दिवा खाजाले टिकायो विद्यार्थी

टीकापुर नगरपालिका– २ विजयनगरकी पूजा चौधरी विद्यालयमा खाजा समयमा खाजा खान प्रायः घर फर्किने गर्थिन् । हाफटाइममा घर गएपछि उनलाई फेरि विद्यालय फर्किन मन लाग्दैनथ्यो । यसले उनको पढाइमा बाधा पुग्ने गरेको थियो । आजभोलि भने पूजा पूरै कक्षा लिएर मात्रै घर जान्छिन् । विद्यालयमै उनको भोक मेटाउने व्यवस्था भएसंँगै हाफटाइममा घर फर्किने उनको तालिका बन्द भएको छ । अहिले सामुदायिक विद्यालयमा लागू भएको पौष्टिक आहार कार्यक्रमले उनलाई राहत दिएको छ ।
“म बिहान सात बजे आमासंँगै ७ बजे खाना खान्छु । आमा ८ बजे काममा जानुहुन्छ । म पनि घरको सरसफाइलगायतका काम सकेर ९ बजे विद्यालय पुग्छु”, पूजा भन्छिन्, “ मेरो घरको आर्थिक अवस्था कमजोर छ । आमाबुवा दैनिक मजदूरी गर्नुहुन्छ । आफैंँले दिउँसोको खाजाको व्यवस्था गर्ने स्थिति छैन । दिनभरि विद्यालयमा भोकै बस्न पनि सकिँदैन । त्यसैले विद्यालयमा हाफ छुट्टी भएपछि घर जान्थेँ ।”
अहिले विद्यालयमै दिउँसोको खाजाको व्यवस्था हुन थालेपछि पूजा निकै खुशी भएकी छन् । विजयनगरकी पूजा मात्रै होइन, थुप्रै अरु विद्यार्थी पनि विद्यालयमै दिउँसोको खाजा पाएपछि पूरै कक्षा लिएर मात्रै घर फर्किने गरेका छन् । कक्षा ४ का दीपेश चौधरी भन्छन्, “ आजभोलि विद्यालयमै दिउँसोको खाजा पाइन्छ । हामीले पूरै कक्षा पढ्न थालेका छाँैं । मेरो पढाइ पनि राम्रो भएको छ ।” विद्यालयमा खाजाको व्यवस्था हुनुअघि दीपेश पनि भोक सहन नसकेर हाफटाइममा विद्यालयबाट भाग्थे । “अहिले हरेक दिन फरक फरक खाजा पाइन्छ”, उनी भन्छन् ।
टीकापुर नगरपालिका वडा नम्बर २ विजयनगरस्थित मुक्तकमैया आधारभूत विद्यालयमा विद्यालयमै दिउँसोको खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थितिमा उल्लेख्य वृद्धि आएको छ । खासगरी हाफटाइमपछि विद्यार्थी उपस्थितिमा निकै सुधार आएको छ । ‘‘यो विद्यालयमा प्रायजसो मुक्त कमैया तथा विपन्न समुदायका बालबालिका अध्ययन गर्दछन्’’, विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले भन्नुभयो, “धेरैजसो बालबालिका बिहान सामान्य खाजा मात्र खाएर विद्यालय आउँछन् । हामीले विद्यालयमै दिउँसोको खाजाको व्यवस्था गरेपछि आजभोलि प्रायः सबै विद्यार्थी पूरै समय विद्यालयमा बस्ने गरेका छन् । ”
सो विद्यालयमा हाल १८० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले गत भदौदेखि विद्यार्थीका लागि दिउँसोको खाजाको व्यवस्था गरेको छ । सो विद्यालयका अनुसार विद्यार्थीलाई हरेक दिन फरक फरक दिउँसोको खाजा दिइन्छ । सो विद्यालयमा गत वर्ष १५२ विद्यार्थी अध्ययन गर्थे । गत भदौदेखि विद्यालयमा खाजाको व्यवस्था भएको थाहा पाएपछि २८ विद्यार्थी थपिए । प्रधानाध्यापक ढकालले भन्नुभयो, “ दिउँसो १ बजे खाजा दिइन्छ । यही लोभले पनि विद्यार्थी उपस्थितिमा सुधार आएको छ । खाजाले विद्यालयको शैक्षिक विकासमा सघाएको छ ।”
