डा. गोविन्द केसीले दिए सत्याग्रहको चेतावनी

चिकित्सा शिक्षा सुधारका लागि झण्डै एक दशकदेखि सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीले फेरि आमरण अनशन शुरु गर्ने चेतावनी दिएका छन्।

कोरोनाभाइरस संक्रमणको महामारी शुरु भएपछि विकट जिल्लाहरु पुगेर विरामीको निःशुल्क उपचार गरिरहेका डा. केसी अहिले जुम्लामा छन्। जुम्लाबाटै बिहीबार उनले प्रेस विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै सत्याग्रह शुरु गर्ने चेतावनी दिएका हुन्।

“स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि हामी लामो समय देखि संघर्षरत छौं, हाम्रो अभियान नियमनकारी संस्थाहरुमा दलीय भागवण्डा रोकेर बरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने प्रमुख माग सहित शुरु भएको थियो” उनले विज्ञप्तिमा भनेका छन्, “यसबीच त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा ८ वर्षदेखि वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने परिपाटी बसेकोमा यस पटक सरकारले उक्त आधार भत्काएर दलीय भागवण्डालाई ब्युँताउन खोजेको छ।”

दुई वर्षअघि यही बेला जुम्लामा आफूले शुरु गरेको सत्याग्रह सरकारसितको सम्झौतामा टुंगिएको, सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनका विभिन्न बुँदामा सुधार गर्नुपर्नेमा सरकारले त्यसपछि मेडिकल माफिया पोस्नेगरी जबर्जस्ती ऐन जारी गरेको र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायत कार्यक्रमहरु शुरु गर्ने भनिएकोमा दुई वर्ष बितिसक्दा समेत त्यसो हुन नसकेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्री ओली आफै कूलपति भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु नहुनुमा माफिया सँगको साँठगाँठ प्रमुख कारण रहेको समेत दाबी गरेका छन्।

गएको ११ साउनमा तीन बुँदे मागसहित सरकारलाई तीन साताको अल्टिमेटम दिएको, यसबीचमा ती माग पूरा गर्न चासो नदेखाएर सरकारले गैरजिम्मेवारपन प्रदर्शन गरेको आरोप लगाउँदै डा. केसीले महामारी बेला स्वास्थ्य सेवा दयनीय बनेको र नागरिक भोकभोकै पर्ने अवस्था आएको उल्लेख गरेका छन्।

“हामीले माग पूरा नभए, आज ११ भदौदेखि सत्याग्रह शुरु गर्ने निर्णय गरेका थियौं” विज्ञप्तिमा उल्लेख छ, “तैपनि स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेका  छौं।”

यसबीचमा आफूलाई बसेको घरबाट बाहिर जान प्रहरी र सशस्त्र प्रहरी लगाएर बलपूर्वक रोकिएको, आफ्नो अभियानमा सहयोग गर्नेहरुलाई घरघर पुगेर प्रहरीले धम्क्याउने काम गरिरहेको भन्दै उनले त्यस्तो कार्य नरोकिए कुनै पनि बेला सत्याग्रह शुरु गर्ने समेत उल्लेख गरेका छन्।

यस्ता छन् डा. केसीका मागः
१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गरियोस् । प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिस्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरियोस् । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।

२. हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् । चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सीट कायम गरियोस्।

३. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

४. अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिस्चित गरियोस्।

WRITE COMMENTS FOR THIS ARTICLE