झापा कारागारमा एकैपटक सात जना कैदीबन्दीलाई कोरोना संक्रमणको पुष्टि

झापा कारागारमा एकैपटक सात जना कैदीबन्दीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको कारागारमा अरु धेरै जनालाई कोरोना संक्रमणजस्तै लक्षण देखिएको छ।

सयौं जनामा ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको कैदीबन्दीहरुको भनाइ छ। गत साता काठमाडौं लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि अरु कैदीबन्दीको परीक्षण गरिएको थियो।

शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ। उनीहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ।

“कोभिडको जस्तै लक्षण भएका बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको छ”, झापा कारागारमा कैदीबन्दीको नेतृत्व गरिरहेका आन्तरिक प्रशासन प्रमुख मोहन धितालले भने, “राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो कुनै उपाय अवलम्बन नगरिँदा हामीले असुरक्षित महसुस गरेका छौं।”

उनले हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुषले कैद भुक्तान गरिरहेका छन्। जबकी यो कारागारको क्षमता ३५० मात्र हो। यहाँ पालो गरेर सुत्नुपर्ने र कोचाकोच गरेर बस्नुपर्ने अवस्था छ। कारागारमा सामाजिक दूरी कायम हुन असम्भव रहेको, उपचारको नाममा एक जना अहेवले जाँचेर सिटामोल मात्र दिने गरेको, साबुनपानी तथा स्यानिटाइजर उपलब्ध नभएको उनले गुनासो गरे।

अर्का कैदी रमेश पोखरेलले थुनेर राखेका कैदीबन्दीको पनि बाँच्न पाउने नागरिक हक भएकाले राज्यले तत्काल कारागारमा चाप घटाएर स्वास्थ्य सुरक्षा र उपचारको प्रबन्ध मिलाउनुपर्ने माग गरे। “हामी पनि राज्यका नागरिक नै हौँ। सङ्क्रमणका वेला बाँच्न पाउने कैदीबन्दीको हकको हनन भइरहेको छ”, उनले भने।

कैदीबन्दीमा कोरोनासँगै मौसमी ज्वरो फैलिएको झापा कारागारका प्रमुख राजेन्द्र गौतमले बताए। अत्यधिक चापका कारण कैदीबन्दीमा सामाजिक दूरी कायम गर्न नसकिने उनको भनाइ छ। उनले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले कारागारभित्रकै एउटा ब्लकलाई आइसोलेसनको रुपमा सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

WRITE COMMENTS FOR THIS ARTICLE