टीकापुर २ वडा कार्यालयले बालबालिकालाई विद्यालयमा भोकै पढ्नुपर्ने अवस्थाको अन्त्य गर्न वार्षिक रु चार लाख बजेट उपलब्ध गराएको छ । वडा कार्यालयका अनुसार “विद्यालयमा बालबालिकालाई हरेक दिन फरक फरक खाजा खुवाउने शर्तमा सो रकम उपलब्ध गराइएको” छ । वडा नम्बर २ का वडाध्यक्ष प्रकाश बुढा भन्नुहुन्छ, “भोको पेट बालबालिका पढ्ने मन गर्दैनन् । मुक्तकमैया बस्तीका प्रायःको आर्थिक अवस्था निकै कमजोर छ । सबै दैनिक मजदूरी गर्छन् । काममा जानु पर्ने भएकाले अभिभावकहरू बिहान खाना खाएर ८ बजे काममा जान्छन् । बालबालिकाले पनि अभिभावकसंँगै ८ बजेभित्र खाना (खाजा) खाइसक्नुपर्छ । बिहान ८ बजे खाना खाएका बालबालिका दिउँसो ४ बजेसम्म विद्यालयमा कसरी भोकै बस्छन् ?” वडाध्यक्ष बुढाले विपन्न परिवारका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयका लागि आगामी वर्ष पनि खाजाको व्यवस्था गर्न बजेट प्रदान गरिने बताउनुभयो ।
टीकापुर ४, बाघमारास्थित जनप्रकाश आधारभूत विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद चौधरी पनि खाजा कार्यक्रमले विद्यार्थीको सङ्ख्या बढेको बताउनुहुन्छ । “गत वर्ष हाम्रो विद्यालयमा बाल विकास कक्षामा २० जना विद्यार्थी मात्रै थिए । विद्यालयमै खाजा दिन थालेपछि यस वर्ष सात जना विद्यार्थी थपिए”, प्रअ ठाकुरप्रसादले भन्नुभयो, “ ४ नम्बर वडा कार्यालयको सहयोगमा बाल विकास र एक कक्षाका गरी ४२ जना विद्यार्थीहरूलाई दिउँसोको खाजा खुवाउने व्यवस्था मिलाएका छौंँ । ” प्रअ ठाकुरप्रसादका अनुसार विद्यालयमा दिउँसोको खाजाका लागि वडा कार्यालयले यस वर्ष ९४ हजार रुपैयाँ सहयोग गरेको छ । उनीहरूलाई कुनै दिन केरा, कुनै दिन हलुवा वा चना वा अण्डा खाजाका रुपमा दिने गरिएको छ ।
टीकापुर नगरपालिकाले आफ्नै स्रोतबाट यी दुई विद्यालयमा खाजा कार्यक्रम शुरु गरेको हो । नगरपालिकामा रहेका अन्य चार सामुदायिक विद्यालयमा सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदानमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ । नगरपालिकामा रहेका ज्ञानोदय आधारभूत विद्यालय नुक्लीपुर, कर्णालेश्वर प्राथमिक विद्यालय, कालिका प्राथमिक विद्यालय चौगुर्दी र कर्णाली प्राथमिक विद्यालय तोलिगाउँमा २०६९ सालदेखि नै खाजा कार्यक्रम सञ्चालित छ ।
कर्णालेश्वर प्राविका प्रधानाध्यापक शारदा तिमिल्सेनाले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा खाजा कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । उहाँले विद्यालयमै खाजा दिँदा बालबालिकालाई कुपोषणको जोखिमबाट बचाउनाका साथै पढाइप्रति रुचि जगाउने अनुभव गरिएको बताउनुभयो । नगरपालिकाका शिक्षा शाखा अधिकृत नरेश अवस्थीले खाजा कार्यक्रम लागू भएका विद्यालयमा पूर्वप्राथमिक कक्षादेखि ५ कक्षासम्मका बालबालिकालाई खाजाको व्यवस्था गरिएको बताउनुभयो । “आगामी माघ १ गतेदेखि टीकापुर नगरपालिकामा रहेका सबै ३४ वटै सामुदायिक विद्यालयमा खाजा कार्यक्रम शुरु गर्ने तयारी भएको छ’’, शिक्षा शाखा अधिकृत अवस्थीले भन्नुभयो, “सरकारले देशभरि नै विद्यालय खाजा कार्यक्रम सञ्चालन गर्न थालेको छ ।”
