घुँगी ,गँगटो र चिचिरेको स्वाद लिन धिमाल घरवासमा बस्नै पर्छ

झापाको दमक–३ स्थित दोघरे टोलमा झुरुप्प धिमाल बस्ती छ । चिटिक्क सजाइएको दशवटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायतका पर्यटकले रात बिताइसक्नुभएको छ । बेलाबेला आइरहने पाहुनाको बासका लागि हरेक घरमा एउटा कोठा छुट्याइएको छ । यहाँ आउने पर्यटक यी समुदायका संस्कृति र खानपानमा औधि आकर्षित हुँदै घरवास (होमस्टे)मा रमाउने गर्दछन् ।

दोघरे बस्तीभित्र शान्ति धिमालको सुन्दर , आकर्षक सानो घर छ । पाहुना आएका बेला पूरै परिवार सत्कारमा जुट्छ । पर्यटकको रोजाइअनुसारको खानपान तल्लिन हुन्छन् उनीहरु । “कहिले स्वदेशी र कहिले विदेशी पाहुना आउनुहुन्छ”, घरवास सञ्चालन गरिरहनुभएकी शान्ति धिमाल भन्नुहुन्छ, “भरसक घरबारीमै भएका खानेकुराहरु खुवाउँछौँ, तर कुनै परिकार चाहियो भन्नुभयो भने मात्र खोजी गरेर ल्याउने गरेका छौँ ।”

झापामा धिमाल समुदायले सञ्चालन गरेको यो एकमात्र घरवास गाउँ हो । नेपाल भ्रमण वर्ष २०२० मा गाउँ आकर्षक हुनसक्छ । ‘प्रथम नागरिक सामुदायिक धिमाल होमस्टे’ नामक संस्था मार्फत् सञ्चालित यहाँको घरवास पछिल्लो समय अति लोकप्रिय बनेको छ । हरेक घर परिवार सदस्यले घरवास व्यवस्थापनसम्बन्धी तालीम प्राप्त गरेका छन् ।

दमक नगरपालिकाले धिमाल जातिलाई २०७४ सालमा ‘नगरको प्रथम नागरिक’ घोषणा गरेको छ । नगरपालिकाको आँगनमा नै धिमाल परिवारको कलात्मक प्रतिमा रखेर नगरले प्रथम नागरिकप्रति सम्मान दर्शाएको छ । झापा, मोरङ र सुनसरीमा मात्र बसोबास गर्दै आएका आदिवासी धिमालहरुको रहनसहन र संस्कृति चाखलाग्दो छ ।

विसं २०६८ को जनगणनाअनुसार दमकमा बसोबास गर्ने धिमालहरुको जनसङ्ख्या १५ हजार रहेको छ । यस समुदायको वेशभूषा, भाषा, संस्कृति र चाडपर्वका बारेमा अध्ययन अनुसन्धान गर्न विदेशबाट समेत अनुसन्धाताहरु घरवासमा आउने गरेको प्रथम धिमाल व्यवस्थापन तथा धिमाल सांस्कृतिक सङ्ग्रहालय निर्माण समितिका संयोजक लोकबहादुर धिमालले जानकारी दिनुभयो । समितिले घरवासलाई व्यवस्थित गर्न मद्दत पु¥याउँदै आएको छ ।
घरवासमा आउने पर्यटकहरुले धिमाल परम्परा अनुसार स्वागत, सत्कार र खानपान पाउने गरेका छन् । घुँगी र गँगटोको परिकार सबैभन्दा प्रख्यात छ । बाफमा उसिनेर पकाइएको धानको चामलको भातलाई धिमालहरु ‘चिचिरे’ भन्छन् । “पर्यटकहरुको प्रमुख माग घुँगी, गँगटा र चिचिरेको हुन्छ । ” प्रथम नागरिक धिमाल सामुदायिक होमस्टे समितिकी अध्यक्षसमेत रहनुभएकी शान्तिले भन्नुभयोे । लोकल कुखुराको मासु, सँुगुरको रोस्ट, सुँगुरको भुटन लगायतका परिकारहरु धिमाल घरवासको नियमित खानेकुरा हुन् । खसी, हाँस, परेवा आदिको मासु रुचाउनेहरुका लागि पनि यहाँ उचित व्यवस्था मिलाइने गरेको छ ।
घरवास निकै सस्तो छ । एक रात बास बसेको रु ४०० र एक छाक खानाको परिकार अनुसार रु ३०० देखि ५०० सम्म तिर्नुपर्छ । प्रदेश नंं १ को सरकारद्वारा गठित ग्रामीण पर्यटन तथा हस्तकला उपसमितिका संयोजक अर्जुन कार्की बजारको भन्दा यहाँ खाना र बास निकै सस्तो रहेका बताउनुहुन्छ ।

