दसैंका लागि बसको टिकट बुकिङ खुला

बडा दसैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ । आइतबारबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । बसको टिकट बुकिङ खुला भएसँगै टिकटका यात्रुहरुको भीड लागेको छ ।

सरकारले टिकटका लागि कुनै समस्या नभएको आश्वस्त पार्न नसकेपछि यात्रुहरु आत्तिएको अवस्थामा बस टिकटको अग्रिम बुकिङका लागि नयाँ बसपार्क पुगेको अधिकारीकर्मीहरु बताउँछन् । उनीहरुले सरकारले वृद्ध, असक्त महिलाहरुका लागि छुट्टै टिकट लाईनको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । नयाँ बसपार्कमा अनुगमनका लागि पुगेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले व्यवसायी र सरकारबीच भएको सहमती अनुसार टिकटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

यता, सुरक्षा निकायले भने टिकट लिन गएका यात्रुहरुलाई सास्ती दिने काम गरे बस व्यवसायीहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले टिकट लिने लाईनमा बिचौलिया भेटिए बस व्यवसायीमाथि कडा कार्वाही हुने बताए ।

सरकारले दसैंमा घर जानका लागि यात्रुहरुको लागि सवारी साधनको अभाव हुन नदिने आश्वास्त पारेको छ । नयाँ बसपार्कमा भेटिएकी यातायात व्यवस्था विभागकी लेखा अधिकृत शारदा पाण्डेले यात्रुहरुलाई समस्या परेमा थप सवारी साधनको तत्काल व्यवस्था हुने जानकारी दिइन् । उनले पहिलो दिन टिकट लिन लाईनमा बसेका यात्रुहरु आत्तिएको अवस्थामा पाइएको उल्लेख गर्दै बस पाइदैन कि भन्ने आशंका नपाल्न पनि सबै यात्रुहरुलाई आग्रह गरिन् ।

सरकारले टिकट बुकिङमा नागरिकलाई सहज बनाउन टिक काउन्टरको छेउमा नागरिक सहायता कक्ष पनि संचालनमा ल्याएको छ । यातायात व्यवस्था विभागले दसैंको टिकट बुकिङका लागि गौशाला, चाबहिल, कोटेश्वर, कलंकी र नागकढुंगामा पनि टिकट पाउने व्यवस्था गरेको छ ।

(समाचार नयाँ पत्रिकामा प्रकाशित छ।)

WRITE COMMENTS FOR THIS ARTICLE