डुरेनमाथि बायर्नको सानदार जित…

डेब्यु खेलमै क्यामरुनी फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्काे गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डीएफबी पोकलको पहिलो राउन्डमा सहज जित हात पारेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौं श्रेणीको डुरेनमाथि ३–० को सानदार जित हात पारेको हो । अर्काे एक गोल थोमस मुलरले गरेका थिए ।

३१ वर्षीय क्यामरुनी फरवार्ड यसै समरमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट बायर्न फ्रि एजेन्टमार्फत आएका थिए । अन्तर्राष्ट्रिय विश्रामका कारण बायर्नका प्रशिक्षक हान्सी फ्लिकले टोलीमा व्यापक परिवर्तन गरेर खेलाउनुपरेको थियो । तर, पाँचौं श्रेणीको टोलीविरुद्ध बायर्नको दोस्रो रोजाइका टोलीले जित निकाल्न खासै संघर्ष गर्नुपरेन ।

२४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । पेनाल्टी बक्समा मोटिङलाई सोविचले फल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी दिएको थियो । ७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्नलाई ३–० को सहज जित दिलाए । पाँचांै श्रेणीको क्लबविरुद्ध ७२ प्रतिशत बल पोजिसन राखेको बायर्नले बारम्बार डुरेनको पोस्टमा धावा बोल्दा गोलरक्षक ज्याकमुथ निकै व्यस्त बने ।

WRITE COMMENTS FOR THIS ARTICLE