घटस्थापना विशेषः के छ जमराको पौराणिक महत्व ?

हिन्दूहरूको सबैभन्दा महत्वपूर्ण पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज विशेष गरी जमरा राख्ने दिन पनि हो । दशैँमा राखिने जमराको आफ्नै धार्मिक महत्व छ ।

दशैँमा मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरालाई नै जमरा भनिन्छ । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् ।

घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । दशैँमा बाहेक अन्य समयमा पनि पुजा–आजा हुन्छ तर जमरा राखिँदैन । बडादशैँको पहिलो दिन दशैँघरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । यसरी उम्रेको जमरा विजयादशमीको दिन आफ्नो कुलदेवताहरूलाई अर्पण गरी प्रसाद स्वरूप पुर्णिमाको दिनसम्म लगाउने गरिन्छ ।

जौलाई संस्कृतमा यव भनिन्छ । यो खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ ।
वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण हुनसक्छ यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महत्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

वैज्ञानिक दृष्टीले हेर्ने हो भने पनि जौको महत्व धेरै छ । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । कसरी उमार्ने दशैँको जमरा ?
१. जमरा उमार्न सर्वप्रथम जौ, गहुँ, धान र मकैको बिउ प्रयोग गर्नुपर्छ ।

२. दशैँको जमरा उमार्न शुद्ध तथा अध्याँरो ठाउँ छान्नुहोस् ।

३. सर्वप्रथम जौं, मकै, धान र गहुँको बिउलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्नुहोस् ।

४. अब एक दुना र अर्को टपरीमा माटो राख्नुहोस् र भरिने गरि भिजाएर राखिएका बिउहरू राख्नुहोस् र हल्का माटोले ढाकिदिनुहोस । साथै राखिएको जमरामा हरेक दिन पानी हाल्न भने भुल्नु हुँदैन । साथै घामको सोझो सम्पर्कमा पनि राख्नु हुँदैन । टपरी छैन भने गमलाको पनि प्रयोग गर्न सकिन्छ ।

५. अब दुना र टपरीमा पानीले माटो भिज्नेगरी राखेर अध्यारो र ओशिलो स्थानमा लगेर राख्नुहोस् ।

६. फूलपातीको दिनसम्ममा तपाईंले रोपेको बिउहरू अंकुराई सकेको हुन्छ ।

७. अष्टमीका दिन दुनामा अंकुराएको जमराको प्रयोग गरिने चलन छ । दशैंको दिन खसी र राँगा काट्दा उक्त दुनाको जमरा प्रयोग गरेर पुजा गर्ने चलन पनि छ ।

८. टपरीमा अंकुराएका जमराहरू अष्टमी र नवमीको दिनसम्ममा पहेलो भएर निकै आकर्षक देखिन्छन् जसलाई टिकाको दिन प्रसादको रुपमा प्रयोग गरिन्छ र पुर्णिमाको दिनसम्म पनि उक्त जमराको प्रयोग टिका थाप्न आउनेहरूलाई लगाएर गरिन्छ

WRITE COMMENTS FOR THIS ARTICLE