शिरदेखि पाउसम्म जातीय गर गहना र पेटानीमा सजिएका धिमाल युवतीले स्वागत गर्दा पर्यटकहरु मख्ख पर्ने गर्छन् । अमेरिका, बेलायत, अस्ट्रेलियालगायत तेस्रो देशबाट अध्ययन–अनुसन्धानका लागि आउने पर्यटकहरुले हप्ताँैसम्म यहाँका घरवासमा बसेर आफ्नो अध्ययन पूरा गर्छन् । ती समुदायको परम्परागत पहिचान झल्काउन कलात्मक नमूना धिमाल सांस्कृतिक घरसमेत यहाँ निर्माण भइरहेको छ । प्रथम धिमाल व्यवस्थापन तथा धिमाल सांस्कृतिक सङ्ग्रहालय निर्माण समितिका संयोजक लोकबहादुर धिमालले यस समुदायका जन्मदेखि मृत्यु संस्कारसम्मका सस्कार, प्रयोग गर्ने सामग्री सङ्ग्रहालयमा रहने जानकारी दिनुभयो ।

नमूना सङ्ग्रहालय निर्माणका लागि सङ्घीय सरकारले ४० लाख, प्रदेश सरकारले ३० लाख र बाँकी दमक नगरपालिकाले गरी रु एक करोड प्रदान गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० मा यहाँ घरवासका लागि पर्यटक बढ्ने आङ्कलन गरेर थप तयारीहरु गरिएको जनाइएको छ ।

आदिवासी जनजातिको झापामा ठूलो जनसङ्ख्या भएता पनि धिमालबाहेकका जनजातिले घरवास सञ्चालन ल्याउन सकेका छैनन् । मेचीनगर र दमकमा मात्र घरबास सञ्चालनमा छ । किसान, मुण्डा, मालपाडे, मेचे, धिमाल, सन्थाल, गनगाई, राजवंशीलगायत ३६ जातजातिको जिल्लाभित्र बसोबास छन् । पर्यटन व्यवसायलाई सीमान्तकृत जनसमुदायको जीवनस्तर उकास्ने, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्ने कार्यमा घरवासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भए पनि स्थानीय सरकारहरुले यस क्षेत्रमा ध्यान पु¥याउन सकेका छैनन् ।

मेचीनगर–४ बाहुनडाँगीमा विसं २०६७ मा स्थापना भएको बाहुनडाँगी सामुदायिक घरवास जिल्लाकै पहिलो घरवास हो । पर्यटन वर्ष–२०११ का अवसरमा सो घरवास सञ्चालनमा ल्याइएको थियो । “होमस्टेका बारेमा समाजले बिस्तारै बुझ्न थालेको हुँदा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक घरवास खोज्दै आउन थालेका छन्”, ग्रामीण पर्यटनका अभियन्ता अर्जुन कार्की भन्नुहुन्छ, “नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नयाँ घरवासको पहिचान गर्ने र बन्द भइसकेका पनि खुलाउने तयारीमा लागिरहेका छौँ ।”

झापाको मेचीनगर–३ को गाडागल्लीमा सिमाना सामुदायिक घरवास र बेँसीबजारमा ग्रिन भ्यू सामुदायिक घरवास सञ्चालनमा छन् । गौरादहमा महारानीझोडा कृषि सहकारी संस्थाले एकै पटकमा ५० पर्यटकलाई बास बसाउन सक्ने क्षमताको घरवास निर्माण भइरहेको संस्थाकी अध्यक्ष मीना ढकाल जानकारी दिनुहुन्छ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै निर्माण गरिएका ती घरवास आगामी वैशाखदेखि सञ्चालनमा आउनेछन् ।

प्रदेश नं १ सरकारले पनि घरवास सञ्चालन कार्यविधि २०७५ तयार गरेको छ । घरवास सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको नेपाल पर्यटन बोर्डको काँकडभिट्टा कार्यालयकी प्रमुख सुस्मिता दाहालले बताउनुभयो । झापाको केचनाकवल, बाह्रदशी, बुद्धशान्ति लगायतका स्थानमा घरवासको राम्रो सम्भावना रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रदेश सरकारले होमस्टे सञ्चालन र पर्यटन प्रवद्र्धनमा जोड दिनेलाई सहयोग गर्ने कार्यविधि बनाएको छ ।”

WRITE COMMENTS FOR THIS ARTICLE