थारु बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना

पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ आउन दुई साता बाँकी छँदै उनीहरुको घरआँगन तथा गाउँबस्तीमा उल्लासमय वातावरण छाउँदै गएको छ ।

आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।

विधिवत् रुपमा पुस २९ गतेबाट शुरु हुने सप्ताहव्यापी यो पर्वको तयारी थारु बस्तीमा अहिलेदेखि नै शुरु भइसकेको छ । माघी पर्व तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ । यो पर्वका अवसरमा थारु समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्दछन् ।

पर्वमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा पत्रकार विश्वराज पछलडंग्याले बताउनुभयो । उहाँका अनुसार, माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन् ।

माघीको दिन (माघ १ गते) बिहान अँध्यारो छँदै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का (पैसा) लुटाउने प्रचलन रहेको छ । माघीको अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने थारु समुदायको धार्मिक विश्वास पनि रहिआएको छ । पर्वका अवसरमा थारु समुदायले आआफ्नो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्दछन् । त्यस अवसरमा बर्दिया जिल्लाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेला लाग्ने गर्दछ ।

थारु समुदायले माघी पर्वका अवसरमा वर्षभरिको दुःख बिसाइरहेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ सो समुदायका मुक्तकमैयाको मुहारमा अभैm थुप्रै पीडा लुकेको देख्न सकिन्छ । कमैयामुक्ति घोषणाको २० वर्षको अवधिमा पनि मुक्तकमैयाको समुचित पुनःस्थापना अझै हुन नसक्दा मुक्तकमैया माघी पर्वमा स्वछन्द रमाउन सकेका छैनन् । उनीहरुले अझै गाँसबासको समस्या झेलिरहेका छन् । अभावमा बाच्न बाध्य मुक्तकमैयाका लागि चाडपर्व पनि उत्साहजनक हुन नसकेको उनीहरु बताउँछन् ।

सरकारले ‘कमैयामुक्ति’ घोषणा गरेर जग्गा उपलब्ध गराए पनि मुक्तकमैयाको समुचित जीवनयापन सहज हुन सकेको छैन । “जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रो लागि नल्याएपछि हामी विचल्लीमा परेका छौँ”, बाँके कोहलपुरका मुक्तकमैया सुरज थारुको गुनासो छ । तथ्याङ्कअनुसार, कैलालीमा ४४३, बर्दियामा ८०, बाँकेमा ३८, कञ्चनपुरमा ३७ मुक्तकमैया परिवारलाई पुनःस्थापना गर्न अझै बाँकी छन् । दाङमा भने सबै ५५५ मुक्तकमैया परिवारको पुनःस्थापना भइसकेको छ । दास प्रथाको रुपमा रहेको कमैया प्रथा २०५७ साल साउन २ गते अन्त्य भएको घोषणा गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE