चितवन र नवलपरासीमा उच्च सतर्कता अपनाउन आग्रह, नारायणी नदीमा पानीको सतह बढ्यो

नारायणी नदीमा बढेको पानीको वहावले सतर्कता तह पारे गरेपछि चितवन र लवलपरासी क्षेत्र आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नारायणी नदी देबघाट बाढीमापन केन्द्र जलसतहले सतर्कता तह पार गरी खतराको तह नजिक पुगेकोले चितवन र नवलपरासीको नारायणी तटिय क्षेत्रमा रहने बासिन्दालाई बेलुकासम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको हो ।

यो विभागको दिउँसो १ बजेको मापन हो ।

त्यस्तै विभागले नेपालको तराई भूभागमा न्यून चापीय रेखा केही समयसम्म सक्रिय रहने हुँदा आज पनि भारी वर्षाको सम्भावना रहको जनाएको छ । त्यसबाहेक केही पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार ५० मिलिमिटरभन्दा बढी पानी पर्‍याे भने ‘भारी वर्षा’ भनिन्छ । तराई लगायत नेपालका विभिन्न भागमा अझै केही दिन भारी वर्षा हुनेछ ।

महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा गण्डकी प्रदेशको नवलपुरमा १०८ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी स्याङ्जामा १०७.८ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार बुधबारसम्म वर्षाको सम्भावना छ। मंगलबार केही कम वर्षा हुने र बुधवार भारी वर्षा हुने उनले बताइन् । प्रायः राति २ देखि बिहान ४ बजेबीच भारी वर्षा हुने गरेको छ। “‘मनसुनको यो ट्रेन्ड नै हो”, बासीले भनिन् ।

मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा पहिरो तथा भूःक्षय र तराईमा डुबानको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार भारी वर्षामा पहिरो र बाढीको बढी जोखिम हुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE