दण्डहीनता अन्त्यका लागि गरिएका प्रतिबद्धता कार्यान्वयन हुनुुपर्नेमा जोड

मानवाधिकारकर्मी तथा न्याय क्षेत्रका जानकारहरुले दण्डहीनता अन्त्यका लागि राज्यका तर्फबाट गरिएका प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा दिनुभएको छ । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयक कार्यक्रममा उहाँहरुले पत्रकारिता मात्र होइन अन्य क्षेत्रमा पनि न्याय नपाउने तथा पाए पनि ढिला पाउने अवस्थाले लोकतान्त्रिक प्रक्रिया नै कमजोर हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दण्डहीनता अन्त्यका लागि पत्रकार र मानवाधिकारकर्मी मिलेर संयुक्त अभियानको थालनी गर्नुपर्ने बेला आएको बताउनुभयो । राज्यद्वारा गरिएका प्रतिबद्धता कार्यान्वयन नहुने कारणले पनि दण्डहीनता बढ्ने भन्दै उहाँले संविधानले व्यवस्था गरेको लोकतान्त्रिक पद्धति व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र जनतालाई वास्तविक अधिकार प्रदान हुने बताउनुभयो ।

नेपालको संविधानमा भएका मौलिक अधिकार कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष शर्माले कुनै पनि कानून निर्माण गर्दा सरोेकारवाला पक्षसँग आवश्यक परामर्श र छलफल गर्नु आवश्यक रहेकामा जोड दिनुभयो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको विकासमा पत्रकारले सूचना प्रवाहमार्फत महत्वपूर्ण योगदान गरेको बताउँदै राज्यले सञ्चारजगत्लाई आवश्यक सेवासुविधा दिनुपर्नेमा जोड दिनुभयो । नेपाल जस्ता तेस्रो विश्वका मुलुकमा पत्रकारले समाचार लेखेकै आधारमा जीवन जोखिममा पर्ने गरेको उल्लेख गर्दै उहाँले नागरिकको स्वतन्त्रता हनन गर्ने र स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोज्नेले आफ्ना दिन पनि सधैँ रहँदैनन् भन्ने हेक्का राख्नुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार हरिहर विरहीले सञ्चारजगत् नै भयभित भएको अवस्थामा अन्य क्षेत्रको अवस्था के होला भनी प्रश्न गर्नुभयो । उहाँले दण्डहीनता अन्त्यका लागि सञ्चार क्षेत्र अबिचलित भई लागिरहनुपर्ने सुझाव दिनुभयो ।

फ्रिडम फोरमका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत तारानाथ दाहालले पत्रकारको हकहितका लागि मुलुकभर गर्दै आएका कामका बारेमा जानकारी गराउँदै न्यायको आवाज नथिचियोस् भनेर र दण्डहीनता अन्त्यका लागि आफूहरुले दबाब दिँदै आएको बताउनुभयो ।

फोरमका अध्यक्ष हरिविनोद अधिकारीले पत्रकारको सुरक्षा र दण्डहीनता अन्त्य लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहसिक पत्रकारिता पुरस्कार डोटीका रेडियो पत्रकार सुनिता रावल, अनुसन्धानात्मक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार कृष्ण आचार्य र सूचनाको हकका अभियन्ता बाँकेका कानून व्यवसायी विश्वजित तिवारीलाई प्रदान गरिएको थियो । अध्यक्ष शर्माले प्रदान गर्नुभएको तीनै पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

कार्यक्रममा विसं २०५२ देखि हालसम्म हत्या भएका र बेपत्ता पारिएका पत्रकार÷सञ्चारकर्मीहरुको कानूनी अवस्थाबारे जानकारी गराइएको थियो । बेपत्ता पारिएका कैलालीका पत्रकार जेपी जोशीका श्रीमती बसन्तीदेवी जोशी, हत्या गरिएका झापाका पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) की छोरी तृष्णा आचार्य, हत्या गरिएका कालीकोटका पत्रकार नवराज शर्माकी छोरी साबु शर्मा र हत्या गरिएका दाङका सञ्चार उद्यमी देवीप्रसाद धितालकी छोरी मनिषा धितालले हालसम्म पनि आफूहरुले न्याय नपाएको र त्यसयताका भोग्नुपरेका दुःख चुनौतीबारे सुनाउनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE