तीन महीना बन्दाबन्दीमा रु. ३४ अर्ब ३८ करोड रेमिटेन्स घट्यो

बन्दाबन्दीका तीन महीनामा करिब रु. ३४ अर्ब ३८ करोड रेमिटेन्स घटेको छ ।

नेपाल राष्ट्र ब्यांकको तथ्यांकअनुसार, गत चैत–जेठका तीन महीनामा अघिल्लो वर्षको सोही अवधिका तुलनामा योे परिमाणमा रेमिटेन्स आय घटेको हो ।

आर्थिक वर्ष २०७६/७७ को चैत–जेठका तीन महीनामा करिब रु. १ खर्ब ८२ अर्ब ४४ करोड मात्रै रेमिटेन्स देश भित्रिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालीको श्रम गन्तव्य मुलुकका अर्थतन्त्र र व्यवसायमा गहिरो धक्का पुगेपछि वैदेशिक रोजगारीमा गएका नेपालीको आम्दानी घटेको छ । जसका कारण, देश भित्रिने रेमिटेन्स आय खस्किएको हो । आर्थिक वर्ष २०७५/७६ को चैत–जेठका तीन महिनामा रु. २ खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको थियो ।

यसको अर्थ, सामान्य अवस्था भएको अघिल्लो वर्षको सोही अवधिको तुलनामा कोरोना भाइरसको संक्रमण विस्तार भएपछि हरेक महीना औसतमा रु. ११ अर्ब ४६ करोड कम रेमिटेन्स भित्रिइरहेको छ । श्रम गन्तव्य मुलुकहरुमा नेपाली कामदारहरुले रोजगारी गुमाइरहेको समाचार आइरहँदा रेमिटेन्समा पनि गिरावट आएको देखिएको हो ।

गत आर्थिक वर्ष २०७६/७७ को ११ महीना अर्थात जेठसम्ममा देशमा कुल रु. ७ खर्ब ७४ अर्ब ८७ करोड रेमिटेन्स भित्रिएको छ ।

राष्ट्र ब्यांकका अनुसार, नेपालीले पाउने पेन्सनको रकम पनि घटेको छ । जेठसम्ममा करिब रु. ५३ अर्ब ८३ करोड मात्रै पेन्सन देश भित्रिएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७.१ प्रतिशत घटी हो ।

मूल्य वृद्धि दर घट्यो

बन्दाबन्दीका बेला मूल्य वृद्धि दर घटेको राष्ट्र ब्यांकले उल्लेख गरेको छ । गत जेठको वार्षिक विन्दुगत उपभोक्ता मूद्रास्फीति दर ४.५४ प्रतिशत मात्रै छ । यो अघिल्लो वर्षको यही अवधिमा ६.१६ प्रतिशत थियो ।

बन्दाबन्दीका कारण बजारमा वस्तु र सेवाको माग घटेका कारण मूल्यवृद्धि दर घटेको अनुमान गरिएको छ ।

खाद्य तथा पेय पदार्थ समूहको मूलयवृद्धि दर ५.४१ प्रतिशत छ भने गैर खाद्य समूहको मूल्य वृद्धि दर ३.८७ प्रतिशत छ ।

जेठसम्ममा देशको शोधनान्तर स्थिति (भित्रिने र बाहिरिने रकमबीचको अन्तर) रु. १ खर्ब ७९ अर्ब बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति रु. ९० अर्ब ८३ करोड घाटामा थियो ।

बन्दाबन्दीपछि आयात घटेर वैदेशिक व्यापारको नोक्सानीमा कमी आएका कारण शोधनान्तर स्थिति वचतमा पुगेको हो ।

जेठसम्ममा नेपालले रु.८८ अर्बको वस्तु निर्यात गरेको छ भने ११ खर्ब ८१ करोडको आयात गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा आयात १५.३ प्रतिशतले घटेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE