च्याम्पियन्स लिग: फेरेनकभारोसमाथि युभेन्टस्‌को ४-१ गोलको सहज जित…

च्याम्पियन्स लिग फुटबलअन्तर्गत अल्भारो मोराटाको दुई गोलको मद्दतले इटालियन क्लब युभेन्टस्‌ले समूह चरणको तेस्रो खेलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्टस्‌ले फेरेनकभारोसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

इटालियन च्याम्पियनले हंगेरियन क्लबलाई सहजै पराजित गर्दै च्याम्पियन्स लिगमा आफूलाई बलियो बनाएको हो । फेरेनकभारोसको घरेलु मैदानमा भएको खेलमा युभेन्टस्‌लाई जित दिलाउन मोराटाले दुई गोल गरे । त्यस्तै पाउलो डिबालाले एक गोल गर्दा एक गोल युभेन्टस्‌ले आत्मघाती उपहार पाएको थियो ।

उता फेरेनकभारोसका लागि फ्रान्क बोलीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा मोराटाले गोल गर्दै युभेन्टस्‌लाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको युभेन्टस्‌ले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भएको हो । खेलको ६०औँ मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । ७२ औँ मिनेटमा डिबालाले गोल गर्दा युभेन्ट्सले लिगमा ३-० गोलको अग्रता बनायो ।

८१औँ मिनेटमा फेरेनकभारोसका लासा डिभालीले आत्मघाती गोल गर्दा युभेन्ट्सले ४-० गोलको अग्रतासँगै जिततर्फ लम्कियो । ९०औँ मिनेटमा बोलीले फेरेनकभारोसका लागि गोल गरे पनि टिमको हार टार्न सकेनन् । जितसँगै युभेन्टस्‌ले समूह ‘जी’मा ३ खेलबाट ६ अंक जोडेको छ । युभेन्टस्‌ समूहको दोस्रो स्थानमा छ । पराजित फेरेनकभारोसको एक अंक छ ।

WRITE COMMENTS FOR THIS ARTICLE