घरेलु हिंसाकै कारण तिन छोराछोरीसहित आमा कर्णालीमा हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान

दैलेखको आठविस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुखी बडुवाल २३ फागुनमा माइतीघर जान हिँडेकी थिइन्। श्रीमान्ले सधैं मदिरा सेवन गरेर कुटपिट गर्ने गरेका कारण उनी छोराछोरीसहित घरबाट निस्केको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए।

उनी माइतीघरमा पनि नपुगेपछि खोजी शुरू भएको थियो। सुखीका दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव २४ फागुनमा कर्णाली नदीमा फेला परेको थियो। त्यस्तै, सुखी र ८ वर्षीय छोरा ललितकाे शव २५ फागुन दिउँसो कर्णाली नदीमै भेटिएको छ।

सुखीकी ५ वर्षीया छोरी रजनी बेपत्ता छिन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्रेष्ठले बताए।

गोताखोरको टोली पनि घटनास्थल पुगेको छ। खोजी तीव्र पारिएको छ। त्यस्तै, दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र सुर्खेतबाट डिआइजी वसन्त पन्त पनि घटनास्थल पुगेका छन्।

सनाखत भएका चारको शव परीक्षणका लागि अछामको मंगलसेन लगिएको छ। सुखीका पति मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीयका अनुसार मानसिंहले सधैं मदिरा सेवन गरेर झैझगडा गर्दै आएका थिए। २३ फागुन साँझ पनि मदिरा सेवन गरेर आएका मानसिंहले झगडा गरेका थिए।

घरेलु हिंसाकै कारण सुखीले छोराछोरीसहित कर्णालीमा हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मानसिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE