दसैँमा ५० हजार खसीबोकाको माग सरकार नै भन्छ– आपूर्ति बढाउन सरकारसँग कुनै योजना छैन

दसैँमा काठमाडौं उपत्यकामा खसीबोकाको पर्याप्त आपूर्ति नहुने देखिएको छ । भारतबाट खसीबोका आयात नभएको र स्वदेशी उत्पादनसमेत न्यून रहेकाले काठमाडौंको मागअनुसार आपूर्ति गर्न मुस्किल हुने देखिएको हो ।

मागअनुसार आपूर्ति नहुने भएपछि अहिल्यै उच्च रहेको खसीको मासुको मूल्य अचाक्ली बढ्ने सम्भावना छ । तर, मागअनुसार आपूर्ति गर्न सरकारसँग कुनै योजना छैन । ‘सरकारले काठमाडौं उपत्यकामा करिब ३ हजार खसीबोका ल्याएर बिक्री गर्दैछ । त्यस्तै, मूल्यवृद्धि हुन नदिन उचित मूल्य निर्धारणसमेत गर्छौँ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘तर, निजी क्षेत्रबाट थप आपूर्ति बढाउने सन्दर्भमा सरकारसँग कुनै योजना छैन ।’

५० हजार माग ३० हजार मात्रै आपूर्ति 
दसैैँका लागि घटस्थापनादेखि अष्टमीसम्म करिब ५० हजार खसी, बोका र च्यांग्राको माग हुने गरेको छ । तर, यो पटक व्यवसायीको वैधानिक च्यानलबाट ३० हजार मात्र आपूर्ति हुने देखिएको छ । त्यसबाहेक सरकारले थप ३ हजार खसीबोका आपूर्ति गर्ने योजना बनाएको छ ।

चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले व्यवसायीको च्यानलबाट काठमाडौंमा करिब १५ हजार खसीबोका काठमाडौं ल्याउने तयारी भएको बताए । ‘दसैँका लागि विभिन्न जिल्लाबाट करिब १५ हजार खसीबोका ल्याउन सक्छौँ, प्रयत्न गरिरहेका छौँ,’ उनले भने । च्यांग्रा भने विगतको तुलनामा दोब्बर अर्थात् करिब १५ हजार ल्याउने उनले जानकारी दिए ।

यो वर्ष तातोपानी नाका हुँदै चिनियाँ च्यांग्रासमेत आउनेछन् । ‘च्यांग्रा ल्याउन साथीहरू तातोपानी र मुस्ताङ गइसक्नुभएको छ,’ उनले भने । मुस्ताङका च्यांग्रा एक साता हिँडाएर म्याग्दीको बेनी ल्याएपछि सवारीसाधनमार्फत काठमाडौं ल्याइन्छ ।

८ महिनादेखि भारतीय खसी आयात ठप्प
मुलुक भित्रने खसी, बोकाको स्वास्थ्य परीक्षण गरी निरोगी रहेको प्रमाणित कागजातका आधारमा मात्र आयात गर्न दिने व्यवस्था गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ३ फागुनमा एक परिपत्र जारी गर्दै निर्यात गर्ने देशले रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित कागजात दिनुपर्ने र भन्सार विन्दुमा त्यस्तो कागजात पेस गरेपछि मात्र खसीबोका आयात गर्न पाउने व्यवस्था लागू गरेको छ ।

भारतले नेपालमा आउने खसी, बोकामा निरोगिताको कागजपत्र नदिने भएकाले व्यवसायीले वैद्यानिक च्यानलबाट ल्याउन सकेका छैनन् । तर, काठमाडौंमा भारतीय खसी छ्याप्प छ्याप्ती बिक्री भइरहेको व्यवसायीको भनाइ छ ।

प्रतिबन्ध लाग्नुअघि भारतबाट प्रत्येक साता साढे ६ हजार खसीबोका आयात हुने गरेको थियो । सरकारले प्रतिगोटा ८ सय ५० राजस्व लिन्थ्यो । तर, प्रतिबन्ध भएपछि सरकारलाई राजस्व तिरेर हुने आयात अवैध बाटोतर्फ सरेको छ । सरकारले राजस्वसमेत गुमाइरहेको छ । व्यवसायी स्रोतअनुसार अहिले कलंकी खसीबजारबाट पहिलेको तुलनामा २५ प्रतिशत मात्र खसीबोका आपूर्ति भइरहेको छ । काठमाडौंको मासु पसलमा व्यवसायीले भारतबाट खसीबोका ल्याएर सोझै बिक्रीवितरण गर्ने गरेका छन् । कतिपयले गाउँघरबाट मगाएर मासु बिक्री गरिरहेका छन् ।

आयात प्रतिबन्ध लागेपछि खसीको मासुको मूल्यसमेत अत्यधित बढेको छ । प्रतिबन्ध लाग्नुअघि प्रतिकिलो १ हजारभन्दा कम रहेको खसीको मासुको मूल्य त्यसपछि ३० देखि ४० प्रतिशतसम्म बढेको व्यवसायी बताउँछन् । अहिले खसीको मासुको बजारमूल्य १ हजार ३ सयको हाराहारीमा छ ।

जिउँदो खसीको मूल्य सातामै सय रुपैयाँ वृद्धि
असोज लाग्नासाथ दसैँलाई लक्षित गरेर खसीबोकाको माग उच्च हुन थालेको छ । त्यसैले व्यवसायीले जिउँदो खसीको मूल्यसमेत वृद्धि गरेका छन् । भदौ अन्तिम सातासम्म जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो पाँच सयदेखि पाँच सय ५० रुपैयाँ थियो । १ असोजदखि मूल्य बढेर ६ सयदेखि ६ सय ५० रुपैयाँ पुगेको छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले माग उच्च हुन थालेकाले मूल्य वृद्धि भएको बताए । ‘अहिले माग बढ्न थालेकाले बजार सन्तुलन मिलाउन मूल्य बढेको हो,’ उनले भने । व्यवसायीले घटस्थापनापछि फेरि एकपटक मूल्य वृद्धि गर्ने योजना बनाएका छन् । यो वर्ष मागअनुसार आपूर्ति हुन गाह्रो देखिएपछि व्यवसायीले मनोमानी ढंगले मूल्य वृद्धि गर्ने देखिन्छ ।

च्यांग्राको भाउमा भने खासै वृद्धि नहुने व्यवासयीको भनाइ छ । ‘गत वर्ष अन्तिम समयमा च्यांग्राको भाउ प्रतिकिलो सात सय पुगेको थियो,’ पाठकले भने, ‘यो वर्ष पनि सोही मूल्यकै आसपासमा बिक्री हुन्छ । किनभने यो वर्ष पर्याप्त मात्रामा च्यांग्रा आउँदै छन् ।’

 खाद्य कम्पनीले ३ हजार खसीबोका र च्यांग्रा ल्याउँदै
खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा मूल्य नियन्त्रणका लागि ३ हजार खसीबोका र च्यांग्रा ल्याउने निर्णय गरेको छ । यसमध्ये मुस्ताङबाट च्यांग्रा मात्र २ हजार ल्याउन लागिएको महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए । ‘खसीबोकाको उपलब्धता कम हुने देखिएपछि यो वर्ष १ हजार मात्र ल्याउन लागेका छौँ,’ उनले भने । कम्पनीले हेटौँडा र दाङबाट ५–५ सय खसीबोका ल्याउने उनले बताए ।

(अजित अधिकारी, समाचार नयाँ पत्रिकामा प्रकाशित छ।)

WRITE COMMENTS FOR THIS ARTICLE