अधिकृत अवस्थीले विद्यालय निरीक्षण तथा अनुगमनका क्रममा पनि खाजा कार्यक्रम सञ्चालन भएका विद्यालयमा विद्यार्थीको उपस्थिति दर राम्रो रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “प्रायः बाल विकास कक्षामा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएका बेला यो कार्यक्रमले विद्यार्थीको सङ्ख्या बढाउन सघाउनेछ ।”
नगरपालिकासंँग जोडिएको जानकी गाउँपालिकाका आठ विद्यालयमा पनि खाजा कार्यक्रम लागू गरिएको छ । जानकी गाउँपालिकामा केन्द्रीय शिक्षा विभागको सहयोगमा खाजा कार्यक्रम लागू गरिएको जनाइएको छ । गाउँपालिका स्वयंको स्रोतबाट भने अहिलेसम्म कुनै पनि विद्यालयमा खाजा कार्यक्रम लागू भएको छैन । स्थानीय तहका शिक्षा शाखा प्रमुखहरू ‘सङ्घीय सरकारको अनुदानमा सञ्चालित विद्यालय खाजा कार्यक्रमको नियमित अनुगमन गर्न कठिनाइ भइरहेको’ बताउँछन् । जानकी गाउंँपालिका, शिक्षा शाखा प्रमुख कलमबहादुर खड्का भन्नुहुन्छ, “अनुगमन, निरीक्षणमा गएको बेला विद्यार्थीलाई चना, हलुवा दिएको पाइन्छ । हरेक दिन अनुगमन गर्न सकिने कुरो भएन । विद्यार्थीहरूलाई जंक फुड नदिन निर्देशन दिएका छौंँ ।”
टीकापुर नगरपालिकामा ३४ र जानकी गाउँपालिकामा ३३ सामुदायिक विद्यालय छन् । टीकापुरमा चार विद्यालयमा शिक्षा विभागको सहयोगमा र दुई विद्यालयमा आफ्नै स्रोतबाट दिउँसोको खाजाको व्यवस्था मिलाइएको छ । जानकी गाउँपालिकाका आठ विद्यालयमा केन्द्र सरकारको सहयोगमा खाजा कार्यक्रम लागू भएको छ । यी विद्यालयले प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजाका लागि रकम पाउने गरेका छन् ।
टीकापुर नगरपालिकाका दुई विद्यालयमा नगरपालिका स्वयंको स्रोतमा चालू आर्थिक वर्ष २०७६÷०७७ साउन महिनादेखि खाजा कार्यक्रम लागू गरिएको छ । शिक्षा तथा मानव संसाधन विकास केन्द्रबाट प्राप्त हुने रकम अपुग हु्ने भएकाले स्थानीय सरकारले पनि लगानी गर्नुपर्ने देखिन्छ । खाजा कार्यक्रम सधैंँ सञ्चालन गर्न केही चुनौती पनि देखिएका छन् । खासगरी सरकारले अनुदान नदिएका बेला विद्यालय स्वयंले यो कार्यक्रमलाई निरन्तरता दिन निकै चुनौतीपूर्ण देखिन्छ । त्यस्तै खाजाको गुणस्तरीयता बनाइराख्न पनि चुनौती छ । जनप्रकाश आधारभूत विद्यालय बाघमाराका प्रअ ठाकुरप्रसाद दैनिक खाजाका लागि सामग्रीको जोहो गर्नेदेखि गुणस्तरीयता कायम राख्ने कार्य सजिलो नहुने बताउनुहुन्छ ।
प्रअ ठाकुरप्रसाद भन्नुहुन्छ, “‘घरबाटै खाजा बनाएर ल्याउने विद्यालयका अभिभावकहरुलाई खाजावापतको रकम दिने व्यवस्था राम्रो हुन्छ ।” सरकारले पनि विद्यालय खाजा कार्यक्रमको रकम दुरुपयोग नहोस् र बालबालिकाले पोषिलो खानेकुरा खान पाऊन् भनेर घरबाटै खाजा ल्याउन प्रोत्साहन गरेको छ । शिक्षा मन्त्रालयले हरेक पालिकालाई घरमै बनाइएको खाजा खुवाउन अनुरोध गरेको छ । घरबाटै दिउँसोको खाजा ल्याउने अभिभावक वा आमालाई प्रत्येक महिनाको अन्त्यमा दैनिक रु १५ का दरले खाजावापतको रकम भुक्तानी दिइने गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE