थारु समुदायमा‘भलमन्सा’ चुन्ने तयारी, ‘वडघर’ बैठक बस्दै

कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी एकदशकदेखि गाउँको ‘भलमन्सा’ पदको जिम्मेवारीमा बसेर समुदायको नेतृत्व गरिराखेका छन् । परम्परागतरुपमा गाउँको रेखदेख गर्नुपर्ने मुख्य जिम्मेवारी बहन गर्नुपर्ने ‘भलमन्सा’ पदमा उहाँको परिवारका सदस्यले दशकौँदेखि बसेर समुदायको नेतृत्व गर्दै आएको छ । “बाजे हीरालाल चौधरी, बुबा बाबुराम चौधरी र जेठो दाजु प्रेमलाल चौधरीले पालैपालो समुदायमा भलमन्सा पदको जिम्मेवारीमा बसेर नेतृत्व गर्नुभयो”, मानबहादुरले भन्नुभयो, “बाजे, बुबा र जेठो दाजुको निधनपछि आफूले नेतृत्व गर्दै आएको छु ।”

कार्यव्यस्तता बढ्दै जाँदा उक्त पदमा बस्ने इच्छा आफूलाई नभए पनि समुदायले पुनः सोही पदमा बस्न आग्रह गर्दै आएका छन् । उहाँले भन्नुभयो, “अरु व्यक्तिबाट समुदाय चल्न नसक्ने भएकाले पुनःसो पद सम्हाल्न तयार हुनुपर्छ भनेर गाउँलेबाट आफूलाई आग्रह भइरहेको छ ।” पूरै वडाको हकमा निर्वाचित जनप्रतिनिधिको भूमिका रहन्छ । समुदायको गाउँ टोलको हकमो बढी भूमिका सम्बन्धित गाउँको भलमन्साको हुने गरेको बताइन्छ ।

गाउँमा आइपरेका यावत समस्या समाधानका साथै विकास सम्बन्धी काम अघि बढाउन निर्वाचित जनप्रतिनिधिले आफ्नो सल्लाह बमोजिम काम गर्ने गरेको कतिपय भलमन्साको दाबी छ । हसुलिया गाउँमा भने यसपाली सबैले मान्ने व्यक्तिलाई भलमन्सा बनाउने तयारी गरिएको छ । यसअघि सो गाउँको भलमन्सा पदमा बसेर स्वेच्छाले छोड्नुभएका रामबहादुर चौधरीले हालका भलमन्सा सुकदेव चौधरीको काम गर्ने शैलीप्रति विरोध आएकाले नयाँ व्यक्तिलाई भलमन्सा बनाउने तयारी भएको बताउनुभयो ।

“उहाँले वडा सदस्यको मातहतमा बसेर काम गर्ने गरेको, गाउँमा आइपरेका समस्याको समाधानमा पहल नगरी आफूखुशी ढङ्गले हिँडेको गुनासो छ”, रामबहादुरले भन्नुभयो, “नयाँ भलमन्साको छनोट गर्न भित्रभित्रै तयारी तीव्र भइसकेको छ ।” कैलारी गाउँपालिकाको भितरिया गाउँमा भने माघ १ गतेपछि मात्र भलमन्सा चयन गर्ने तयारी छ ।

भितरिया गाउँका भलमन्सा सन्तबहादुर चौधरीले अरु ठाउँमा तयारी भइरहेको सुनिए पनि आफ्नो गाउँमा माघ लागेपछि मात्र तयारी हुन लागेको बताउनुभयो । थारु समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वको तयारीसँगै यतिबेला गाउँ बस्तीमा भलमन्सालगायतका पदमा कसलाई छनोट गर्ने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ ।

यस क्रममा आवश्यकताअनुसार ‘वडघर’ बैठक बस्ने गरेका छन् । वर्ष दिनमा गाउँ टोलमा भएका कामका बारेमा आपसमा छलफल, विश्लेषण, टीकाटिप्पणीसमेत हुन थालेको छ । ‘माघी’ अर्थात् माघे सङ्क्रान्तिलाई यो समुदायमा नयाँ वर्ष आरम्भका रुपमा उल्लासपूर्वक मनाउने गरिन्छ ।

वर्षभरि भएका कामको समीक्षा गर्ने, हिसाबकिताब गर्ने र चुक्ता गर्ने, नयाँ खाता सञ्चालन गर्ने जस्ता काम गरिने हुँदा थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा मनाउने गरिएको हो ।

गाउँको मुख्य व्यक्तिका रुपमा ‘भलमन्सा’का अलावा गुरुवा, चिराकी, चौकिदार, अघरिया जस्ता पदमा समेत विभिन्न व्यक्तिको छनोट गर्ने गरिन्छ । ‘गुरुवा‘ (वैद्यको काम गर्ने)ले मानिस, गाईवस्तु र अन्न बालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ ।

‘चिराकी’ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजाको काम काम गर्छ । ‘चौकीदार’ले कुनै कामका लागि भेला बोलाउनुपरेमा गाउँका मान्छेलाई हाँक (बोलाउने)को काम र ‘अघरिया’ले भलमन्साको सहायकका रुपमा काम गर्ने गर्दछ ।

गाउँको भलमन्सा पदमा चुनिने व्यक्तिको घरलाई यो समुदायमा ‘वडघर’का रुपमा चिन्ने गरिन्छ । सकेसम्म सर्वसम्मतिमा र त्यसो हुन नसके निर्वाचन वा गोलाप्रथाले पनि यो समुदायमा भलमन्सा छनोट गर्ने गरिन्छ । वडघरले लाए अहराएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने सदियौँदेखिको प्रचलन थारु गाउँमा रहने गरेको छ ।

यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभई गाउँको अनुशासन पनि कायम गर्नमा टेवा पुग्ने गरेको थारु बुद्धिजीवी प्रभातकुमार चौधरी बताउनुहुन्छ ।
थारु गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्व रहने गरेको उहाँको भनाइ छ ।

समग्र गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक सहयोग गर्ने गराउने यावत् काम गाउँको नेतृत्वकर्ता (भलमन्सा)ले गर्ने गर्दछन् । भलमन्सा लगायतका पदमा काम गर्दै आएका व्यक्तिको ‘घर फाटे‘मा(अंशबण्डा भएमा)निजलाई सकभर उक्त पदको जिम्मेवारीबाट मुक्त गरिन्छ । अंशबण्डा भएर अलग घर बनाएर बस्नुपर्ने अवस्थामा निजले आफ्नो घरको जिम्मेवारीका साथै भलमन्सा लगाएतका पदको जिम्मेवारी बहन गर्न नसक्ने हुँदा भलमन्साको जिम्मेवारीमा रहेका व्यक्तिलाई जिम्मेवारीबाट मुक्त गर्ने गरिन्छ ।

भलमन्सा पदको जिम्मेवारी बहन गर्ने अधिकांशले स्वयंसेवीका रुपमा काम गर्ने गरेका छन् । कतिपय गाउँमा भने यो पदमा बसेर काम गर्नेलाई समुदायको निर्णयअनुसार पारिश्रमिकका रुपमा खाद्यान्न उपलब्ध गराउने गरिन्छ ।

यसैबीच धनगढी उपमहानगरपालिकाको जालीगाउँमा यही पुस २९ देखि माघ ३ गतेसम्म ‘माघी मेला महोत्सव‘को आयोजना गर्न लागिएको छ । महोत्सवका क्रममा पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताका साथै थारु कलासंस्कृति, परम्परा, वेषभूषा, झल्किने क्रियाकलाप हुन लागेको आयोजक न्यू उपदेश क्लबका अध्यक्ष श्रवण देउवाले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE