च्याम्पियन्स लिग: जेनिटमाथि डर्टमन्डको २-० सहज जित…

जर्मन बुन्डेसलिग क्लब बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिग फुटबलमा विजयी भएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमन्ड जेनिटमाथि २-० ले विजयी भएको हो । डर्टमन्डको जितका लागि जाडोन सान्चो र एर्लिङ हालान्डले एक-एक गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा डर्टमन्डले दुवै गोल गरेको हो ।

खेलको ७८औं मिनेटमा डर्टमन्डले घरेलु मैदानमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । जेनिटका डिफेन्डरले पेनाल्टी क्षेत्रमा हाजार्डलाई ट्याकल गरेपछि रेफ्रीले डर्टमन्डलाई पेनाल्टी अवसर दिएका थिए । सोही अवसरलाई सान्चोले गोलमा परिणत गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको इन्जुरी समयमा हालान्डले गोल गरेका हुन् । उनले बेलिङ्हमको पासमा गोल गर्दै घरेलु टोलीलाई २-० को सहज जित दिलाएका हुन् । यो जितसँगै समूह एफमा रहेको डर्टमन्डले पहिलो जित निकालेको छ । समूहको पहिलो खेल गुमाएको डर्टमन्डले दोस्रो खेलमा जित निकाल्दै समूहमा तीन अंक जोडेको हो । तीन अंक जोडेको डर्टमन्ड समूहको तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको जेनिट अंकविहीन हुँदै समूहको पुछारमा छ ।

त्यस्तै यसै समूहको अर्को खेलमा लाजिओ र क्लब ब्रुग्गेले बराबरी खेलेका छन् । ब्रुग्गेको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE