च्याम्पियन्स लिग: फेरेनसभारोससँग खेल्दै बार्सिलोना

स्पेनिस ला लिगा क्लब बार्सिलोनाले नयाँ सिजनअन्तर्गत च्याम्पियन्स लिगको पहिलो खेल फेरेनसभारोससँग खेल्दै छ । खेल बार्सिलोनाको घरेलु मैदानमा मंगलबार राति १२:४५ बजे सुरु हुनेछ । घरेलु मैदान क्याम्प नाउमा हुने खेलमा बार्सिलोना जित निकाल्दै च्याम्पियन्स लिगमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोना घरेलु मैदानमा फेरेनसभारोसमाथि सहज जित निकाल्ने दाउमा हुनेछ । बार्सिलोना गत सिजनको च्याम्पियन्स लिगलाई बिर्संदै नयाँ सिजनको सुखद आरम्भ गर्न चाहन्छ ।

फेरेनसभारोससँगको खेलका लागि प्रशिक्षक रोनाल्ड कोम्यानले गेटाफेविरुद्ध १-० को हार बेहोर्दा बेन्चमा रहेका फिलिप्पे काटिन्हो र अन्सु फातीलाई पहिलो रोजाइमा मैदानमा उतार्ने सम्भावना छ । ला लिगाका पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका यी दुवै खेलाडीलाई प्रशिक्षक कोम्यानले गेटाफेविरुद्ध बेन्चमा राखेका थिए । तर, दुवै खेलाडी दोस्रो हाफमा भने मैदान प्रवेश गरेका थिए ।

यता हंगेरीको क्लब इतिहासमा फेरेनसभारोस दोस्रोपटक च्याम्पियन्स लिग समूह चरणमा फर्किएको छ । फेरेनसभारोसले यसअघि १९९५-९६ को सिजनमा च्याम्पियन्स लिग खेलेको थियो । फेरेनसभारोसले स्कटल्यान्डको सेल्टिक, क्रोएसियाको दिनामो जग्रेब र नर्वेको मोल्डे जस्ता क्लबहरुलाई पराजित गर्दै च्याम्पियन्स लिगको समूह चरणमा छनोट भएको थियो । यो खेलमा बार्सिलोनाका सर्जी रोबर्टो र एन्टोइन ग्रिजम्यानलाई कोम्यानले विश्राम दिन सक्नेछन् । जबकि कोमानका लागि पहिलो प्राथमिकता बुस्केट्स छन् । उनले डी जोङलाई मिडफिल्डमा साथ दिनेछन् ।

त्यस्तै क्लेमेन्ट लेन्गलेट र गेराार्ड पिक्युले सेन्टर डिफेन्समा पेल्नेछन् । यदि रोबर्टोलाई आराम दिइएको खण्डमा जुनियर फिर्पोले उनको स्थानमा खेल्नेछन् । अर्कोतर्फ डिफेन्समा सर्जियो डेस्टले साथ दिनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE