त्रिदेशीय फुटबल : फाइनलमा आज नेपाल र बङ्गलादेश भिड्दै

त्रिदेशीय कप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दै छन् । खेल नेपाली समयअनुसार साँझ ५:३० बजेपछि सुरु हुने छ । राउन्ड रोबिन लिगको दुवै खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो । किर्गिस्तानको यू-२३ टोलीसँग बराबरी खेलेको नेपालले बङ्गलादेशसँग पनि सोही नतिजा कायम राख्दै फाइनलमा स्थान बनाएको थियो ।

नेपालले पछिल्ला सात खेलहरुमा गोल गर्न सकेको छैन । नेपालको मुख्य समस्या फिनिसिङमा देखिएको छ । त्यसलाई सुधार गर्दै नेपाल घरेलु मैदानमा उपाधि जित्न चाहन्छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन् ।

तर बङ्गलादेशका प्रशिक्षकले भने प्रतियोगितामा आफ्नो लक्ष्य खेलाडीलाई अवसर दिनु रहेकोमा त्यो पूरा भएको र अब उपाधि जित्नु वा नजित्नुले खासै अर्थ नराख्ने बताए । नेपाल र बङ्गलादेशबीच हालसम्म २४ पटक खेल हुदा बङ्गलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ६ खेलमा विजयी हुदा ४ खेल बराबरीमा सकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE