीसमा आप्रवासी शरणार्थीमाथि अश्रुग्यास प्रहार

एथेन्स, ३ मङ्सिर
आप्रवासी शरणार्थीले शिविरमा अत्यधिक भीड भएको भन्दै व्यवस्थापनका लागि माग गर्दै गरेको प्रदर्शनमा ग्रीकको सामोस टापूमा बिहीबार प्रहरीले शरणार्थीमाथि अश्रुग्यास प्रहार गरेको राज्य सञ्चालित समाचार संस्था एएनएले जनाएको छ ।

खासगरी अफ्रिकाबाट शरणार्थीका रूपमा यूरोप पुगेका शिविरमा बस्दै आएका आप्रवासीहरूले शिविर नजिकैको सडकलाई अवरूद्ध गरेपछि प्रहरीले सडक खाली गर्ने क्रममा केही व्यक्तिले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका र प्रतिक्रियामा प्रहरीले अश्रुग्यास प्रहार गरी भीड नियन्त्रण गरेको एएनएले बताएको छ ।

सामोसमा ग्रीस भएर यूरोप तथा अमेरिका जाने शरणार्थीहरूलाई राखिएका पाँचमध्ये एक शरणार्थी शिविर रहेको छ । ग्रीसमा विभिन्न देशबाट टर्की हुँदै शरणार्थीहरू पुग्ने गरेका छन् ।

अत्यधिक ६५० जनाका लागि व्यवस्था गरिएको सामोस शिविरमा करिब सात हजार ५०० शरणार्थी राखिएपछि उनीहरूले शिविर व्यवस्थापनका लागि माग गर्दै सडक अवरूद्ध गरेका थिए । शिविरमा सुविधा नपुगेपछि उनीहरूले पाल टाँगेर बोरा ओडी रात विताउनु परेको भन्दै उनीहरू आन्दोलित भएका बताइएको छ ।

ग्रीसको सरकारले शरणार्थीलाई कम्तीमा पाँच हजार क्षमताको शिविर निर्माण गरी राख्न दिएको निर्देशनलाई स्थानीय अधिकारीले शरणार्थीको सङ्ख्या र शिविरको क्षमता बढाउने नभै उनीहरूलाई त्यहाँबाट हटाउनुपर्ने भन्दै निर्देशनलाई अटेर गर्दै आएका छन् ।

सामोसका नगर प्रमुख यौरगोस सान्जोसले सरकारले नयाँ शिविरको योजना नरोकेमा आफूले पदबाट राजीनामा दिने चेतावनी दिनुभएको छ ।

मङ्गलबार स्थानीय समाचार संस्था सामोस डटकम जीआरले सान्जोसले आप्रबासी शरणार्थीलाई शिविरबाट बाहिरिन चर्को स्वरमा गरेको निर्देशन र आक्रोशपूर्ण अभिव्यक्तिपछि उनीहरूलाई धकेलेको समाचार प्रकाशित गरेको थियो ।

नगर प्रमुखले भने, “उनीहरू (शरणार्थी) ले हाम्रो भूमि ओगटेका छन् । उनीहरूले यो क्षेत्र छोड्नुपर्छ । अर्को समाधान छैन ।” उनले शरणार्थीको एक समूहले पाँच कारमा आगजनी गरेको भन्दै सुरक्षाका लागि उनीहरूलाई हटाउनुपर्ने बताएका थिए । यसै विवादपछि शरणार्थी सडकमा उत्रिएका हुन् ।

यूरोप छिर्नका लागि आप्रबासीहरूले सामोस लगायतका नाकाहरूको प्रयोग गर्ने गरेका छन् । राष्ट्रसंघ शरणार्थी नियोगले ग्रीसको बाटो यूरोप आउने शरणार्थी सङ्ख्यामा विगत केही बर्षमा कमी आएको भएपनि यस बर्ष समूद्रको बाटो ५५ हजार र टर्की हुँदै जमीनको बाटो १४ हजार शरणार्थी ग्रीस पुगेका तथ्याङ्क छ ।

शिविरमा पुगेका अधिकारकर्मी तथा चिकित्सकले शिविरमा शरणार्थीको अवस्था निकै दयनीय रहेको बताएका छन् । स्थानीय तथाकथित सम्पन्न व्यक्तिले खासगरी शिविरमा रहेका महिला तथा बालबालिकालाई यौन शोषण गर्ने गरेको शरणार्थीलाई उद्धृत गर्दै चिकित्सक तथा अधिकारकर्मीले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE